अविरल वर्षाले देशभरका सडक अस्तव्यस्त, मुख्य राजमार्गदेखि ग्रामीण सडकसम्म अवरुद्ध - Chaitanya News
  • 2026-09-28
  • 09:47:03
  • सोमबार,आश्विन १२, २०८३
  • अविरल वर्षाले देशभरका सडक अस्तव्यस्त, मुख्य राजमार्गदेखि ग्रामीण सडकसम्म अवरुद्ध

    अविरल वर्षाले देशभरका सडक अस्तव्यस्त, मुख्य राजमार्गदेखि ग्रामीण सडकसम्म अवरुद्ध

    काठमाडौँ– अविरल वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि देशभरका प्रमुख राजमार्ग तथा सहायक सडकमा यातायात सञ्चालनमा कडाइ गरिएको छ। सडक अवरुद्ध हुने क्रम बढेपछि विभिन्न जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ भने कतिपय सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ।

    नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारी साधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा पूर्ण रोक लगाइएको छ। रसुवाको उत्तरगयास्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड नदी कटान र बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौँबाट स्याफ्रुबेँसी पुग्न वैकल्पिक एक लेनको कच्ची सडक प्रयोगमा ल्याइएको छ।

    कोशी प्रदेशका भोजपुर, सोलुखुम्बु र उदयपुरमा मध्यपहाडी तथा सिद्धिचरण लोकमार्गमा साँझदेखि बिहानसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। रोल्पाको मदन भण्डारी राजमार्गअन्तर्गत माडीचौर सडकखण्डमा पनि उच्च जोखिमका कारण सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।

    गण्डकी प्रदेशका मनाङ, कास्की, मुस्ताङ, म्याग्दी र पर्वतमा पनि रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बेँसीसहर–खाङसार सडक, पोखरा–बागलुङ मध्यपहाडी लोकमार्गको पर्वत खण्ड तथा विभिन्न ग्रामीण सडकमा सम्भावित दुर्घटनाको जोखिमलाई ध्यान दिँदै रात्रिकालीन आवतजावत रोकिएको हो।

    बागमती प्रदेशमा पनि वर्षाका कारण सडक यातायात प्रभावित भएको छ। चितवन र धादिङमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गका विभिन्न खण्डमा यातायात सञ्चालन रोकिएको छ। धादिङको कृष्णभिर र पानीधारामा ठूला ढुङ्गासहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

    मकवानपुरमा कान्ति लोकपथ र पृथ्वी राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथबाट सवारी सञ्चालनका लागि समय तालिका निर्धारण गरिएको छ। त्रिभुवन राजपथमा इन्धन र एलपी ग्यास बोकेका सवारीबाहेक १० चक्काभन्दा ठूला तथा १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीलाई प्रवेशमा रोक लगाइएको छ।

    सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकमा पनि बाढी तथा पहिरोको जोखिमका कारण बीपी र अरनिको राजमार्गमा रात्रिकालीन आवतजावत रोकिएको छ। काभ्रेको चारसयबेँसी, गिम्दीबेँसी तथा धुलिखेलको पकुचामा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

    यसैगरी ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग, मनाङको चामे–बेँसीसहर सडक, गुल्मीका रुद्रवेणी–वामीटक्सार र रिडी–तम्घास सडक, कालिगण्डकी करिडोर, बागलुङको मध्यपहाडी लोकमार्ग, रोल्पाको सहिदमार्ग, कालिकोटको कर्णाली राजमार्गलगायतका सडकमा पहिरोका कारण आवागमन प्रभावित भएको छ।

    म्याग्दीको बेँसी–जोमसोम, मकवानपुरको भीमफेदी–फाखेल, मुस्ताङको जोमसोम–कोरला, हुम्लाको कर्णाली करिडोर, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, दार्चुलाको महाकाली राजमार्ग तथा पाल्पा–स्याङ्जाको सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पनि लेदो तथा पहिरोका कारण सडक अवरुद्ध छन्।

    ललितपुरको कान्तिलोकपथ, लमजुङको बेँसीसहर–मनाङ सडक र तनहुँको पृथ्वी राजमार्गका विभिन्न स्थानमा समेत पहिरो तथा लेदोका कारण यातायात प्रभावित भएको छ।

    दाङको तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत ग्वारखोलाको पुरानो पुलमुनि माटो खसेपछि पुल पूर्ण रूपमा बन्द भएको छ। डोटीमा निरन्तर वर्षापछि जिल्ला प्रशासन कार्यालयले २४ घण्टाका लागि सम्पूर्ण सवारी साधनको आवागमनमा रोक लगाएको छ।

    वर्षाका कारण सडकमा जोखिम बढ्दै गएपछि सडक विभाग तथा सुरक्षा निकायले अवरुद्ध सडक खुलाउने र यात्रु तथा सवारी साधनलाई सुरक्षित गन्तव्यतर्फ पठाउने कामलाई तीव्रता दिएका छन्।