काठमाडौँ– आज (सोमबार) एकै दिन संघीय संसद्का दुवै सदनको बैठक बस्ने भएको छ।
जसअनुसार, प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।
यसैगरी, महिला, बालबालिका लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ‘महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्ने छन्।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘आमको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने छन्।
यस्तै आजको बैठकमा मन्त्री मेहताले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठक बिहान ११ बजे बस्ने छ।
त्यसै गरी, अपराह्न १ः१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१– ८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यक्रम छ।