शाखा अधिकृतदेखि उच्च तहसम्मका कर्मचारीलाई एउटै प्रशिक्षण केन्द्रबाट तालिम दिने तयारी - Chaitanya News
  • 2026-09-27
  • 15:22:45
  • आइतबार,आश्विन ११, २०८३
  • शाखा अधिकृतदेखि उच्च तहसम्मका कर्मचारीलाई एउटै प्रशिक्षण केन्द्रबाट तालिम दिने तयारी

    शाखा अधिकृतदेखि उच्च तहसम्मका कर्मचारीलाई एउटै प्रशिक्षण केन्द्रबाट तालिम दिने तयारी

    काठमाडौँ– नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) लाई शाखा अधिकृतदेखि उच्च तहका निजामती कर्मचारीसम्मको क्षमता तथा नेतृत्व विकास गर्ने प्रमुख प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने तयारी भएको छ ।

    भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले प्रतिष्ठानको ४४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा स्टाफ कलेजलाई परम्परागत तालिम दिने संस्थाभन्दा माथि उठाएर ‘सेन्टर अफ एक्सिलेन्स’ का रूपमा विकास गर्नुपर्ने बताएका हुन् ।

    उनले हालै खारेज गरिएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालन हुँदै आएको शाखा अधिकृतस्तरको तालिमसमेत स्टाफ कलेज मातहत ल्याउने विषयमा छलफल भइरहेको जानकारी दिए ।

    प्रदेश तहमा छुट्टाछुट्टै प्रशिक्षण केन्द्र स्थापना भइसकेकाले संघीय तहमा समान प्रकृतिका दोहोरो प्रशिक्षण संरचना आवश्यक नपर्ने सचिव भुजेलको भनाइ थियो । शाखा अधिकृतदेखि उच्च तहका कर्मचारीसम्मको क्षमता र नेतृत्व विकासलाई एउटै प्रणालीमार्फत व्यवस्थित गर्नुपर्ने उनले बताए ।

    सचिव भुजेलले बदलिँदो प्रशासनिक आवश्यकता र कर्मचारीको भूमिकाअनुसार प्रशिक्षण तथा सिकाइ प्रणालीलाई समेत आधुनिक बनाउनुपर्नेमा जोड दिए । उनका अनुसार कर्मचारीलाई समयानुकूल ज्ञान, सीप र नेतृत्व क्षमता प्रदान गर्दै सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रशिक्षण प्रणालीमा सुधार आवश्यक छ ।

    स्टाफ कलेजलाई कर्मचारीलाई तालिम दिने संस्थामा मात्र सीमित नराखी व्यावसायिक दक्षता, व्यवस्थापकीय क्षमता तथा नेतृत्व विकासको प्रमुख केन्द्र बनाउनुपर्ने उनले बताए । त्यससँगै अनुसन्धान र परामर्शका क्षेत्रमा समेत प्रतिष्ठानको भूमिका विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

    प्रतिष्ठानले निजामती सेवामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै सचिव भुजेलले यसको भौतिक पूर्वाधार विकासमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । विशेषगरी काभ्रेमा जग्गा प्राप्ति तथा आवश्यक पूर्वाधार विस्तारका लागि मन्त्रालयले सहजीकरण गर्ने उनले बताए ।

    हालै प्रतिष्ठानले प्राप्त गरेको आईएसओ प्रमाणपत्रले संस्थाको गुणस्तर र व्यावसायिकतालाई थप प्रमाणित गरेको उल्लेख गर्दै उनले आधुनिक प्रविधि र प्रशासनिक आवश्यकतासँग जोडेर कर्मचारीको सिकाइ प्रणाली अघि बढाउनुपर्ने बताए ।

    उनले कर्मचारीको क्षमता विकास, नेतृत्व निर्माण र प्रशासनिक कार्यसम्पादन सुधारलाई एकीकृत रूपमा अघि बढाउँदै स्टाफ कलेजलाई उत्कृष्टताको केन्द्रका रूपमा स्थापित गर्न मन्त्रालयबाट निरन्तर सहयोग रहने बताए ।

    सचिव भुजेलले सरकारी निकाय, विश्वविद्यालय र प्रशिक्षण संस्थाबीचको सहकार्य थप मजबुत बनाउनुपर्नेमा समेत जोड दिए । स्टाफ कलेजले नियमित तालिमसँगै अनुसन्धान र परामर्शमा समेत अग्रणी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।