वर्षाको जोखिम बढेपछि ६४९ स्थानमा सुरक्षा सतर्कता, ११ हजार सशस्त्र प्रहरी परिचालन - Chaitanya News
  • 2026-09-24
  • 14:37:36
  • बिहिबार,आश्विन ०८, २०८३
  • वर्षाको जोखिम बढेपछि ६४९ स्थानमा सुरक्षा सतर्कता, ११ हजार सशस्त्र प्रहरी परिचालन

    वर्षाको जोखिम बढेपछि ६४९ स्थानमा सुरक्षा सतर्कता, ११ हजार सशस्त्र प्रहरी परिचालन

    काठमाडौँ– लगातार चार दिनसम्म वर्षा हुने पूर्वानुमानपछि सुरक्षा निकायले देशभर सम्भावित विपद् रोकथाम तथा उद्धारका लागि तयारी तीव्र बनाएका छन् । वर्षाका कारण जोखिममा पर्न सक्ने ६४९ स्थान पहिचान गरी ती क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशलाई उच्च जोखिममा राख्दै नेपाल प्रहरीले थप जनशक्ति परिचालन गरेको छ । नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रबाट तालिम प्राप्त सुरक्षाकर्मीलाई ती दुई प्रदेशमा थप मद्दतका रूपमा पठाइएको प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले बताए ।

    नदी तथा खोलाका तटीय क्षेत्रमा सुरक्षाकर्मीले स्थानीयलाई सम्भावित जोखिमबारे जानकारी गराउँदै पूर्वसूचना दिने काम थालेका छन् । बागमतीका रोशी, सुनकोशी, त्रिशुली र इन्द्रावती तथा मधेसका बलान र बिहुल खोलाका तटीय क्षेत्रमा माइकिङमार्फत सचेत गराइएको छ । काठमाडौँ उपत्यकाका नदी किनारका बस्तीमा पनि सुरक्षा सतर्कता बढाइएको छ ।

    सशस्त्र प्रहरी बलले मात्रै जोखिमपूर्ण क्षेत्रमा ११ हजार ७६३ जना सुरक्षाकर्मी परिचालन गरेको छ । विपद् व्यवस्थापनसम्बन्धी तालिम लिएका जनशक्तिलाई जिल्ला विपद् व्यवस्थापन समितिको योजनाअनुसार जोखिमपूर्ण क्षेत्रमा खटाइएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले बताए ।

    सम्भावित बाढी तथा डुबानमा तत्काल उद्धार गर्न सशस्त्र प्रहरीले ८२ वटा र्‍याफ बोट र ५३ वटा मोटर बोट तयारी अवस्थामा राखेको छ । तालिम प्राप्त गोताखोर र मेडिकल टोलीसमेत आवश्यक स्थानमा परिचालन गरिएको छ ।

    सशस्त्र प्रहरीले जोखिमयुक्त क्षेत्रमा ड्रोनमार्फत खोज तथा उद्धार गर्न सक्ने टोलीसमेत तयारी अवस्थामा राखेको छ । नदी तथा खोलाको किनारमा दाउरा संकलनलगायत कामका लागि जाने स्थानीयलाई समेत सुरक्षाकर्मीले सम्भावित जोखिमबारे जानकारी गराइरहेका छन् ।

    मधेस प्रदेशमा मात्रै ७४ स्थान जोखिमपूर्ण पहिचान भएका छन् । कमला, चारनाथ, बलान र बिहुल खोलाका तटीय क्षेत्रलाई जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ । काठमाडौँ उपत्यकामा ५२ स्थान जोखिमपूर्ण रहेको सुरक्षा निकायको आकलन छ ।

    मौसम ११ गतेसम्म सक्रिय रहने अनुमान रहेकाले उक्त अवधिभर जोखिमपूर्ण क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिने डीआईजी कार्कीले बताए । नेपाल प्रहरीले पनि जिल्ला विपद् व्यवस्थापन समितिको योजनाअनुसार विपद् प्रतिकार्यका लागि व्यापक तयारी गरिएको जनाएको छ।