काठमाडौँ– विभिन्न १३ मुलुकमा रिक्त राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ समितिले सक्रियता बढाएको छ । सरकारले सिफारिस गरेका प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया सुरु गर्दै समितिले दशैँअघि नै आफ्नोतर्फको प्रक्रिया टुंग्याउने तयारी गरेको हो ।
बिहीबार बसेको समितिको बैठकले प्रस्तावित राजदूतहरूको योग्यता, अनुभव, कार्ययोजना तथा उनीहरूविरुद्ध सार्वजनिक रूपमा आउन सक्ने उजुरीलाई अध्ययनको आधार बनाएर सुनुवाइ अघि बढाउने निर्णय गरेको छ ।
समितिका सभापति वोधनारायण श्रेष्ठका अनुसार प्रक्रिया छिटो र प्रभावकारी बनाउन प्रस्तावित राजदूतहरूको शैक्षिक योग्यता तथा बायोडाटा, उनीहरूले प्रस्तुत गर्ने कार्ययोजना र नागरिकबाट प्राप्त हुने उजुरीलाई समानान्तर रूपमा अध्ययन गरिनेछ ।
समितिले सुनुवाइलाई औपचारिकतामा सीमित नराखी प्रस्तावित राजदूतले सम्बन्धित मुलुकमा निर्वाह गर्ने भूमिकाबारे स्पष्ट कार्ययोजना प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको छ ।
उजुरीका लागि १० दिनको समय:
प्रस्तावित राजदूतविरुद्ध नागरिक तहबाट गुनासो वा उजुरी भए त्यसलाई समेत सुनुवाइ प्रक्रियामा समेट्ने गरी समितिले सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको छ ।
समितिले १० दिनको समय दिएर उजुरी आह्वान गर्नेछ । आगामी १९ गतेसम्म प्राप्त हुने उजुरीमाथि २० गते बस्ने समितिको बैठकमा अध्ययन तथा थप प्रक्रियाबारे छलफल हुनेछ ।
यससँगै प्रस्तावित राजदूतहरूको व्यक्तिगत विवरण र योग्यतासँगै उनीहरूको कार्ययोजनामाथि समेत समितिले अध्ययन गर्नेछ ।
सुनुवाइपछि एग्रिमो, त्यसपछि राष्ट्रपतिको नियुक्ति:
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि प्रस्तावित राजदूतहरूको नाम सम्बन्धित मुलुकमा ‘एग्रिमो’का लागि पठाइनेछ । सम्बन्धित मुलुकबाट सहमति प्राप्त भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
त्यसैले संसदीय सुनुवाइ समितिले दशैँअघि आफ्नो प्रक्रिया सम्पन्न गरे पनि सबै राजदूतको नियुक्ति तत्कालै हुने सुनिश्चित भने एग्रिमो प्रक्रियामा निर्भर हुनेछ ।
सरकारले भारत, चीन, अमेरिका, बेलायत, जापान, इजरायल, स्पेन, जर्मनी, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि राजदूत सिफारिस गरेको छ ।
१३ मुलुकका लागि को–को सिफारिस?
भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जबरालाई सिफारिस गरिएको छ ।
त्यस्तै जापानका लागि जिज्ञानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी र ओमानका लागि डा. पद्माक्षी राणाको नाम सिफारिस भएको छ ।
मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका रूपमा सिफारिस गरिएको छ ।
अब समितिको प्राथमिकता प्रस्तावित नाममाथिको सुनुवाइ छ । दशैँअघि सुनुवाइ टुंग्याउने लक्ष्यसहित अघि बढेको प्रक्रिया त्यसपछि एग्रिमो हुँदै राष्ट्रपतिबाट नियुक्तिसम्म पुग्नेछ ।