काठमाडौँ– चार्टर्ड एकाउन्टेन्सी (सीए) उत्तीर्ण गरेका जनशक्तिका लागि सरकारी लेखापरीक्षण सेवामा प्रवेशको बाटो फराकिलो भएको छ। सरकारले नेपाल लेखापरीक्षण सेवाका विभिन्न तहमा सेवा प्रवेशका लागि तोकिएको शैक्षिक योग्यतामा परिवर्तन गर्दै सीएलाई अधिकृतदेखि सहसचिव तहसम्म प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था गरेको हो।
नेपाल सरकारले नेपाल लेखापरीक्षण सेवा (गठन, श्रेणी विभाजन र नियुक्ति) नियमहरू, २०५१ को नियम १३ ले दिएको अधिकार प्रयोग गरी अनुसूची–२ संशोधन गरेको हो। संशोधित व्यवस्था असोज ४ गते प्रकाशित नेपाल राजपत्रमा समावेश गरिएको छ।
नयाँ व्यवस्थाले लेखापरीक्षण सेवाको माथिल्लो तहमा पुग्न यसअघि आवश्यक मानिएको विषयगत स्नातकोत्तर शिक्षासँगै सीएलाई समेत वैकल्पिक योग्यताको आधार बनाएको छ। अर्थात्, निश्चित शैक्षिक योग्यता र आवश्यक अनुभव पूरा गरेका सीए जनशक्तिले अब राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका पदमा सेवा प्रवेशका लागि प्रतिस्पर्धा गर्न सक्नेछन्।
सहसचिवमा पुग्न सीए पनि योग्य:
राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् सहसचिव तहको पदमा सेवा प्रवेशका लागि व्यवस्थापन, वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा लेखा वा वित्त विषयसहित स्नातकोत्तर तह उत्तीर्ण गरी तोकिएको अनुभव हासिल गरेको हुनुपर्ने व्यवस्था छ।
तर संशोधित व्यवस्थाले अर्को बाटोसमेत खोलेको छ। कुनै पनि विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी चार्टर्ड एकाउन्टेन्सी परीक्षा पास गरेको र निजामती सेवा ऐनको दफा ७ को उपदफा (१६) बमोजिम आवश्यक अनुभव हासिल गरेको व्यक्ति पनि उक्त पदका लागि योग्य हुने व्यवस्था गरिएको छ।
यसले सीए उत्तीर्ण जनशक्तिलाई लेखापरीक्षण सेवाको माथिल्लो तहमा प्रवेश गर्ने औपचारिक बाटो खोलिदिएको छ।
उपसचिवमा पनि सीएको विकल्प:
राजपत्राङ्कित द्वितीय श्रेणी अर्थात् उपसचिव तहका लागि पनि सीएलाई वैकल्पिक योग्यता बनाइएको छ।
व्यवस्थापन, वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा लेखा वा वित्त विषयसहित स्नातकोत्तर तह उत्तीर्ण गरेको व्यक्ति योग्य हुने पुरानै आधारलाई निरन्तरता दिँदै कुनै पनि विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी चार्टर्ड एकाउन्टेन्सी परीक्षा पास गरेको र कानुनले तोकेको अनुभव हासिल गरेको व्यक्ति पनि योग्य हुने व्यवस्था गरिएको छ।
त्यसैगरी द्वितीय श्रेणीको विशेषज्ञ पदमा व्यवस्थापन, व्यापार प्रशासन वा वाणिज्यशास्त्रमा स्नातकोत्तर उपाधिसँगै सीए परीक्षा उत्तीर्ण गरेको र सरकारी सेवा वा कानुनबमोजिम दर्ता भएको संगठित संस्था वा अन्तर्राष्ट्रिय संघसंस्थाको अधिकृतस्तरको पदमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था छ।
शाखा अधिकृतमा पनि सीएको प्रवेश:
राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत तहमा प्रवेशका लागि पनि सीएलाई वैकल्पिक बाटो दिइएको छ।
व्यवस्थापन, वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा लेखा वा वित्त विषयसहित स्नातक तह उत्तीर्ण गरेको व्यक्ति योग्य हुने व्यवस्थासँगै कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरी चार्टर्ड एकाउन्टेन्सी परीक्षा पास गरेको व्यक्ति पनि उक्त पदका लागि योग्य हुने व्यवस्था गरिएको छ।
यसले लेखापरीक्षण सेवाको अधिकृत तहमा प्रवेशका लागि विषयगत शैक्षिक योग्यताको दायरा विस्तार गरेको छ। विशेषगरी लेखा, वित्त र व्यवस्थापनबाहेक अन्य विषयमा स्नातक गरेका तर सीए उत्तीर्ण गरेका जनशक्तिका लागि समेत सरकारी सेवामा प्रवेशको विकल्प थपिएको छ।
तल्लो तहमा पनि छुट्टाछुट्टै योग्यता:
राजपत्र अनङ्कित प्रथम श्रेणीका लागि लेखा वा वित्त विषयसहित कक्षा १२, १०+२ वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।
राजपत्र अनङ्कित द्वितीय श्रेणीका लागि भने एसईईमा कम्तीमा जीपीए २ प्राप्त गरी उत्तीर्ण वा एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
यसरी संशोधनले लेखापरीक्षण सेवामा प्रवेश गर्ने विभिन्न तहका लागि आवश्यक शैक्षिक योग्यतालाई तहगत रूपमा स्पष्ट गरेको छ।
लेखा समूहपछि लेखापरीक्षण सेवामा पनि परिवर्तन:
सरकारले यसअघि प्रशासन सेवाअन्तर्गत लेखा समूहका उपसचिव र शाखा अधिकृतको शैक्षिक योग्यतासमेत परिवर्तन गरेको थियो। उक्त संशोधनमा व्यवस्थापन, वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा लेखा वा वित्त विषयको अध्ययनलाई प्राथमिक आधार बनाउँदै निश्चित अवस्थामा चार्टर्ड एकाउन्टेन्सीलाई समेत प्रवेश योग्यतासँग जोडिएको थियो।
त्यसको निरन्तरताका रूपमा अहिले लेखापरीक्षण सेवाको नियममा समेत सीएलाई माथिल्लो तहसम्म प्रवेशको विकल्प दिइएको हो।
यससँगै सरकारी लेखापरीक्षण सेवामा जनशक्ति प्रवेशको परम्परागत शैक्षिक बाटोभन्दा बाहिरबाट पनि प्रतिस्पर्धा गर्न सक्ने अवस्था बनेको छ। नयाँ व्यवस्थाले सीए उत्तीर्ण जनशक्तिलाई लेखापरीक्षण सेवाको शाखा अधिकृत तहबाट मात्र होइन, आवश्यक अनुभव पूरा गरेको अवस्थामा उपसचिव र सहसचिव तहसम्म सेवा प्रवेशका लागि समेत योग्य बनाएको छ।
संशोधित व्यवस्था नेपाल सरकारका सचिव डा. घनश्याम उपाध्यायको नामबाट नेपाल राजपत्रमा प्रकाशित भएको हो।


