काठमाडौँ — पुरातत्वविद् लैनसिंह वाङ्गदेलको सन् १९८९ मा प्रकाशित बहुचर्चित कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ को प्राक्कथनमा भनिएको छ‒‘न्युयोर्कको एसिया हाउसमा नेपाली कला‐सम्पदाबारेको प्रदर्शनी पहिलोपटक सन् १९६४ मा गरिएको थियो। त्यो प्रदर्शनी आयोजना गर्ने डा.स्टेला क्रमरिच नै त्यस्ती विद्धान हुन् जसले नेपालको कलालाई पश्चिमा जगतमा पहिलोपटक चिनाएकी थिइन्।
संयोगले कलाविद् एवं क्युरेटर डा. क्रमरिचले नेपालको कलालाई बाहिरी विश्वमा चिनाएको ५८ वर्षपछि एउटा सूचना बाहिर आएको छ जहाँ तिनै क्युरेटरलाई राजा महेन्द्रले उपहारमा दिएको आठौं शताब्दीको तारा पार्वतीको प्रस्तर मूर्ति अमेरिकाकै पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया सहरस्थित एक संग्रहालयमा फेला परेको छ। सन् ६० दशकको सुरुवातमै राजा महेन्द्रले उपहारमा दिएको यो पुरातात्विक सम्पदा फिलाडेल्फिया म्युजियम अफ आर्टुमा भेटिएकोबारे नेपाली कलारसम्पदा अन्वेषणको अभियान ‘लस्ट आर्टस् अफ नेपाल’ले जानकारी दिएको छ। यो मूर्ति सन् १९६५ मै अमेरिका पुगेको पाइएको छ। तर, मूर्तिको टाउको सहितको माथिल्लो अंश फुटेको अवस्थाबारे म्युजियमले आफ्नो विवरणमा केही उल्लेख गरेको छैन।
अन्वेषक डा. रमेश ढुङ्गेलका अनुसार, कलाविद् डा. स्टेला क्रमरिच भारतीय कला इतिहासकी प्राध्यापक हुन् जसले कलकत्ता युनिभर्सिटीमा समेत प्राध्यापन (१९२४‐५०) गरेकी थिइन्। उनी युनिभर्सिटी अफ पेनिन्सिल्भियाको दक्षिण एसिया विभागमा अध्यापन गर्थिन्। उनी लामो समय फिलाडेल्फिया म्युजियम अफ आर्टमा क्युरेटरका रुपमा कार्यरत रहिन्। उनको ९७ वर्षको उमेरमा १९९३ मा निधन भएको थियो।
‘ट्रेडिङ फेथ फर डिप्लोम्यासी’ शीर्षकमा लस्ट आर्टस् अफ नेपालले दिएको जानकारी अनुसार, तत्कालीन राजा महेन्द्रले उच्चपदस्थ विदेशी अधिकारी वा कूटनीतिज्ञलाई उपहारमा दिएको तर कालान्तरमा कुनै म्युजियममा बिक्री वा प्रर्दशनीमा भेटिएको सम्पदा यो पहिलो होइन। यसअघि, राजा महेन्द्रले क्यानेडियन कूटनीतिज्ञ चेस्टर रोनिङलाई उपहारमा दिएको चाँगुनारायण मन्दिरको विष्णुनारायण(डोला शिखर नारायण) प्रतिमा उपहारमा दिएका थिए। कला संग्रहकर्ता एवं कूटनीतिज्ञ रोनिङको सन् १९८४ मा ९० वर्षको उमेरमा क्यानडामा निधन भएको थियो।
अन्वेषक डा. गौतम बज्राचार्यले गरेको लिपी अनुवादअनुसार, यो डोला शिखर नारायण प्रतीमा नेपाल सम्वत् ११०५ मा राजा सिंहदेवको सम्मानमा उनका मन्त्री श्रज्यधाराले सम्मानपूर्वक निर्माण गरेको जनाइएको छ। यो पुरातात्विक सम्पदा हाल न्युयोर्कको मेट्रोपोलिटान म्युजियममा रहेको छ।