काठमाडौं– राष्ट्रिय सभाको शून्य समयमा सांसदहरूले बलात्कार तथा हत्या, महिला हिंसा, सर्वोच्च अदालतमा भएको तोडफोड र रसुवाको बाढीबाट प्रभावित नागरिकको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद पूजा चौधरीले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्या घटनामा संलग्न अभियुक्तमाथि भइरहेको कानुनी प्रक्रियाबारे प्रश्न उठाइन् । उनका अनुसार घटनाका केही अभियुक्तलाई बाल सुधारगृह पठाइएको छ भने केही धरौटी तथा तारेखमा छुटेका छन् ।
क्रूर अपराधमा संलग्नलाई सामान्य धरौटी तथा तारेखमा छाड्दा समाजमा गलत सन्देश जाने भन्दै चौधरीले घटनाको निष्पक्ष छानबिन गरी अपराधको प्रकृतिअनुसार कडा सजाय सुनिश्चित गर्न सरकारसँग माग गरिन् । आवश्यक परे कानुन संशोधन गर्नुपर्ने उनको भनाइ थियो ।
सांसद रुक्मिणी कोइरालाले नवलपरासीको त्रिवेणी–३ मा श्रीमान् शेरबहादुर विकले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराइन् । तीजको व्रत बसेकी श्रीमतीको हत्या भएको उल्लेख गर्दै उनले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न माग गरिन् ।
कोइरालाले कैलालीको धनगढीमा प्रहरी जवानमाथि महिलालाई बलात्कार गरेको आरोप तथा तीन वर्षीया बालिकामाथि भएको बलात्कार र हत्या घटनाबारे पनि सरकारसँग जवाफ मागिन् । यस्ता घटनामा संलग्नमाथि सरकारले गरिरहेको कारबाहीबारे स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो ।
यसैगरी सांसद विष्णुबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा भएको तोडफोड र क्षतिबारे न्यायिक छानबिन गर्न माग गरे । सर्वोच्च अदालतमा नियोजित तथा षड्यन्त्रपूर्ण ढंगले आक्रमण भएको दाबी गर्दै उनले उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाको वास्तविकता सार्वजनिक गर्न र दोषीलाई कडा कारबाही गर्न सरकारसँग आग्रह गरे ।
सर्वोच्च अदालत आफैं वा कुनै दुर्घटनाका कारण क्षतिग्रस्त नभएको भन्दै विश्वकर्माले घटनाको वास्तविक कारण पत्ता लगाउन आवश्यक रहेको बताए ।
सांसद श्रीकृष्णप्रसाद अधिकारीले भने रसुवाको बाढीले निम्त्याएको आवागमन संकट र खाद्यान्न अभावको जोखिमबारे सरकारको ध्यानाकर्षण गराए । भोटेकोशी नदीमा आएको बाढीका कारण सडक, पुल तथा अन्य संरचनामा क्षति पुग्दा आमाछोदिङ्मो र गोसाइँकुण्ड गाउँपालिकासहित माथिल्लो क्षेत्रका नागरिकको जनजीवन प्रभावित भएको उनले बताए ।
बाढीका कारण सडक तथा बजारसम्मको पहुँच अवरुद्ध भएकाले प्रभावित नागरिक खाद्यान्न अभावको जोखिममा रहेको भन्दै अधिकारीले तत्काल ड्रोन तथा हेलिकप्टरमार्फत खाद्यान्न, दैनिक उपभोग्य सामग्री, लत्ताकपडा र औषधि पुर्याउन माग गरे । साथै स्थानीय तहसँग समन्वय गरी अवरुद्ध सडकमार्ग यथाशीघ्र सञ्चालन गर्न पनि उनले सरकारसँग आग्रह गरे।