महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसमा दबाब र टकराव, खड्का–शेखरको ‘मिति सारौँ’ आग्रह अस्वीकार गर्ने संस्थापनको संकेत - Chaitanya News
  • 2026-09-19
  • 14:58:06
  • शनिबार,आश्विन ०३, २०८३
  • महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसमा दबाब र टकराव, खड्का–शेखरको ‘मिति सारौँ’ आग्रह अस्वीकार गर्ने संस्थापनको संकेत

    महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसमा दबाब र टकराव, खड्का–शेखरको ‘मिति सारौँ’ आग्रह अस्वीकार गर्ने संस्थापनको संकेत

    काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन शनिबारदेखि सुरु हुँदै गर्दा पार्टीभित्र महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद चर्किएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाले महाधिवेशन केही समय सारेर पार्टीभित्र सहमतिको वातावरण बनाउन आग्रह गरे पनि संस्थापन पक्ष भने घोषित कार्यतालिका परिवर्तन गर्ने पक्षमा देखिएको छैन।

    गगन थापा नेतृत्वको कार्यसमितिले महाधिवेशनको अन्तिम तयारी अघि बढाइरहेका बेला खड्का र कोइरालाले छुट्टाछुट्टै अपिलमार्फत तत्काल अधिवेशन प्रक्रिया रोक्न वा केही समय पर सार्न आग्रह गरेका हुन्।

    खड्काले सभापति थापालाई विशेष आग्रह गर्दै असोज ३ गतेदेखि सुरु गर्ने भनिएको १५औँ महाधिवेशनको कार्यतालिका स्थगन गरी केही समय सार्न सुझाव दिएका छन्। साथै, १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र अन्य अग्रज नेताहरूसँग तत्काल वार्ता–संवाद सुरु गर्न उनले आग्रह गरेका छन्।

    खड्काको भनाइमा महाधिवेशनको मिति सारेर पार्टीभित्र संवाद र सहमतिको वातावरण निर्माण गर्न सके कांग्रेसलाई पुनः एकताबद्ध बनाउन सकिन्छ।

    यता, नेता डा. शेखर कोइरालाले पनि कांग्रेसभित्र देखिएको विभाजन रोक्न मध्यमार्गी र विवेकपूर्ण समझदारी खोज्नुपर्ने बताएका छन्। उनले आसन्न दुई महाधिवेशनबाट राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा असर पर्न सक्ने भन्दै त्यसलाई रोक्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

    तर, खड्का र कोइरालाको आग्रहअनुसार महाधिवेशनको कार्यतालिका तत्काल परिवर्तन हुने सम्भावना भने कमजोर देखिएको संस्थापन पक्षको भनाइ छ।

    संस्थापन पक्षका एक पदाधिकारीका अनुसार महाधिवेशनको कार्यतालिका सर्वोच्च अदालतको फैसलासँग जोडिएको विषय भएकाले त्यसलाई आफूखुसी तलमाथि गर्न सक्ने अवस्था छैन।

    ‘सर्वोच्च अदालतले पार्टीबारे फैसला गर्दा लेखेको वाक्यांशसँग जोडिएको विषय छ। त्यसैले सेड्युल तलमाथि गर्न सक्ने अवस्था छैन,’ ती पदाधिकारीले रातोपाटीसँग भने।

    महाधिवेशनको तयारी अघि बढाइरहेको संस्थापन पक्षले भने असन्तुष्ट नेताहरूका माग सम्बोधन भइसकेको दाबी गर्दै अधिवेशनमा सहभागी हुन आग्रह गरेको छ।

    महामन्त्री प्रदीप पौडेलले सबै नेताहरूलाई सम्मानजनक रूपमा सहभागी हुने वातावरण निर्माण भइसकेको दाबी गरे । ‘सम्मानजनक अवस्थामा सबै आदरणीय नेता साथीहरू अधिवेशनमा आउने वातावरण हामीले निर्माण गरेका छौँ,’ उनले भने, ‘उहाँहरूका माग पूरा भएका छन्। सबै आदरणीय नेता साथीहरूलाई अधिवेशनमा आउन आग्रह गर्छौं।’

    यससँगै कांग्रेसमा शनिबारबाट सुरु हुने वडा अधिवेशनसँगै विवाद समाधान गर्ने प्रयास र घोषित कार्यतालिकाअनुसार महाधिवेशन अघि बढाउने संस्थापन पक्षबीचको टकराव थप स्पष्ट भएको छ। एकातिर खड्का–शेखर पक्षले संवाद र सहमतिका लागि समय मागेको छ भने अर्कोतिर संस्थापन पक्ष अदालतको फैसला र घोषित प्रक्रियालाई आधार बनाउँदै अधिवेशन प्रक्रिया अघि बढाउने अडानमा छ।