काठमाडौं– नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ विभिन्न पदमा ३३४ जनाका लागि भर्ना आह्वान गरेको छ। प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी कार्यालय सहयोगीसम्मका पदमा खुला प्रतियोगिताबाट पदपूर्ति गर्न लागिएको हो।
नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानव स्रोत विकास विभागको वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको छ।
प्रहरीका अनुसार सबैभन्दा बढी प्रहरी सहायक निरीक्षक (जनपद) पदमा २११ जना माग गरिएको छ। त्यस्तै प्रहरी कार्यालय सहायकअन्तर्गत भान्छेमा ८३, हजाममा १५ र कुचिकारमा २५ जना पदपूर्ति गरिनेछ।
इच्छुक उम्मेदवारले असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म आवेदन दिन सक्नेछन्। असई पदका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिनुपर्नेछ।
प्रहरी कार्यालय सहयोगीअन्तर्गतका पदमा भने उम्मेदवार स्वयं उपस्थित भई तोकिएका कार्यालयमा आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।
खुला प्रतियोगितामार्फत पदपूर्ति हुने भएकाले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले निर्धारित समयभित्र आवेदन दिन सक्नेछन्।







