भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माण र अर्थतन्त्रमा के हुँदैछ सहकार्य? - Chaitanya News
  • 2026-09-17
  • 09:16:18
  • बिहिबार,आश्विन ०१, २०८३
  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माण र अर्थतन्त्रमा के हुँदैछ सहकार्य?

    भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माण र अर्थतन्त्रमा के हुँदैछ सहकार्य?

    काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नेपालमा विपद्पछिको पुनर्निर्माण तथा नेपाल–भारतबीचको आर्थिक सहकार्यका विषयमा छलफल गर्न तीन दिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन् ।

    भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री वाग्ले बिहान ७ः३५ बजेको उडानमार्फत नयाँ दिल्ली प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा नेपालमा विपद्पछि आवश्यक पुनर्निर्माण, दुई देशबीचको आर्थिक सम्बन्ध तथा राजनीतिक र कूटनीतिक सहकार्यका विभिन्न विषयमा छलफल हुने बताइएको छ ।

    भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमण तथा विदेशमन्त्री डा. एस. जयशंकरसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तामा नेपाल–भारत आर्थिक सम्बन्धसहित आपसी सहकार्यका विषयमा छलफल हुने जनाइएको छ ।

    वाग्लेले पूर्वविदेशसचिव श्याम शरणद्वारा आयोजित कूटनीतिक संवादमा समेत सहभागिता जनाउनेछन् । त्यसैगरी भारत व्यापार संवर्धन सङ्गठन र भारतीय उद्योग परिसंघका कार्यक्रममा सहभागी हुँदै भारतीय उद्योग तथा व्यापार क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम छ ।

    भ्रमणको अन्तिम दिन शनिबार अर्थमन्त्री वाग्ले दिल्ली स्कुल अफ इकोनोमिक्समा विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । सोही दिन साँझ ४ बजे उनी स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

    अर्थमन्त्री वाग्लेको नेतृत्वमा भारत गएको टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन् ।