सफलताको त्रिकोण: सपना, संकल्प र संघर्ष - Chaitanya News
  • 2026-09-15
  • 07:53:52
  • मंगलबार,भाद्र ३०, २०८३
  • सफलताको त्रिकोण: सपना, संकल्प र संघर्ष

    सफलताको त्रिकोण: सपना, संकल्प र संघर्ष

    मनुष्य जीवन सृष्टिको सबैभन्दा सुन्दर र रहस्यमय उपहार हो। यो जीवनको सार्थकता केवल अस्तित्व रक्षामा मात्र सीमित छैन, बल्कि यसको वास्तविक गन्तव्य त निरन्तरको विकास, रूपान्तरण र सफलतामा निहित छ। संसारमा जन्मिएका हरेक मानिसभित्र एउटा प्रवल चाहना हुन्छ: सफल बन्ने। तर, सफलता कुनै संयोग वा चिट्ठा होइन। यो त एउटा निश्चित गणित, विज्ञान र दर्शनको उपज हो। जब हामी सफलताको गहिराइलाई खोतल्छौँ, तब एउटा अकाट्य सत्य सामुन्ने आउँछ: सफलताको त्रिकोण: सपना, संकल्प र संघर्ष।
    यदि यी तीन तत्त्वमध्ये एउटा मात्र पनि कमजोर भयो भने सफलताको धरहरा ढल्छ। आज हामी कहिलेकाहीँ कर्मभन्दा बढी चिन्तामा हराउँछौँ। संघर्षको मैदानमा उत्रिनुअघि नै ठूला सपना बुन्न थाल्छौँ र दृढ संकल्प लिनुको सट्टा केवल कल्पनाको संसारमा रमाउँछौँ। हामीलाई लाग्छ: ‘मैले जति दुःख त कसले गरेको होला र!’ तर यथार्थ सधैँ फरक हुन्छ। वास्तवमा, हामीले आफ्नो सपना, संकल्प र संघर्षबीच सही तालमेल (सन्तुलन) मिलाउनै सकेका हुँदैनौँ। फलस्वरूप, हाम्रा ठूला अपेक्षाहरू अन्ततः निराशामा बदलिन्छन्।
    आउनुहोस्, वैदिक सनातन चिन्तन, आधुनिक विज्ञान, व्यावहारिक जीवन दर्शन र नेपालको ग्रामीण परिवेशदेखि विश्व परिवेशसम्मका आयामहरूलाई जोडेर यस सफलताको त्रिकोणलाई बुझ्ने प्रयास गरौँ।

    वैदिक दर्शन: त्रिशक्ति र त्रिकर्मको आधार
    पूर्वीय वैदिक वाङ्मय संसारकै सबैभन्दा अग्रिण र व्यावहारिक जीवन दर्शन हो। वैदिक दर्शनले सफलताको यो त्रिकोणलाई आजभन्दा हजारौँ वर्ष पहिले नै स्थापित गरिसकेको थियो। हाम्रो शास्त्रले भन्छ– “इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्ति” को सन्तुलन नै सिद्धिको आधार हो।
    * सपना (इच्छाशक्ति): वैदिक दर्शनमा ‘सपना’ भनेको केवल सुतेर देखिने दृश्य होइन, यो त ‘सङ्कल्प सूक्त’ मा भनिएझैँ कल्याणकारी विचार वा ‘ध्येय’ हो। ऋग्वेद भन्छ: “ओम् तन्मे मनः शिवसङ्कल्पमस्तु” अर्थात् मेरो मन सधैँ कल्याणकारी र उच्च विचार (सपना) ले भरिपूर्ण होस्।
    * संकल्प (ज्ञानशक्ति/चित्तवृत्ति): श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले संकल्पलाई ठूलो स्थान दिनुभएको छ। संकल्प भनेको बुद्धिको त्यो दृढता हो, जसले सुख र दुःखमा विचलित हुन दिँदैन। गीताको दोस्रो अध्यायमा भनिएको छ: “व्यवसायात्मिका बुद्धिरेकेह कुरुनन्दन”अर्थात् सफल हुनेहरूको बुद्धि वा संकल्प एउटै र अटल हुन्छ, तर दिशाहीनहरूको बुद्धि अनन्त शाखाहरूमा बाँडिएको हुन्छ।
    * संघर्ष (क्रियाशक्ति): संघर्ष नै ‘कर्मयोग’ हो। “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन” को वास्तविक अर्थ नै परिणामको चिन्तामा ऊर्जा नष्ट नगरी, वर्तमानको संघर्षमा शतप्रतिशत होमिनु हो।
    वैदिक दर्शनले यहि दिव्य सत्य सिकाउँछ कि जबसम्म हाम्रो सपना (इच्छा) पवित्र हुँदैन, संकल्प (बुद्धि) दृढ हुँदैन र संघर्ष (कर्म) निष्काम हुँदैन, तबसम्म मानिस अलमलिइरहन्छ। हामीले गर्ने ‘मैले जति दुःख त कसले गर्यो होला’ भन्ने गुनासो वास्तवमा अहंको तुष्टि मात्र हो, जसमा कर्मको शुद्धता र समर्पणको कमी हुन्छ।

    वैज्ञानिक दृष्टिकोण: न्यूरोप्लास्टिसिटी, ऊर्जा र नतिजाको नियम
    आधुनिक विज्ञानले पनि सफलताको यो त्रिकोणलाई आफ्नै भाषा र प्रमाणहरूद्वारा पुष्टि गरेको छ। विज्ञानको नजरमा यो अन्धविश्वास होइन, बरु एक ऊर्जाको रूपान्तरण (Transformation of Energy) हो।
    * सपना र न्यूरोप्लास्टिसिटी (Neuroplasticity): जब हामी कुनै स्पष्ट सपना देख्छौँ र त्यसलाई मस्तिष्कमा बारम्बार सोच्छौँ, तब न्यूरोविज्ञानका अनुसार हाम्रो मस्तिष्कमा नयाँ न्यूरल पाथवे (Neural Pathways) हरू बन्न थाल्छन्। यसलाई ‘सचेत मनको प्रोग्रामिङ’ भनिन्छ। स्पष्ट सपनाले मस्तिष्कलाई कुन दिशामा जाने भन्ने ‘जीपीएस’ (GPS) प्रदान गर्छ।
    * संकल्प र क्वान्टम फिजिक्स (Quantum Physics): भौतिक विज्ञानको ‘ल अफ एट्र्याक्सन’ वा क्वान्टम सिद्धान्तका अनुसार, हाम्रो दृढ संकल्पले एक विशिष्ट प्रकारको ऊर्जा तरंग (Vibrational Frequency) पैदा गर्छ। जब संकल्पमा द्विविधा हुँदैन (अर्थात् चिन्ता र परिकल्पनाको असन्तुलन हुँदैन), तब हाम्रो मस्तिष्कले समस्याहरूमा होइन, समाधान र अवसरहरूमा ध्यान केन्द्रित गर्न थाल्छ।
    * संघर्ष र न्युटनको तेस्रो नियम: न्यूटनको गति सम्बन्धी तेस्रो नियम भन्छ: “प्रत्येक क्रियाको बराबर तर विपरित प्रतिक्रिया हुन्छ।” संघर्ष भनेको कार्य (Action) हो। यदि तपाईंले सहि दिशामा, सहि मात्रामा ऊर्जा (संघर्ष) खर्च गर्नुभएको छ भने त्यसको प्रतिक्रिया स्वरूप सफलता (Reaction) आउनु भौतिक विज्ञानको नियम नै हो।
    विज्ञानले भन्छ: धेरै मानिस असफल हुनुको कारण उनीहरूको कार्यक्षमता नभएर उनीहरूको ऊर्जाको ‘डिस्पर्शन’ (Dispersion) वा चुहावट हो। मिहिनेतभन्दा बढी चिन्ता गर्दा हाम्रो शरीरमा ‘कोर्टिसोल’ (तनाव हर्मोन) बढ्छ, जसले निर्णय क्षमता कमजोर बनाउँछ। त्यसैले, सपना, संकल्प र संघर्षको सन्तुलन वैज्ञानिक रूपमै अनिवार्य छ।

    व्यावहारिक दर्शन र सन्तुलनको महत्त्व
    व्यवहारमा सफलताको त्रिकोण कसरी काम गर्छ? यसलाई बुझ्न हामीले हाम्रो दैनिक बानी र सोचको विश्लेषण गर्नुपर्छ।
    हामीमध्ये धेरैको बानी हुन्छ: संघर्षको मैदानमा एक पाइला नटेकी, हिमालको चुचुरोमा पुगेको कल्पना गर्ने। संकल्प लिनुको सट्टा केवल रङ्गीन परिकल्पनामा हराउने। यो व्यावहारिक रूपमा एक मानसिक भ्रम हो।

    अवस्था के हुन्छ? परिणाम
    मिहिनेतभन्दा बढी चिन्ता मानसिक ऊर्जाको विनाश हुन्छ, कार्य सुरु नै हुन सक्दैन। भय र असफलता
    संघर्षभन्दा ठूलो सपना कार्ययोजना बिनाको हवाई महल मात्र बन्छ। दिवास्वप्न र निराशा
    संकल्पभन्दा बढी परिकल्पना क्षणिक उत्तेजना आउँछ तर निरन्तरता हुँदैन। अल्छीपन र अलमलता
    व्यावहारिक दर्शनले भन्छ: “दुःखको मात्राले होइन, दुःखको व्यवस्थापन र सही दिशाले नतिजा निर्धारण गर्छ।” हामीलाई लाग्छ, ‘म दिनभरि खटिएकै छु, दुःख गरेकै छु,’ तर सोच्नुहोस्, के त्यो दुःख सही दिशामा छ? के त्यो संघर्ष सपनासँग जोडिएको छ? यदि छैन भने, त्यो असन्तुलन हो, जसले अपेक्षालाई निराशामा बदल्छ।

    नेपालको ग्रामीण परिवेश: कोदालोदेखि चेतनाको यात्रासम्म
    नेपालको भौगोलिक र सामाजिक परिवेश संघर्षको जीवन्त पाठशाला हो। हाम्रा गाउँघर, कुनाकाप्चा र दुर्गम बस्तीहरूमा यो सफलताको त्रिकोण कसरी लागू भइरहेको छ, त्यो हेर्न लायक छ।
    एकपटक गाउँको त्यो किसानलाई हेरौँ, जसले असारको झरीमा, हिलोमाटोमा टेक्नुअघि जेठको खडेरीमा ‘मंसिरमा धान झुलाउने’ सपनादेख्छ। त्यो सपना पूरा गर्न उसले बीउ राख्ने, खेत जोत्ने र माना रोपेर मुरी उब्जाउने संकल्प गर्छ। अनि मात्र ऊ असारको भेल, हिलो र जुकासँग लड्दै संघर्ष को मैदानमा होमिन्छ। किसानले ‘असारमा रोपौँला कि नरोपौँला’ भनेर चिन्ता गरेर बस्दैन, न त संघर्ष नगरी कात्तिकको परिकल्पनामा मात्र रमाउँछ। उसले सपना, संकल्प र संघर्षको अचुक सन्तुलन मिलाउँछ र त कात्तिकमा उसको भकारी भरिन्छ।
    नेपालका ग्रामीण भेगबाट प्रतिनिधित्व गर्ने युवाहरूको कथा अझ प्रेरक छ। डोटीको विकट गाउँ, दार्चुलाको कुना वा ताप्लेजुङको पहाडी पाखोबाट एउटा सामान्य परिवारको युवा काठमाडौँ आइपुग्छ। उसको सपना हुन्छ: आफ्नो परिवारलाई गरिबीको खाडलबाट निकाल्ने र बुबाआमाको अनुहारमा खुसी ल्याउने। त्यो सपनाका लागि उसले भोक, निद्रा र अभावलाई जित्ने संकल्प गर्छ। कोठाभाडा तिर्न नसक्दाको पीडा, ट्युसन पढ्ने पैसा नहुँदाको अभाव र सहरको बेग्लै वातावरणसँग जुध्दै ऊ रातभरि टुकी वा मोबाइलको उज्यालोमा संघर्ष गर्छ।
    जब उसको यो त्रिकोण सन्तुलित हुन्छ, तब दुर्गम गाउँको त्यो ठिटो देशकै प्रतिष्ठित ओहोदामा पुग्छ। ग्रामीण परिवेशले हामीलाई सार्थक शिक्षा दिन्छ : अभाव आफैँमा असफलता होइन, बरु यो त संघर्षलाई तिखार्ने कसी हो।

    लोकसेवा आयोग: संकल्प र संघर्षको जीवन्त कसी
    नेपालको सन्दर्भमा ‘सफलताको त्रिकोण’ को सबैभन्दा उत्कृष्ट र प्रत्यक्ष उदाहरण कतै देखिन्छ भने त्यो लोकसेवा आयोग (Public Service Commission) को तयारी र सफलतामा देखिन्छ। हरेक वर्ष लाखौँ युवाहरू निजामती सेवाको परीक्षामा सामेल हुन्छन्, तर सफल केही सय मात्र हुन्छन्। किन? उत्तर स्पष्ट छ: जसले सपना, संकल्प र संघर्षको सन्तुलन मिलाउन सक्यो, उही सफल भयो।
    लोकसेवामा सफल हुनेहरूको जीवन दर्शनलाई नियाल्ने हो भने निम्न कुराहरू स्पष्ट देखिन्छन्:
    1. स्पष्ट सपना (Goal Clarity): उनीहरूको सपना केवल ‘जागिर खानु’ मात्र हुँदैन, बरु राष्ट्रसेवा गर्ने, राज्यसंयन्त्रमा पुगेर नीति निर्माणमा योगदान दिने स्पष्ट खाका हुन्छ।
    2. अटल संकल्प (Unwavering Commitment): लोकसेवाको पाठ्यक्रम विशाल हुन्छ। एकै पटकमा नाम निस्कन्छ भन्ने ग्यारेन्टी हुँदैन। यस्तो अवस्थामा ‘म नाम निकालेरै छाड्छु, चाहे जतिसुकै समय लागोस्’ भन्ने आन्तरिक प्रतिबद्धता नै संकल्प हो। चाडपर्व, सामाजिक उत्सव, र रमाइलोलाई त्यागेर कोठाको चार पर्खालभित्र सीमित हुनु सानो संकल्प होइन।
    3. सत्प्रेरणा सहितको संघर्ष (Strategic Hard Work): लोकसेवामा केवल अन्धधुन्ध पढेर मात्र पुग्दैन। त्यहाँ ‘स्मार्ट वर्क’ र ‘सत्प्रेरणा सहितको संघर्ष’ चाहिन्छ। कतिपय विद्यार्थीहरू मिहिनेत त गर्छन्, तर ‘प्रश्न कस्तो आउला, नाम निस्केन भने के होला’ भन्ने चिन्तामा आधा ऊर्जा नष्ट गर्छन्। सफल हुनेहरूले भने चिन्ता होइन, चिन्तन गर्छन्। उनीहरू आफ्नो लेखन शैली सुधार्छन्, समसामयिक विषयको अध्ययन गर्छन् र असफलताबाट पाठ सिक्दै अघि बढ्छन्।
    कैयौँ यस्ता उदाहरण छन्, जसले पाँचौँ, छैटौँ पटकको प्रयासमा मात्र सफलता पाए। उनीहरूले कहिल्यै गुनासो गरेनन् कि ‘मैले जति दुःख कसले गर्यो होला।’ उनीहरूले बुझेका थिए कि अघिल्ला प्रयासहरूमा कतै न कतै त्रिकोणको सन्तुलन बिग्रेको थियो। जब उनीहरूले सपना अनुसारको संकल्प र संकल्प अनुसारको संघर्षको सन्तुलन मिलाए, तब निजामती सेवाको सर्वोच्च पदहरू उनीहरूका लागि सहज बने। लोकसेवाको सफलताले प्रमाणित गर्छ: कठिनभन्दा कठिन यात्रा पनि सहि रणनीति र सन्तुलनले सहज बन्छ।

    विश्व परिवेशका आयामहरू: असम्भवलाई सम्भव तुल्याउनेहरू
    नेपालको सीमानाभन्दा बाहिर निस्किएर विश्व इतिहास र वर्तमान परिवेशलाई हेर्ने हो भने, संसारलाई बदल्ने महापुरुष वा क्रान्तिकारी परिवर्तनहरू यही त्रिकोणका उपज हुन्। विश्व परिवेशका केही आयामहरू यस्ता छन्:
    * अब्राहम लिङ्कन: अमेरिकाका १६ औँ राष्ट्रपति अब्राहम लिङ्कनको जीवन संघर्षको महाकाव्य नै हो। व्यवसायमा असफलता, श्रीमतीको वियोग, चुनावमा लगातार हार। उनको जीवनमा दुःखको पहाडै थियो। यदि उनले केवल चिन्ता मात्र गरेको भए वा आफ्नो दुःखलाई संसारकै ठूलो मानेर रोएर बसेको भए, उनी इतिहासको पानामा हराउने थिए। तर, उनको सपना थियो:दासप्रथाको अन्त्य र अक्षुण्ण अमेरिका। उनको संकल्प अटल थियो र सोही अनुसारको संघर्ष जारी राखे। अन्ततः उनले अमेरिकालाई नयाँ दिशा दिए।
    * एपिजे अब्दुल कलाम: भारतका मिसाइल म्यान तथा पूर्व राष्ट्रपति कलामको बाल्यकाल रामेश्वरमको एउटा विपन्न परिवारमा अखबार बेचेर बित्यो। तर, उनको सपना आकाश छुने थियो। उनले विज्ञानको क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउने संकल्प लिए र आफ्नो सम्पूर्ण जीवन प्रयोगशाला र अनुसन्धानको कठोर संघर्ष मा समर्पित गरे। उनले भनेका थिए: “सपना त्यो होइन जुन हामी सुतेर देख्छौँ, सपना त त्यो हो जसले हामीलाई सुत्न दिँदैन।”
    * इलन मस्क (Elon Musk): आधुनिक विश्वका प्रविधि पन्ध्र (Tech Tycoon) इलन मस्कको कथा झनै अद्भुत छ। संसारले असम्भव मानेको काम: मंगल ग्रहमा मानव बस्ती बसाउने, अन्तरिक्षमा पुनः प्रयोग गर्न मिल्ने रकेट पठाउने (SpaceX) र विद्युतीय कार (Tesla) लाई संसारभर फैलाउने सपना उनले देखे। जब सुरुवाती चरणमा उनका ३-४ वटा रकेटहरू लगातार विस्फोट भए, उनी टाट पल्टिने अवस्थामा पुगे। मिडिया र वैज्ञानिकहरूले उनको खिल्ली उडाए। तर उनको संकल्प हल्लिएन। उनले चिन्ता गरेर समय फालेनन्, बरु इन्जिनियरहरूसँगै दिनको २० घण्टा प्रयोगशालामा बिताएर संघर्ष गरे। आज नतिजा संसारको सामुन्ने छ: असम्भव कुरा सम्भव भयो।
    विश्व परिवेशका यी उदाहरणहरूले के देखाउँछन् भने, चाहे त्यो अमेरिकी परिवेश होस्, भारतीय होस्, नेपाली ग्रामिण परिवेशहोस् वा युरोपेली: सफलताको नियम विश्वव्यापी छ। सपनाका लागि संकल्पित र संघर्षशील सबैले कठिनभन्दा कठिन यात्रा सहजै तय गर्छन् र हरेक असम्भव कुरालाई सम्भव तुल्याउँछन्।


    असन्तुलनको पासो र त्यसबाट निस्कने उपाय
    हामी राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरका ठूला कुरा त गर्छौँ, तर हाम्रो आफ्नै जीवनमा यो त्रिकोण कहाँ बिग्रिरहेको छ त? हामी धेरैजसो ‘अपेक्षा र निराशाको चक्रव्यूह’ मा फसेका हुन्छौँ।
    हामी सामाजिक सञ्जालमा अरूको सफलता (Iceberg को टुपो मात्र) देख्छौँ र तुरुन्तै त्यस्तै बन्ने सपना देख्न थाल्छौँ। तर, त्यो सफलताको पछाडि लुकेको वर्षौँको संकल्प र रगत-पसिनाको संघर्ष लाई देख्दैनौँ। हामी संकल्प लिनुको सट्टा ‘म त यस्तो भएँ, उस्तो भएँ’ भनेर केवल परिकल्पना र चिन्तामा समय खर्चिन्छौँ। सफल व्यक्तित्वलाई प्रेरणापुन्जको रूपमा स्विकार्नुको साटो कता कता प्रतिसोध र ईष्याको आगोमा आफैलाई जलाईरहन्छौं । जब अपेक्षित नतिजा आउँदैन, तब भाग्य, समाज वा परिस्थितिलाई दोष दिएर निराशामा डुब्छौँ।
    यस असन्तुलनको पासोबाट निस्कन निम्न व्यावहारिक कदमहरू चाल्नुपर्छ:
    १. चिन्तालाई चिन्तनमा बदलौँ: चिन्ताले ऊर्जा घटाउँछ, चिन्तनले योजना बनाउँछ। मिहिनेत सुरु गरेपछि नतिजाको डरलाई त्याग्नुपर्छ।
    २. सपनालाई साना लक्ष्य (Micro-Goals) मा बाँडौँ: सपना ठूलो देख्नुस्, तर त्यसलाई दैनिक, साप्ताहिक र मासिक कार्ययोजनामा विभाजन गर्नुस्। यसले संकल्पलाई बलियो बनाउँछ।
    ३. सत्प्रेरणा सहितको संघर्ष: संघर्ष गर्दा मनमा गुनासो वा पीडाको भाव होइन, उत्साह र सिक्ने चाहना (सत्प्रेरणा) हुनुपर्छ। ‘म बाध्यताले पढ्दै छु वा काम गर्दै छु’ भन्नुको सट्टा ‘म मेरो सपनाको नजिक पुग्दै छु’ भन्ने भाव राख्नुपर्छ।
    ४. आत्म-समीक्षा (Self-Reflection): ‘मैले जति दुःख त कसले गर्यो होला’ भन्ने भ्रमबाट मुक्त हुन आफैँलाई सोध्नुस्: के मेरो दुःख सही दिशामा छ? के म साँच्चिकै दृढ संकल्पित छु?

    निष्कर्ष: सफलताले आफैँ पछ्याउनेछ
    सफलता कुनै गन्तव्य होइन, यो त एउटा निरन्तरको यात्रा हो र यो यात्राको इन्धन नै सपना, संकल्प र संघर्षको सन्तुलन हो।
    नेपालको विकट गाउँको गोठदेखि विश्वका अत्याधुनिक प्रयोगशालासम्म, लोकसेवाको परीक्षा उत्तीर्ण गर्ने सामान्य विद्यार्थीदेखि संसारकै धनी वा शक्तिशाली बन्ने महापुरुषसम्मको जीवनको साझा कडी यही नै हो। जसले आफ्नो सपनाको उचाइ जत्तिकै संकल्पको गहिराइ र संघर्षको चौडाइ बनाउन सक्यो, उसले इतिहास रच्यो।
    सर्वेभवन्तु सुखिन:

    – गणेश जोशी