‘जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन सरकारले तयारी गरिरहेको छ’ : ऊर्जा मन्त्री श्रेष्ठ - Chaitanya News
  • 2026-09-13
  • 15:37:17
  • आइतबार,भाद्र २८, २०८३
  • ‘जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन सरकारले तयारी गरिरहेको छ’ : ऊर्जा मन्त्री श्रेष्ठ

    ‘जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन सरकारले तयारी गरिरहेको छ’ : ऊर्जा मन्त्री श्रेष्ठ

    काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्।

    आज (आइतबार) सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृहकार्य गरिरहेको जानकारी दिएका हुन्।

    ‘जोखिममा रहेका हिमतालहरू ब्लास्टिङ गरेर जलसतह पास गर्ने गरी छलफल अघि बढेको छ। जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले पास गरेर जोखिममुक्त गर्नैपर्छ। विपद् जोखिमको पूर्वतयारीमा हामी गम्भीर छौँ। तयारी सकिएपछि निर्णय लिनेछौँ, ’उनले भने।

    मन्त्री श्रेष्ठले कुन कुन ताल फुटाउने भनेर टुंगो नलागिसकेको पनि बताए । ‘विज्ञहरूसँग परामर्श लिँदैछौं। छलफलमा धेरै तालहरूको नाम विज्ञहरूबाट आएको छ। अध्ययन गरिरहेका छौँ। जोखिमको मात्रा हेरेर पानीको सतह घटाउने निर्णय लिन्छौँ, ’उनले भने।

    मन्त्री श्रेष्ठका अनुसार ग्रिन क्लाइमेट फण्ड (जीसीएस)बाट प्राप्त सहयोग परिचालन गरेर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने कार्य यही वर्ष अगाडि बढाइनेछ।

    इसिमोड र युएनडिपीको संयुक्त अध्ययनअनुसार नेपालमा २१ वटा हिमताल जोखिमयुक्त छन्। कोशी र गण्डकी क्षेत्रमा चार वटा अति उच्च जोखिमयुक्त हिमताल छन्।