काठमाडौँ– देश राजनीतिक अन्योल र शक्ति रिक्तताको अवस्थामा पुगेका बेला भदौ २७ गते आफूले देशलाई निकास दिने प्रक्रियामा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेको गृहमन्त्री सुधन गुरुङले स्मरण गरेका छन्।
भदौ २७ लाई ‘ऐतिहासिक दिन’का रूपमा सम्झिँदै गुरुङले सामाजिक सञ्जालमार्फत त्यस दिनको घटनाक्रम र आफूले भोगेको कठिन परिस्थितिबारे उल्लेख गरेका हुन्। उनका अनुसार त्यसबेला मुलुकमा राजनीतिक नेतृत्वप्रति नागरिकको विश्वास कमजोर भइसकेको थियो भने नयाँ नेतृत्व कसरी चयन गर्ने भन्ने विषयमा समेत स्पष्ट बाटो देखिएको थिएन।
भदौ २३ पछिको राजनीतिक परिस्थिति सामान्य नरहेको उनको भनाइ छ। पुरानो नेतृत्वप्रति नागरिकको असन्तुष्टि बढिसकेको अवस्थामा नयाँ नेतृत्वको विकल्पसमेत स्पष्ट नहुँदा देश राजनीतिक अन्योलतर्फ धकेलिएको उनले बताएका छन्।
यस्तो अवस्थामा लामो समयसम्म ‘पावर भ्याकुम’ कायम रहनु देशका लागि उचित नहुने भन्दै आफूले राज्य सञ्चालनमा निरन्तरता र मुलुकलाई निकास दिने विषयलाई प्राथमिकतामा राखेको गुरुङले बताएका छन्।
उनले इतिहासका कठिन मोडमा उपलब्ध विकल्पमध्ये कुनै पनि पूर्ण नहुन सक्ने भए पनि देशलाई अनिश्चितताको अवस्थामा छाड्न नहुने धारणा राखेका छन्। भदौ २३ को घटनापछि मुलुक सामान्य राजनीतिक अवस्थाभन्दा निकै फरक परिस्थितिमा पुगेको उनको स्मरण छ।
भदौ २७ गते आफू पनि देशलाई निकास दिने प्रक्रियामा जिम्मेवारीको मोडमा पुगेको गुरुङले बताएका छन्। राष्ट्रपति कार्यालय पुग्दाको अवस्थालाई स्मरण गर्दै उनले आफू रगतले लतपतिएको ज्याकेटमा रहेको र लामो समयदेखि पानी तथा खाना नखाएको उल्लेख गरेका छन्।
राष्ट्रपति कार्यालयमा करिब नौ घण्टा प्रतीक्षा गर्नुपरेको उनले बताएका छन्। लामो प्रतीक्षा र अन्योलका बीच पनि आफू देशलाई कुनै निष्कर्षबिना ‘खाली हात’ फर्काउन नहुने अडानमा रहेको गुरुङको भनाइ छ।
‘बाहिर सिंगो देशले निकास खोजिरहेको थियो,’ गुरुङले स्मरण गरेका छन्, ‘त्यस्तो अवस्थामा देशलाई खाली हात फर्काउन हुँदैन भन्ने अडान थियो।’
अन्ततः नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएपछि आफूले ठूलो जिम्मेवारीबाट हलुका भएको अनुभूति गरेको गुरुङले बताएका छन्। नयाँ नेतृत्व चयनसँगै देशले राजनीतिक निकास पाएको महसुस भएको उनको भनाइ छ।
गुरुङले भदौ २७ को घटनाक्रमलाई कुनै एक व्यक्तिको प्रयासको परिणामका रूपमा मात्र व्याख्या गर्न नहुने बताएका छन्। उनका अनुसार हजारौँ युवाको आवाज, नागरिकको अपेक्षा, विभिन्न व्यक्तिको प्रयास र देशलाई निकास दिनुपर्छ भन्ने साझा चेतनाले त्यस परिस्थितिलाई निर्णायक मोडमा पुर्याएको हो।
‘मेरो भागमा आएको जिम्मेवारी मैले सकेसम्म निभाएँ,’ गुरुङले भनेका छन्।
भदौ २७ लाई सम्झिँदा आफूले अहिले पनि कठिन परिस्थितिमा देशले आफूलाई विश्वास गरेको क्षणप्रति कृतज्ञता महसुस गर्ने गरेको उनले बताएका छन्। मुलुकलाई अनिश्चितताबाट निकाल्ने क्रममा आफूले पाएको जिम्मेवारीलाई उनले जीवनको महत्वपूर्ण राजनीतिक क्षणका रूपमा स्मरण गरेका छन्।