सुदूरपश्चिममा अझै तीन दिनसम्म वर्षा कायमै रहने,सतर्कता अपनाउन आग्रह - Chaitanya News
  • 2026-09-07
  • 10:02:27
  • सोमबार,भाद्र २२, २०८३
  • सुदूरपश्चिममा अझै तीन दिनसम्म वर्षा कायमै रहने,सतर्कता अपनाउन आग्रह

    सुदूरपश्चिममा अझै तीन दिनसम्म वर्षा कायमै रहने,सतर्कता अपनाउन आग्रह

    सुदूरपश्चिम– कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भू–भागमा वर्षा भइरहेको छ। वर्षा आगामी तीन दिनसम्म कायमै रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ।

    कार्यालय प्रमुख इञ्जिनियर सञ्जयकुमार साहका अनुसार मौसम पूर्वानुमानअनुसार आजदेखि २४ गतेसम्म हिमाल, पहाड र तराईका अधिकांश भू(भागमा मौसम साधरणतया बदली रहनेछ। यस अवधिमा विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

    आज भने पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सोहीअनुसार आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। “आज दिउँसो हिमाली क्षेत्रमा थोरै, पहाडी र तराई क्षेत्रका अधिकांश क्षेत्रमा मेघगर्जन हुने सम्भावना छ । राति पनि हिमाली क्षेत्रमा थोरै तथा पहाडी र तराई क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना रहँदा पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान छ”, कार्यालय प्रमुख साहले भने।

    यस्तै, मंगलबार वर्षाको दायरा केही घट्ने देखिए पनि मौसम पूर्णरूपमा नखुल्ने, हिमाली तथा पहाडी क्षेत्रमा थोरैदेखि धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मङ्गलबार राति भने तीनै भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।