काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको छ।
यस्तै, आज देशभर साधरणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा भने मध्यमदेखि भारी वर्षा हुने महाशाखाले जनाएक छ।
त्यसैगरी, महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग, कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
देशको हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेश र कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ।
राति पनि देशभर साधरणतया बादल लाग्नेछ। कोशी प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम विज्ञानमा २४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ भने १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा र २०० भन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ।
तराई भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन–चट्याङ्ग सहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना छ।