तोमनाथ उप्रेती:
मानव सभ्यताको विकास विज्ञान, प्रविधि, ज्ञान र संस्थागत संरचनाको विस्तारसँगै अघि बढेको छ। मानिसले प्रकृतिका अनेक रहस्य बुझेको छ, दूरीलाई छोट्याएको छ, सूचना आदानप्रदानलाई क्षणिक बनाएको छ र जीवनलाई सहज बनाउने असंख्य उपकरण निर्माण गरेको छ। तर भौतिक प्रगतिसँगै मानव व्यवहारमा शान्ति, सहिष्णुता र आत्मसंयम समान गतिमा विकसित भएको छ भन्न सकिँदैन। आज पनि व्यक्तिगत सम्बन्धदेखि सामाजिक सम्बन्ध, पारिवारिक जीवनदेखि सार्वजनिक बहस र राजनीतिक संवाददेखि डिजिटल संसारसम्म क्रोध, आवेग, असहिष्णुता र आक्रोशको प्रभाव बढ्दो देखिन्छ।
क्रोध मानव जीवनको स्वाभाविक भावनात्मक अवस्था हो। अन्याय, अपमान, असुरक्षा, निराशा, असफलता वा अपेक्षाविपरीत परिस्थितिले मानिसमा आक्रोश उत्पन्न गर्न सक्छ। त्यसैले क्रोध आफैंमा अनैतिक भावना होइन। समस्या त्यतिबेला सुरु हुन्छ, जब क्रोधले विवेकलाई विस्थापित गर्छ र भावनाले निर्णयलाई नियन्त्रण गर्न थाल्छ। क्षणिक आवेगमा बोलेको एउटा कठोर शब्दले सम्बन्धमा वर्षौंको विश्वास भत्काउन सक्छ, एउटा असंयमित निर्णयले संस्थागत क्षति पुर्याउन सक्छ र सामूहिक आक्रोशले हिंसा तथा विभाजनको रूप लिन सक्छ।
क्रोधको सबैभन्दा गम्भीर प्रभाव मानव सम्बन्धमा देखिन्छ। परिवार, मित्रता, कार्यस्थल र सामाजिक सम्बन्ध विश्वास, संवाद र पारस्परिक सम्मानमा टिकेका हुन्छन्। तर जब संवादको स्थान आरोपले, असहमतिको स्थान घृणाले र तर्कको स्थान आवेगले लिन्छ, सम्बन्ध क्रमशः कमजोर हुँदै जान्छ। आधुनिक जीवनको व्यस्तता, प्रतिस्पर्धा, आर्थिक दबाब, सामाजिक अपेक्षा र डिजिटल माध्यमबाट निरन्तर हुने उत्तेजनाले मानिसको धैर्यलाई थप चुनौती दिइरहेको छ।
विशेषतः सामाजिक सञ्जालले क्रोधको अभिव्यक्तिलाई नयाँ आयाम दिएको छ। डिजिटल माध्यममा तत्काल प्रतिक्रिया दिने सुविधा, सूचनाको अपूर्णता, विचारको ध्रुवीकरण र भीड–मनोविज्ञानका कारण सामान्य असहमति पनि आक्रामक विवादमा रूपान्तरण हुन सक्छ। मानिसले प्रत्यक्ष भेटेर भन्न नसक्ने कठोर शब्द पर्दापछाडिबाट सहजै लेख्न सक्छ। यसले डिजिटल संसारमा भाषिक हिंसा, अपमान र घृणालाई सामान्य बनाउने खतरा बढाएको छ।
क्रोधको सामाजिक र नैतिक आयाम पनि छ। जब समाजमा असन्तुष्टि, अन्याय र अविश्वास बढ्छ, सामूहिक क्रोध जन्मिन सक्छ। यस्तो अवस्थामा राज्य, संस्था र नेतृत्वले जनभावनालाई बुझ्दै संवाद, न्याय र उत्तरदायित्वको माध्यमबाट समाधान खोज्नुपर्छ। क्रोधलाई दमन गर्नु मात्र समाधान होइन; त्यसको स्रोत पहिचान गर्नु र त्यसलाई रचनात्मक परिवर्तनको ऊर्जामा रूपान्तरण गर्नु आवश्यक हुन्छ।
त्यसैले क्रोध नियन्त्रणको पहिलो उपाय आत्मचेतना हो। आफू किन रिसाइरहेको छु, मेरो प्रतिक्रियाले अरूलाई कस्तो असर पार्छ र तत्काल प्रतिक्रिया दिनु आवश्यक छ कि छैन भन्ने प्रश्न गर्न सक्नु नै संयमको सुरुआत हो। मौनता, धैर्य, संवाद, सहानुभूति र आत्मअनुशासनले क्रोधलाई विनाशकारी शक्तिबाट रचनात्मक ऊर्जामा बदल्न सक्छ।
रिस, मानव मनको एउटा प्रबल भावना हो, जसले सोच, व्यवहार र सामाजिक सम्बन्धमा गहिरो प्रभाव पार्छ। जब मानिस आक्रोशित हुन्छ, उसको विवेक र धैर्य क्षीण हुन्छन् र निर्णय क्षमतामा असमान्यता आउँछ। रिसले परिवार, समाज र समुदायका सम्बन्धमा समेत अनियन्त्रित प्रभाव पार्छ। साहित्य, दर्शन र मनोविज्ञानले यसलाई मानव चेतनाको चुनौतीको रूपमा व्याख्या गरेको छ, जहाँ स्वभाविक आवेगले दिमाग र हृदयबीचको सन्तुलन भंग गर्न सक्छ।
पूर्वीय दर्शनमा क्रोधलाई नियन्त्रण गर्नु नै सच्चा मानसिक उन्नतिको आधार मानिन्छ। बुद्ध धर्ममा रिसलाई दुःख र मोहको स्रोतको रूपमा व्याख्या गरिएको छ, जसले आत्मिक शान्ति भंग गर्छ। धम्म अनुसार, रिसको प्रभावले संवेदनशीलता र करुणालाई दमन गर्छ र व्यक्ति स्वार्थ, घृणा र द्वेषतिर प्रवृत्त हुन्छ। हिन्दू दर्शनमा पनि, भगवद्गीताले क्रोध र कामका नियन्त्रणविनै कर्म असफल र हानिकारक हुने चेतावनी दिएको छ।
रिस एक तीव्र भावना हो जुन प्रायः व्यक्तिको आन्तरिक असन्तोष, निराशा, र असहमति व्यक्त गर्दा उत्पन्न हुन्छ। यो भावना प्रायः बाह्य कारकहरू जस्तै अवहेलना, अन्याय, वा अपेक्षाअनुसारको परिणाम नपाउनु अदिको कारण उत्पन्न हुन्छ । रिसको उत्पत्ति मुख्यत: डरबाट हुन्छ। जब मानिसले आफूलाई खतरा महसुस गर्छ, आफैंलाई बेवास्ता गरिएको वा असमान व्यवहार गरिएको अनुभव गर्छ तब डर उत्पन्न हुन्छ। यो डरले मानिसलाई असुरक्षित र असन्तुष्ट महसुस गराउँछ, जसको परिणाम स्वरूप रिस उत्पन्न हुन सक्छ। रिस डरको प्रतिक्रिया स्वरूप उत्पन्न हुन्छ, जसले व्यक्तिलाई आफ्नो अस्तित्व, स्वाभिमान, वा इज्जतको हानीको सामना गर्दा आक्रोशमा डुबाउँछ। यस स्थितिमा, व्यक्तिले आफ्नो भावना र नियन्त्रण गुमाउँछ र तीव्र नकारात्मक प्रतिक्रियाहरू दिन सक्छ। रिस मानिसको सोच र कार्यमा नकारात्मक प्रभाव पार्न सक्छ, जसले गर्दा तिनीहरूले अपमानजनक, अप्रिय, वा आवेगपूर्ण निर्णयहरू लिन सक्छन्। यद्यपि, रिस एक प्राकृतिक भावना हो, यसलाई नियन्त्रणमा राख्नु अत्यन्त महत्त्वपूर्ण छ ताकि यसले शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव नपारोस्।
जब व्यक्ति आफैंलाई कमजोर, असुरक्षित, वा असमर्थ महसुस गर्छ, तब उनीहरूको मनमा रिस उत्पन्न हुन सक्छ। यस अवस्थामा, व्यक्तिले आफ्नो डर, अपमान वा असफलता मनमा दबाउन नसक्दा रिसको रूप लिन्छ। रिस, जुन एक तीव्र नकारात्मक भावना हो, अक्सर त्यस व्यक्तिका असुरक्षाका संकेतको रूपमा देखा पर्दछ। रिस एक पीडाले भरिएको अवस्था हो, जसले शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। रिसको अवस्था शारीरिक रुपमा पनि प्रकट हुन्छ। जब मानिस रिसाउँछन्, तब शारीरिक प्रतिक्रियाहरू पनि उत्पन्न हुन्छन् जस्तै रक्तचाप बढ्न, हृदयको धड़कन तीव्र हुनु, र शरीरमा तनाव महसुस हुनु। यस अवस्थामा, व्यक्तिको सोच्ने क्षमता र निर्णय क्षमतामा असर पुग्न सक्छ। रिसको प्रभावले तिनीहरूको व्यवहारलाई अप्राकृतिक बनाइदिन्छ र यो समाजमा नकारात्मक प्रभाव पार्छ।
रिसको लगातार प्रदर्शनले परिवारिक र सामाजिक सम्बन्धलाई पनि क्षति पुर्याउन सक्छ। रिस गर्दा, व्यक्तिले आफ्नो अपमान, बेवास्ता, र असफलताको कारणले आक्रोश व्यक्त गर्छ, जसले गर्दा अन्ततः उनीहरूको मानसिक अवस्था अझ कमजोर बनाइन्छ। यसले शारीरिक र मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउन सक्छ, जसले अन्य समस्याहरूलाई जन्म दिन्छ।
शारीरिक स्तरम, क्रोधित हुँदा, हृदयको दर बढ्छ, रक्तचाप बढ्छ। रिस एक नकारात्मक मनोभावना हो। रिसको बाहिरी तथा व्यावहारिक रूप भनेको कसैमाथि हमला वा आक्रमण गर्नु हो। रिस मूलतः एउटै भए पनि यसका अनेकौं रूप छन्। दुख, द्वेष इत्यादि रिसका विभिन्न रूप छन्। रिसको प्रदर्शन तुरुन्त हुन नसकेमा यो दुःख, द्वेषको रूपमा रहिरहन्छ र व्यक्ति मानसिक एवं शारीरिक रूपले रोगी हुन जान्छ। अधिकांश मानिसलाई धेरथोर रिस उठ्छ नै। कमैले मात्र यसको व्यवस्थापन गर्न सक्छन्।
धेरै रिसाउने बानीले मानिस शारीरिक एवं मानसिक रोगबाट पीडित त हुन्छ। पारिवारिक समस्या पनि पर्छ। करियरमा असर पर्छ। बढी रिसाउने मानिसलाई कसैले पनि मन पराउँदैन। पछि गएर ऊ एक्लै हुन जान्छ।रिस लाग्दा मानिसको सोच्ने र बुझ्ने क्षमता हराएर समाजको नजरबाट खसेको हुन्छ। रिसको मुख्य कारण व्यक्तिगत वा सामाजिक घृणा हो।उपेक्षित, घृणित र तल्लो ठानिएका व्यक्तिहरू बढी रिसाउँछन्। किनभने तिनीहरू रिसजस्ता नकारात्मक क्रियाकलापहरू मार्फत समाजलाई आप्mनो अस्तित्व देखाउन चाहन्छन्।आक्रोशको उद्देश्य कुनै व्यक्ति वा समाजबाट मायाको अपेक्षा गर्नु पनि हो।
रिस मानिसको लागि हानिकारक छ।कुनै पनि भावनालाई अत्यधिक रूपमा व्यक्त गर्नु पनि हानिकारक छ । यी भावनाहरू मध्ये एक रिस हो। रिस मानिसको शत्रु हो। प्रायः मानिसहरू, जब तिनीहरू धेरै रिसाउँछन्, तिनीहरूले पछि पछुताउने कुरा बोल्छन् वा गर्छन्। रिसले अक्सर सम्बन्ध बिगार्छ । आमाबाबु आफ्ना छोराछोरीसँग अत्याधिक रिसाउनु, दम्पतीहरू एकअर्कासँग अत्यधिक रिसाउनु वा कार्यालयमा उनीहरूका सहकर्मीहरू एकअर्कासँग अत्यधिक रिसाउनु घातक हुन सक्छ।रिसको कारण पेट पोल्ने समस्या हुन्छ र बढी रिसाउने व्यक्तिलाई ग्यास्ट्रिक, अल्सरसमेत हुन सक्छ। रिसाउँदा शरीरबाट रसायनतŒव (हार्मोन्स) निस्किन्छन्। यी रसायन तत्त्वले मुटुको गतिलाई अनियमित पार्नुको साथै रक्तचापलाई पनि बढाउँछ। अत्यधिक रिसाएको बेला मुटुमा रक्तसञ्चार गर्ने नलीहरू खुम्चने हुँदा हृदयाघात पनि हुन सक्छ।
विभिन्न अनुसन्धानले के देखाएको छ भने धैरे रिस गर्ने व्यक्तिलाई छालासम्बन्धी रोगहरू हुने सम्भावना हुन्छ। रिसलाई दबाउन खोजेमा टाउको दुख्ने, जिउ काम्ने तथा दुख्ने पनि हुन सक्छ।रिसले मानसिक तनाव दिँदा कसैकसैलाई बढी खानुपर्ने हुन्छ भने कसैलाई खानै मन नलाग्ने हुन्छ ।केही रिसाहा प्रवृत्तिका व्यक्तिहरू रिसलाई शान्त पार्न या असन्तुष्टिलाई एकछिन भए पनि बिर्सन रक्सी वा गाँजा, भाङ पिउनतिर लाग्छन्।रिस किन उठ्ने गर्छ, त्यसको मूलकारण पत्ता लगाउनुको सट्टा रिसलाई दबाउने प्रयास गरियो भने रिस आफैंतिर फर्किन्छ। आफूलाई बढी नै व्यस्त भएको देखाउने, अफिसमा अबेरसम्म बस्ने र काम बढी गर्ने प्रयास गर्दछन्।रिसलाई नियन्त्रण गर्न सकेन भने अरूलाई गालीगलौज झगडा र मारपिटमा पनि लाग्न सक्छ ।रिसको कारणले गर्दा उग्र भएको अवस्थामा हाम्रो निर्णय गर्ने क्षमतमा र विवेकमा क्षति पुग्न सक्छ जस्ले गर्दा अव्यवहारिक, तर्कहीन बोली र व्यवहार प्रस्फुटीत हुन सक्छ। रिस उठेको अवस्थामा हामीले प्रभावकारी ढंगले आफ्नो विचार ब्यक्त गर्न अथवा सन्चार गर्न सक्दैनौं जसले गर्दा पारस्परिक सम्बन्धमा नकरात्मक असर पर्न सक्छ।
प्रायः जसो परिस्थिति अनुसार रिस ब्यक्त गर्नु स्वस्थवर्धक प्रतिकृया नै हुन सक्छ। तर बारम्बार अत्यधिक मात्रामा र धेरै समयसम्म रिस उठ्ने, उग्र हुने, रिसको अभिव्यक्ति नियन्त्रण बाहिर जान थाल्यो भने यस्ले हाम्रो मानसिकतामा र शरीरमा प्रतिकूल असर पुर्याउन सक्छ। यसले गम्भीर, विनाशकारी समस्याहरू सिर्जना गर्न सक्छ। काममा, ब्यवहारमा र आपसी सम्बन्धमा प्रतिकूल असर पारी जीवनको स्तरलाई कमजोर पार्न सक्छ।
रिस उठेको बेला म रिसाइरहेको छु भन्ने कुरा मान्न तयार हुने हो भने रिस स्वतः घट्छ। रिसको झोंकमा आँखा देखिन्न भन्ने गरे पनि रिस उठेको बेला आँखा देख्नु नै स्वीकार गर्नु आँखा देख्नु हो। रिस उठेको बेला अंकलाई उल्टो गिन्ती गन्नु उत्तम हुन्छ। यसो गर्दा सोचाइबाट ध्यान अन्यत्र जान्छ र रिसको आवेग कम हुँदै जान्छ। बिस्तारै केहीबेर लामो श्वास तान्नले पनि रिस कम गर्न सकिन्छ। रिस कम भएपछि आफ्नो सबैभन्दा मिल्ने साथीलाई रिस उठेको कारणबारे भन्नु राम्रो हुन्छ, मन हल्का हुन्छ। रिस उठेको बेला आवेगमा आएर कुनै पनि निर्णय लिनु हुँदैन।
दैनिक ध्यान गर्नाले मन र मस्तिष्क शान्त हुन्छ। प्राणायाम, प्रार्थना, पूजापाठ पनि मन लगाएर गर्ने। पूर्णरूपमा मन लगाइएन भने फाइदा गर्दैन। पारिवारिक कलह, मनमुटाव र झगडा हुँदा परिवारका सदस्यहरूले एकअर्काको मन दुखाएका हुन्छन्। गहिरो चोट पु¥याएका हुन सक्छन्। एकले अर्कालाई माफ गर्न सकिएन भने मन दुखाएका कुरालाई सधैं सम्झिने भित्रभित्रै रिसाउने हुन्छन्। माफ गरिदियो भने मन हल्का भएको अनुभव हुन्छ।रिसाएको बेला मौन रहेका वेला रिसमा गलत शब्द प्रयोग गर्नबाट पनि बच्न सकिन्छ।
मानव व्यवहारमा रिसको परिणाम केवल आन्तरिक मानसिक अशान्तिमा सीमित हुँदैन। रिसले सामाजिक मेलमिलापमा बाधा पुर्याउँछ, किनकि आक्रोशित व्यक्ति स्वतन्त्र विचार र सहिष्णुताप्रति संवेदनशील रहँदैन। पारिवारिक, सामाजिक र कार्यस्थलका सम्बन्धमा अनियन्त्रित रिसले द्वन्द्व, कलह र असन्तोष सिर्जना गर्छ। मनोवैज्ञानिक अनुसन्धानले देखाएको छ कि लगातार क्रोधित रहने व्यक्तिहरूमा उच्च रक्तचाप, हृदय रोग र मानसिक तनावको संभावना बढी हुन्छ। यसले दीर्घकालीन रूपमा समाजमा असामाजिक प्रवृत्ति र द्वेषको वातावरण निर्माण गर्न सक्छ।
समाजमा रिसको सकारात्मक प्रबंधनले मात्र स्वास्थ्य र सामाजिक स्थायित्व कायम राख्न सकिन्छ। शिक्षामा भावनात्मक बुद्धिमत्ता, आत्म–नियन्त्रण र सहानुभूति विकास गर्दा मानिसले आफ्नो रिसलाई उत्पादक क्रियामा रूपान्तरण गर्न सक्छ। उदाहरणका लागि, गम्भीर बहस वा मतभेदमा संयमित प्रतिक्रिया जनाउने क्षमता केवल व्यक्तिगत शान्ति होइन, सामाजिक मेलमिलापको पनि आधार हो।
मानव सभ्यताको वास्तविक प्रगति मानिसले कति शक्तिशाली प्रविधि निर्माण गर्यो भन्नेमा मात्र होइन, उसले आफ्नो आक्रोशमाथि कति विवेकपूर्ण नियन्त्रण गर्न सक्यो भन्नेमा पनि निर्भर गर्छ। क्रोधको ज्वाला निभाउन बाह्य साधनभन्दा पहिले चेतनाको दीप बाल्नुपर्छ। मानवताको भविष्य अन्ततः हाम्रो हातमा रहेको त्यही संयम, करुणा र विवेकमा निर्भर छ। रिस मानव व्यवहारको स्वाभाविक अंश भए पनि यसको नियन्त्रण, विवेकपूर्ण प्रबंधन र मानसिक चेतनाले मात्र व्यक्तिलाई सशक्त, समाजलाई समृद्ध र सम्बन्धलाई स्थायी बनाउन सक्छ। रिसले चेतनामा अन्धकार फैलाउँछ भने संयम र विवेकले उज्यालो यात्रा सुरु गर्छ। मानवता र समाजिक स्थायित्वको लागि आवश्यक छ कि हामी रिसलाई स्वीकार गरौं, तर यसलाई नियन्त्रण र सकारात्मक दिशामा मार्गदर्शन गरौं।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन्।)