वरिष्ठताको फेरबदलपछि भट्टले पाए सचिवको जिम्मेवारी, कोशीको प्रशासनिक नेतृत्व सम्हाल्ने - Chaitanya News
  • 2026-09-03
  • 17:14:50
  • बिहिबार,भाद्र १८, २०८३
  • वरिष्ठताको फेरबदलपछि भट्टले पाए सचिवको जिम्मेवारी, कोशीको प्रशासनिक नेतृत्व सम्हाल्ने

    वरिष्ठताको फेरबदलपछि भट्टले पाए सचिवको जिम्मेवारी, कोशीको प्रशासनिक नेतृत्व सम्हाल्ने

    काठमाडौँ– सचिव बढुवाको सिफारिसमा पटक–पटक भएको फेरबदलपछि सहसचिव नारायणप्रसाद भट्ट राजपत्रांकित विशिष्ट श्रेणीको सचिवमा बढुवा भएका छन्। सरकारले उनलाई कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवको जिम्मेवारी दिएको छ।

    भट्टलाई नेपाल प्रशासन सेवा, समूहीकरणतर्फको सचिव पदमा बढुवा गर्दै कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको हो। उनी पछिल्लो पटक सचिव बढुवाका लागि गरिएको सिफारिसमा पहिलो नम्बरमा थिए।

    सचिव बढुवाको पछिल्लो प्रक्रिया भने वरिष्ठता क्रम परिवर्तन हुँदै अघि बढेको थियो। सुरुमा श्रीकृष्ण नेपाल पहिलो, भट्ट दोस्रो र विनोदबहादुर कुँवर तेस्रो नम्बरमा सिफारिस भएका थिए। तर नेपाल ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि भट्ट पहिलो नम्बरमा पुगे।

    नेपाल अवकाशमा गएसँगै भट्ट पहिलो र कुँवर दोस्रो नम्बरमा उक्लिए। रिक्त एक सचिव पदका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्थाअनुसार उत्तरकुमार खत्रीलाई तेस्रो नम्बरमा समावेश गरिएको थियो।

    यसअघि पनि सचिव बढुवाको सिफारिसमा लगातार परिवर्तन भएको थियो। कमलप्रसाद भट्टराई, इन्दु घिमिरे र श्रीकृष्ण नेपाल हुँदै इन्दु घिमिरे, श्रीकृष्ण नेपाल र नारायणप्रसाद भट्टसम्म सिफारिस क्रम फेरिएको थियो।

    कमलप्रसाद भट्टराई सचिवमा बढुवा भएपछि रिक्त पदमा इन्दु घिमिरे पहिलो, श्रीकृष्ण नेपाल दोस्रो र नारायणप्रसाद भट्ट तेस्रो नम्बरमा सिफारिस भएका थिए। घिमिरे सचिवमा बढुवा भएपछि नेपाल पहिलो नम्बरमा पुगेका थिए।

    तर नेपालले सचिवमा बढुवा हुनुअघि नै अनिवार्य अवकाश पाएपछि भट्टको पालो आएको हो। यससँगै पछिल्लो सिफारिसमा पहिलो नम्बरमा रहेका भट्टले सचिवको जिम्मेवारी पाएका छन्।

    कोशी प्रदेशको प्रमुख सचिवका रूपमा भट्टले प्रदेश सरकारको प्रशासनिक नेतृत्व सम्हाल्नेछन्।