ग्यास आपूर्ति प्रभावित भएपछि घरायसी उपभोक्तालाई प्राथमिकता, होटल, रेस्टुरेन्ट लगायत व्यवसायीले आफैँ ढुवानी गर्नुपर्ने - Chaitanya News
  • 2026-09-02
  • 17:01:29
  • बुधबार,भाद्र १७, २०८३
  • ग्यास आपूर्ति प्रभावित भएपछि घरायसी उपभोक्तालाई प्राथमिकता, होटल, रेस्टुरेन्ट लगायत व्यवसायीले आफैँ ढुवानी गर्नुपर्ने

    ग्यास आपूर्ति प्रभावित भएपछि घरायसी उपभोक्तालाई प्राथमिकता, होटल, रेस्टुरेन्ट लगायत व्यवसायीले आफैँ ढुवानी गर्नुपर्ने

    काठमाडौँ– राजमार्गमा आएको पहिरो तथा सडक अवरोधका कारण खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि नेपाल आयल निगमले घरायसी उपभोक्तालाई प्राथमिकता दिने व्यवस्था गरेको छ। होटल, रेस्टुरेन्टलगायत व्यावसायिक प्रयोजनका लागि ग्यास आवश्यक पर्ने व्यवसायीले भने उद्योगबाट आफैँ ढुवानी गरेर ल्याउनुपर्ने भएको छ।

    सडक अवरोधका कारण काठमाडौँ उपत्यकामा ग्यास आपूर्ति गर्ने २२ वटा उद्योगमध्ये १८ वटा उद्योगमा ग्यास बुलेट पुग्न सकेको छैन। धादिङ, काभ्रे र काठमाडौँमा रहेका ती उद्योगमा बुलेट पुग्न नसकेपछि उपत्यकाको ग्यास आपूर्ति प्रभावित भएको हो।

    नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा प्रतिबन्ध नलगाइएको स्पष्ट पारे। उनका अनुसार अहिलेको विषम परिस्थितिमा सर्वसाधारणको भान्सामा ग्यासको अभाव हुन नदिन घरायसी उपभोक्तालाई पहिलो प्राथमिकता दिइएको हो।

    ‘व्यावसायिक प्रयोजनमा रोक लगाइएको होइन, तर अहिलेको विषम परिस्थितिमा सर्वसाधारणको भान्सा प्रभावित नहोस् भनेर प्राथमिकता घरायसी उपभोक्तालाई दिइएको हो,’ ठाकुरले भने।

    उनका अनुसार व्यावसायिक प्रयोजनका लागि ग्यास आवश्यक पर्ने होटल तथा रेस्टुरेन्ट व्यवसायीले काठमाडौँका ब्रान्डका सिलिन्डर रिफिलिङ हुने तराईका उद्योगबाट आफैँ ढुवानी गरेर ग्यास ल्याउन सक्नेछन्।

    यता, काठमाडौँ उपत्यकाका उद्योगमा रहेका खाली सिलिन्डरहरू ट्रकमार्फत तराईका बोटलिङ प्लान्टमा पठाएर रिफिलिङ गरी पुनः उपत्यका भित्र्याउने तयारी भइरहेको निगमले जनाएको छ।

    सडक अवरोध तत्काल हट्न नसकेमा उपत्यकामा एलपी ग्यासको नियमित आपूर्ति थप प्रभावित हुन सक्ने भएकाले निगमले उपलब्ध ग्यासलाई प्राथमिकताका आधारमा वितरण गर्ने व्यवस्था मिलाएको हो।