रसुवा बाढीबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित - Chaitanya News
  • 2026-09-02
  • 16:49:32
  • बुधबार,भाद्र १७, २०८३
  • रसुवा बाढीबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित

    रसुवा बाढीबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित

    काठमाडौँ– रसुवामा भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीको अवस्थाबारे प्रतिनिधि सभाले विशेष प्रस्ताव पारित गरेको छ। बुधबार बसेको सदनको बैठकले सभामुख डीपी अर्यालले प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको हो।

    बाढीको प्रभाव रसुवाको टिमुरे, स्याफ्रुवेशी र बेत्रावती हुँदै नुवाकोटको त्रिशूली बजार तथा देवीघाटसम्म देखिएको छ। धादिङ, चितवन र गोरखाका त्रिशूली नदी आसपासका तटीय क्षेत्रसमेत विपद्बाट प्रभावित भएका छन्।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्रस्तुत विवरणअनुसार बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार ११४ जनाको शव फेला परेको छ। तीमध्ये रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जनाको शव भेटिएको हो।

    विपद्को घटनापछि ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। बाढीबाट २९२ जना घाइते भएका छन् भने प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनालाई उद्धार गरिएको छ।

    यसैबीच, बाढीबाट सिर्जित अवस्थाबारे प्रधानमन्त्री बालेन शाहले बुधबार प्रतिनिधिसभालाई जानकारी गराएका थिए। प्रधानमन्त्रीको ब्रिफिङ र विपद्को समग्र अवस्थाबीच प्रतिनिधिसभाले विशेष प्रस्तावमार्फत घटनाप्रति आफ्नो ध्यान केन्द्रित गरेको हो।