चैतन्य संवादमा लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवाको जनस्वास्थ्य अधिकृत पदमा एक सिटमा एक नम्बरमा सफल हुनुभएका दिनेश राज न्यौपानेसँग लोकसेवा तयारी, प्रतिस्पर्धा, अध्ययन रणनीति, अनुशासन र सफलताको यात्राबारे विशेष संवाद गरेका छौँ।
जुम्लादेखि नेपालगन्ज, काठमाडौँ हुँदै भारतसम्मको शैक्षिक यात्रा तय गर्नुभएका न्यौपानेले फार्मेसीपछि जनस्वास्थ्यमा स्नातकोत्तर गर्नुभएको हो। सीमित समय र एक मात्र अवसरबीच लोकसेवामा सफलता हासिल गर्न उहाँले अपनाएको अध्ययन रणनीति, उत्तर लेखन अभ्यास, समय व्यवस्थापन र आत्मविश्वासबारे यस संवादमा अनुभव साझा गर्नुभएको छ।
साथै, जनस्वास्थ्य अधिकृतका रूपमा उहाँको जिम्मेवारी, रोग रोकथाम, औषधिको जथाभावी प्रयोग, स्वस्थ जीवनशैली, मानसिक स्वास्थ्य तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचलगायतका विषयमा पनि उहाँसँग गहन कुराकानी गरिएको छ। प्रस्तुत छ: जनस्वास्थ्य अधिकृत दिनेशराज न्यौपानेसँग चैतन्य खबरको विशेष ‘चैतन्य संवाद’।
१– हजुरले लोकसेवा आयोगको परीक्षामा जनस्वास्थ्य अधिकृत पदमा एक सिटमा एक नम्बरमा सिफारिस भएर सफलता हासिल गर्नुभएको छ। यो सफलताको यात्रा सुरु गर्नुभन्दा अगाडि हजुरको पारिवारिक पृष्ठभूमि र शैक्षिक यात्राबारे केही जानकारी गराइदिनुस् न।
मेरो नाम दिनेशराज न्यौपाने हो। मेरो जन्मघर जुम्ला हो। जुम्लामा जन्मिए पनि मैले त्यहाँ धेरै समय बस्न पाइनँ। यूकेजीसम्मको अध्ययन गरेपछि सानै उमेरमा परिवारसँगै नेपालगन्ज गएँ। त्यसपछि कक्षा १० सम्मको अध्ययन नेपालगन्जमै पूरा गरेँ। प्लस टु अध्ययनका लागि भने काठमाडौँ आएँ।
मेरो पारिवारिक पृष्ठभूमिको कुरा गर्दा मेरा बुबा र आमा दुवै सरकारी सेवामा हुनुहुन्छ। उहाँहरूको सेवाप्रतिको लगाव र जिम्मेवारीबोधले पनि मेरो सोच र भविष्यको लक्ष्य निर्माणमा प्रभाव पारेको छ। प्लस टु अध्ययन पूरा गरेपछि म उच्च शिक्षाका लागि भारतको कर्नाटकस्थित बैङ्गलोर गएँ। त्यहाँ मैले छ वर्ष लगाएर फर्माडी अर्थात् औषधि विज्ञानमा चिकित्सकको उपाधि अध्ययन गरेँ। बैङ्गलोरको वातावरण अध्ययनका लागि निकै राम्रो थियो। सुरुमा नयाँ ठाउँ, नयाँ भाषा र फरक परिवेशमा बस्दा केही चुनौतीहरू पनि आए।
२– जुम्लादेखि नेपालगन्ज, काठमाडौँ हुँदै भारतसम्मको तपाईंको शैक्षिक यात्रा रह्यो। यी फरक–फरक परिवेशमा आफूलाई कसरी अनुकूल बनाउनुभयो रु अध्ययनका क्रममा कस्तो भिन्नता र अनुभव पाउनुभयो ?
म जुम्लामा युकेजीसम्म मात्र पढेको थिएँ। सानैमा नेपालगन्ज आएकाले जुम्लाको खासै अनुभव र सम्झना छैन। नेपालगन्जमा कक्षा १० सम्म पढेँ। त्यसपछि प्लस टु गर्न काठमाडौँ आएँ र उच्च शिक्षाका लागि भारत गएँ।
नेपाल र भारतको शिक्षा प्रणालीमा केही भिन्नता पाएँ। नेपालमा सैद्धान्तिक ज्ञानमा बढी जोड दिइन्छ भने भारतमा व्यावहारिक ज्ञानलाई पनि प्राथमिकता दिइन्छ। भारतमा अध्ययन गर्दा व्यवहारिक ज्ञान हासिल गर्ने राम्रो अवसर पाएँ।
सुरुमा भाषा, मौसम, भौगोलिक परिवेश र खानपानका कारण केही कठिनाइ भए पनि समयसँगै त्यहाँको वातावरणमा घुलमिल हुँदै गएँ। मैले कर्नाटकको बैङ्गलुरुमा अध्ययन गरेको थिएँ, जहाँको मौसम पनि निकै राम्रो थियो।
३– प्लस टुपछि फार्मेसी पढ्ने सोच कसरी आयो ?
सानैदेखि फार्मेसी पढ्ने सोच थिएन। प्लस टु सकेपछि के पढ्ने भन्ने सोचिरहेको बेला एकजना दाइले फार्मेसी राम्रो क्षेत्र भएको र भविष्यमा यसको माग बढ्ने भन्दै सल्लाह दिनुभयो। मेरा दुईजना साथी पनि भारत जाने भएपछि म पनि उनीहरूसँगै फार्मेसी अध्ययनका लागि भारत गएँ।
४– फार्मेसीमा छ वर्षे अध्ययन पूरा गरेपछि जनस्वास्थ्यमा स्नातकोत्तर गर्ने निर्णय कसरी लिनुभयो ?
फार्मेसीको चौथो र पाँचौँ वर्षमा चिकित्सकीय फार्मेसी तथा सामुदायिक फार्मेसीजस्ता विषय अध्ययन गर्ने क्रममा समुदायसँग प्रत्यक्ष रूपमा जोडिने अवसर पाएँ। मानिसहरूका समस्या बुझ्ने र उनीहरूसँग काम गर्ने क्रममा मलाई यस क्षेत्रमा विशेष रुचि र आत्मविश्वास जाग्यो। फार्मेसीले मुख्य रूपमा व्यक्तिको स्वास्थ्यलाई केन्द्रित गर्छ भने जनस्वास्थ्यले समग्र समुदायको स्वास्थ्यलाई समेट्छ। त्यसैले समुदायसँग जोडिएर काम गर्न जनस्वास्थ्य मेरो लागि उपयुक्त क्षेत्र हो भन्ने लाग्यो। साथै, दिदी–भिनाजुको मार्गदर्शन र मेरो व्यक्तिगत रुचिका कारण फार्मेसीपछि काठमाडौँ फर्किएर जनस्वास्थ्यमा स्नातकोत्तर गर्ने निर्णय लिएँ।
५– क्लिनिकल फार्मेसी र जनस्वास्थ्यको संयोजन नेपालमा निकै कम पाइन्छ। यी दुई विषयको अध्ययनले जनस्वास्थ्य क्षेत्रमा काम गर्न तपाईंलाई कसरी सहयोग गरेको छ ?
फार्मेसी मुख्यतः व्यक्तिगत बिरामी, औषधिको सही प्रयोग र उपचारमा केन्द्रित हुन्छ भने जनस्वास्थ्यले समग्र समुदाय र रोगको रोकथाममा जोड दिन्छ। मैले फार्मेसीबाट उपचारात्मक पक्ष सिकेको थिएँ भने जनस्वास्थ्य अध्ययनले रोग लाग्नुअघि नै सचेतना, परामर्श र रोकथामका उपायहरूबारे बुझ्ने अवसर दियो।
यी दुवै पक्षलाई सँगसँगै अघि बढाउँदा उपचारसँगै रोग रोकथाममा पनि प्रभावकारी रूपमा काम गर्न सकिन्छ। यसले समग्र स्वास्थ्य परिणामलाई अझ राम्रो बनाउन सहयोग गर्छ।
६– धेरैजसो मानिसहरू लोकसेवाको एक सिट विज्ञापन देख्ने बित्तिकै डराउँछन् र आवेदन नै नदिने वा नाम निस्किँदैन भन्ने सोच्छन्। तपाईंलाई चाहिँ लोकसेवामा पहिलो प्रयासमै सफलता हासिल गर्छु र नाम निकाल्छु भन्ने आँट कसरी आयो ?
सुरुमा मेरो लोकसेवातर्फ त्यति रुचि थिएन। विदेश जाने र अनुसन्धान गर्ने सोचमा थिएँ। पछि मेरी साथी करिश्मा भण्डारीले लोकसेवाका लागि धेरै प्रेरित गर्नुभयो। त्यस्तै, जनस्वास्थ्य अधिकृत निर्दोष घर्ति मगर सरको काम गर्ने शैली, व्यक्तित्व र सरकारी सेवाप्रतिको समर्पणले पनि मलाई प्रभावित गर्यो।
सरकारी सेवा नै समुदायमा प्रत्यक्ष रूपमा काम गर्ने राम्रो माध्यम हुन सक्छ भन्ने महसुस भएपछि मैले लोकसेवामा जाने निर्णय गरेँ। एक सिट देख्दा केही डर त लागेको थियो, तर ‘गर्छु र गरेरै छाड्छु’ भन्ने आत्मविश्वासका साथ तयारीमा लागेँ।
७– पहिलो प्रयासमै सफलता प्राप्त गर्न तपाईंको तयारी र अध्ययनको दिनचर्या कस्तो थियो ?
मेरो प्रत्यक्ष रूपमा कुनै मेन्टर हुनुहुन्नथ्यो। म आफैँ अध्ययन गर्थें। तर मेरा सिनियरहरू र करिश्मा जीबाट आवश्यक मार्गदर्शन र सहयोग पाइरहेको थिएँ। उत्तर लेख्ने शैली सुधार्न मैले सङ्घ लोकसेवा आयोगका अन्तर्वार्ता, चैतन्यका सामग्री तथा विभिन्न संस्थाका पोडकास्टहरू नियमित हेर्ने गर्थें। मास्टर्स पढ्दादेखि नै मेरो लेखन सीप राम्रो भएकाले त्यसलाई परीक्षाको तयारीमा पनि प्रयोग गरेँ। निरन्तर अध्ययन, विभिन्न सामग्रीको अवलोकन र उत्तर लेख्ने अभ्यास नै मेरो तयारीको मुख्य आधार बन्यो। यसले पहिलो प्रयासमै सफलता हासिल गर्न ठूलो सहयोग गर्यो।
८– लोकसेवा आयोगको परीक्षामा अङ्ग्रेजी माध्यमबाट लेख्दा मात्र सजिलै नाम निस्कन्छ भन्ने धारणा छ। के यो सत्य हो ?
यो केवल एउटा भ्रम हो। जनस्वास्थ्यसम्बन्धी धेरैजसो अध्ययन सामग्री अङ्ग्रेजीमा हुने भएकाले धेरै परीक्षार्थीले अङ्ग्रेजीमै लेख्ने गर्छन्। तर परीक्षामा सफलता हासिल गर्न माध्यमभन्दा पनि प्रश्नले मागेको विषयवस्तु कति राम्रोसँग बुझेको छ र त्यसलाई कसरी प्रस्तुत गरिएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ।
अङ्ग्रेजीमा लेख्दा केही कुरा छोटकरीमा लेख्न सकिने भएकाले समय बचत हुन सक्छ। नेपालीमा लेख्दा त्यही कुरा व्याख्या गर्न केही बढी समय लाग्न सक्छ। तर अन्ततः विषयवस्तुको ज्ञान, उत्तरको प्रस्तुति र समय व्यवस्थापन नै मुख्य कुरा हुन्।
९– लोकसेवा तयारीका लागि संविधान, नीति–नियमलगायतका विषय कसरी अध्ययन गर्नुभयो ?
मेरो तयारीका लागि करिब डेढ महिनाको मात्र समय थियो। त्यसैले छुट्टै नोट बनाएर अध्ययन गर्ने समय थिएन। मैले विभिन्न पीडीएफ, सफल प्रकाशनका सामग्री र पावरपोइन्ट प्रस्तुतीकरणहरू अध्ययन गरेँ। प्रश्न आएमा कुन ढाँचामा उत्तर लेख्ने भन्ने विषयमा छोटो खाका बनाएर अभ्यास गर्थें।
पहिलो पत्रको वस्तुगत तयारीका लागि मुकेश अधिकारी सरको सफल प्रकाशनबाट प्रकाशित पुस्तक प्रयोग गरेँ। दोस्रो पत्रका लागि भने छोटो समयको तयारी मात्र पर्याप्त हुँदैन। त्यसका लागि स्नातक र स्नातकोत्तर तहदेखि नै विषयवस्तुको आधारभूत अवधारणा स्पष्ट हुनुपर्छ। पहिलेदेखि नै विषय राम्रोसँग बुझेको अवस्थामा छोटो समयको तयारीले पनि राम्रो नतिजा ल्याउन सकिन्छ।
१०– जनस्वास्थ्यको वास्तविक अवधारणा के हो ?
जनस्वास्थ्यको उद्देश्य बिरामी भएपछि उपचार गर्नु मात्र होइन, मानिसलाई बिरामी हुनै नदिने वातावरण निर्माण गर्नु हो। त्यसैले यसले स्वास्थ्य प्रवर्द्धन र रोगको रोकथाममा विशेष जोड दिन्छ।
मानिस बिरामी भएर औषधि सेवन गर्नुपर्ने अवस्था आएपछि औषधिको सम्भावित दुष्प्रभावसँगै आर्थिक र शारीरिक भार पनि थपिन्छ। त्यसैले रोग लाग्नुअघि नै जनचेतना फैलाउने, स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने र जोखिम न्यूनीकरण गर्ने काम जनस्वास्थ्यको महत्वपूर्ण पक्ष हो।
११– डाक्टरको सल्लाहबिना औषधि खाने प्रवृत्तिले जनस्वास्थ्यमा कस्तो असर पारिरहेको छ ?
नेपालमा डाक्टरको सल्लाहबिना सिटामोल, दुखाइ कम गर्ने औषधि, ग्यास्ट्रिकका औषधि तथा एन्टिबायोटिक प्रयोग गर्ने प्रवृत्ति देखिन्छ। सामान्य अवस्थामा सिटामोल सुरक्षित मानिए पनि अत्यधिक वा लामो समयसम्म सेवन गर्दा कलेजोमा गम्भीर असर पर्न सक्छ।
त्यस्तै, एमोक्सिसिलिनजस्ता एन्टिबायोटिक जथाभावी प्रयोग गर्दा एन्टिबायोटिक प्रतिरोधको समस्या बढ्न सक्छ। ग्यास्ट्रिकका केही औषधि लामो समयसम्म अनियन्त्रित रूपमा सेवन गर्दा भिटामिन बी–१२ र म्याग्नेसियमको कमी हुन सक्छ। दुखाइ कम गर्ने केही औषधिको अनियन्त्रित प्रयोगले मिर्गौलामा असर पार्नुका साथै पेटमा समेत समस्या निम्त्याउन सक्छ।
त्यसैले सामान्य औषधि भए पनि लामो समयसम्म वा नियमित रूपमा सेवन गर्नुपर्दा चिकित्सक वा सम्बन्धित स्वास्थ्यकर्मीको उचित सल्लाह लिन आवश्यक छ। औषधि आफैँ किनेर जथाभावी सेवन गर्ने बानीभन्दा रोगको कारण पहिचान गरी उचित उपचार र आवश्यक परे औषधि प्रयोग गर्ने संस्कार विकास गर्नुपर्छ।
१२– नेपाली समाजमा बिहान र बेलुका दुवै समय भात खाने चलन छ। यसले कार्बोहाइड्रेटको मात्रा बढाएर मधुमेह र मोटोपनजस्ता समस्या बढाइरहेको अवस्थामा खानपानलाई कसरी सन्तुलित गर्न सकिन्छ ?
खानपानको विषयमा मानिसलाई मुख्यतः दुई समूहमा हेर्नुपर्छ। पहिलो, पहिले नै मधुमेह, उच्च रक्तचाप वा अन्य स्वास्थ्य समस्या भएका व्यक्तिहरूले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ। कति कार्बोहाइड्रेट, प्रोटिन र अन्य पोषक तत्त्व लिने भन्ने विषयमा चिकित्सक वा पोषण विशेषज्ञको सल्लाहअनुसार खानुपर्छ।
दोस्रो, स्वस्थ व्यक्तिले खाना नै छोड्ने वा अत्यधिक प्रतिबन्ध लगाउने होइन। मुख्य कुरा आफूले खाने खानाको मात्रा र पोषणलाई ध्यान दिनु हो। अहिले प्रविधिको विकासका कारण आफूले खाने खानामा कति क्यालोरी र पोषक तत्त्व छन् भन्ने जानकारी लिन पनि सहज भएको छ। त्यसैले आवश्यकताअनुसार खाना नापेर खाने, मात्रा नियन्त्रण गर्ने र सन्तुलित आहारमा जोड दिनुपर्छ।
१३– अहिले गाउँदेखि सहरसम्म शारीरिक श्रम र हिँडडुल घट्दै गएको छ। यसले स्वास्थ्यमा कस्तो असर पारिरहेको छ ?
अहिले नेपालमा तीव्र रूपमा सहरीकरण र जनसांख्यिकीय परिवर्तन भइरहेको छ। यसले मानिसलाई धेरै सुविधा दिएको छ, तर अर्कोतर्फ शारीरिक गतिविधि घटाएर निष्क्रिय जीवनशैलीतर्फ पनि धकेलेको छ।
पहिले मानिसहरू दैनिक कामका लागि धेरै हिँड्ने र शारीरिक श्रम गर्ने गर्थे। अहिले छोटो दूरीमा समेत सवारीसाधन प्रयोग गर्ने प्रवृत्ति बढेको छ। शारीरिक गतिविधि घट्दै जाँदा मोटोपन, मधुमेह, उच्च रक्तचापलगायत दीर्घकालीन रोगको जोखिम पनि बढ्दै गएको छ।
१४– बिरामी भएपछि मात्र उपचार खोज्ने प्रवृत्ति छ। रोगबाट बच्न दैनिक जीवनमा के–कस्ता सावधानी अपनाउनुपर्छ ?
बिरामी भएपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु राम्रो हो। त्यसका लागि नियमित स्वास्थ्य परीक्षण, दैनिक व्यायाम, हिँडडुल वा योग गर्ने बानी बसाल्नुपर्छ।
खानपानमा पनि कार्बोहाइड्रेटको मात्रा नियन्त्रण गर्दै आवश्यकताअनुसार प्रोटिन तथा अन्य पोषक तत्त्व समावेश गर्नुपर्छ। स्थानीय स्वास्थ्य संस्था तथा स्वास्थ्य शिविरहरूले सञ्चालन गर्ने स्वास्थ्य परीक्षण र रोग पहिचानसम्बन्धी कार्यक्रममा पनि सहभागी हुनुपर्छ।
सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनु हो। स्वास्थ्यप्रति सचेत हुने र स्वस्थ जीवनशैली अपनाउने बानीले धेरै रोगको जोखिम घटाउन सकिन्छ।
१५– पानी पिउने विषयमा पनि मानिसहरू पर्याप्त सावधानी अपनाउँदैनन्। पानी उमालेर वा प्रशोधन गरेर पिउनु कत्तिको आवश्यक छ ?
पानी सधैँ उमालेर वा राम्रोसँग प्रशोधन गरेर पिउनु सुरक्षित हुन्छ। सफा देखिने पानीमा पनि नाङ्गो आँखाले देख्न नसकिने सूक्ष्मजीव र कीटाणु हुन सक्छन्।
विशेषगरी ई–कोलाईजस्ता हानिकारक जीवाणु पानीमा हुन सक्छन्, जसले विभिन्न पानीजन्य रोग निम्त्याउन सक्छ। ‘सबैले पिइरहेका छन्, केही हुँदैन’ भन्ने सोच राख्नु उचित होइन। त्यसैले पानीलाई राम्रोसँग उमालेर वा सुरक्षित रूपमा फिल्टर तथा प्रशोधन गरेर मात्र पिउने बानी बसाल्नुपर्छ। यसबाट पानीजन्य रोगको जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ।
१६– सामाजिक सञ्जालमा विभिन्न रोगका घरेलु उपचार र औषधिसम्बन्धी सामग्री भाइरल हुन्छन्। यस्ता सामग्री हेरेर आफैँ उपचार गर्ने प्रवृत्ति कत्तिको जोखिमपूर्ण छ ?
सामाजिक सञ्जाल वा इन्टरनेटमा आफ्ना लक्षण खोजेर आफैँ रोग पहिचान गर्ने प्रयास गर्नु उचित होइन। युट्युब, टिकटक वा गुगलमा लक्षण खोज्दा धेरैजसो लक्षण आफूसँग मिलेजस्तो लाग्न सक्छ, जसले गलत निष्कर्षमा पुर्याउन सक्छ।
उदाहरणका लागि, डेंगु भएको अवस्थामा सामाजिक सञ्जालमा देखिएका विभिन्न घरेलु उपचार वा औषधि आफैँ प्रयोग गर्नु हुँदैन। चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहअनुसार उपचार गर्नुपर्छ। डेंगुमा सामान्यतया ज्वरो तथा दुखाइ नियन्त्रणका लागि सिटामोल र पर्याप्त आरामजस्ता उपाय अपनाइन्छन्, तर औषधि सेवन र उपचारका विषयमा स्वास्थ्यकर्मीको सल्लाह लिनु आवश्यक हुन्छ।
आफैँलाई ‘डिजिटल डाक्टर’ बनाएर इन्टरनेटका सामग्रीका आधारमा उपचार गर्नु जोखिमपूर्ण हुन सक्छ। त्यसैले सामाजिक सञ्जालबाट प्राप्त जानकारीलाई चिकित्सकीय सल्लाहको विकल्पका रूपमा लिनु हुँदैन।
१७– इन्टरनेटमा लक्षण खोज्ने बानीले मानसिक स्वास्थ्यमा पनि असर पार्न सक्छ ?
अवश्य। सामान्य टाउको दुख्दा वा शरीरमा सामान्य घाउ देखिँदा पनि इन्टरनेटमा खोजेर मानिसले गम्भीर रोगसँग जोडेर बुझ्न सक्छ। त्यसपछि अनावश्यक डर, चिन्ता र तनाव बढ्न सक्छ।
त्यसैले स्वास्थ्यसम्बन्धी समस्या देखिँदा इन्टरनेटमा खोजेर आफैँ निष्कर्ष निकाल्नुभन्दा सम्बन्धित चिकित्सक वा स्वास्थ्यकर्मीसँग परामर्श गर्नु उचित हुन्छ।
१८– नेपालमा मानसिक स्वास्थ्यबारे अझै पनि सामाजिक लाञ्छना छ। यस्तो अवस्थामा जनचेतना कत्तिको आवश्यक छ ?
मानसिक स्वास्थ्यका समस्या समाधान गर्न सबैभन्दा महत्वपूर्ण कुरा जनचेतना हो। मानसिक स्वास्थ्यबारे कुरा गर्दा मानिसलाई आत्महत्यातर्फ प्रेरित हुन्छ भन्ने धारणा गलत हो। बरु यस विषयमा खुलेर कुरा गर्न सक्ने वातावरण बनाउनुपर्छ।
आज पनि मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिलाई समाजमा भेदभाव गर्ने र लाञ्छना लगाउने प्रवृत्ति छ। यसलाई अन्त्य गर्न जनचेतना फैलाउनु, मानिसको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु र मानसिक रूपमा स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु आवश्यक छ।
नियमित व्यायाम, सकारात्मक गतिविधि र सामाजिक रूपमा सक्रिय रहने बानीले पनि मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ। मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यजत्तिकै प्राथमिकता दिनुपर्छ।
१९– ग्रामीण तथा पहाडी क्षेत्रमा मानसिक स्वास्थ्य सेवा र परामर्शको पहुँच कमजोर छ। त्यहाँ सुधारका लागि कस्ता प्रयास गर्न सकिन्छ ?
ग्रामीण क्षेत्रमा समस्या अझ गम्भीर छ। म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखका रूपमा काम गरिरहेको अवस्थामा त्यहाँ मानसिक स्वास्थ्यसम्बन्धी समस्या र आत्महत्याका घटना देखेपछि यस विषयलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेका छौँ।
अध्ययन गर्दा मानिसहरू मानसिक समस्या खुलेर भन्न हिचकिचाउने र नजिकैको स्वास्थ्य संस्थामा समेत जान नसक्ने अवस्था देखियो। त्यसैले हामीले समुदायमै पुगेर सेवा र सहयोग उपलब्ध गराउने योजना बनाएका छौँ।
यसका लागि विभिन्न सरोकारवालालाई समेटेर मानसिक स्वास्थ्यसम्बन्धी सामुदायिक समिति गठन गर्ने, यससम्बन्धी स्पष्ट नीति तथा कानुनी व्यवस्था तयार गर्ने र मानसिक स्वास्थ्यका लागि छुट्टै द्रुत प्रतिक्रिया टोली गठन गर्ने तयारी भइरहेको छ।
त्यसैगरी, कम्तीमा दुई जना जनशक्तिलाई चौबीसै घण्टा टेलिफोन वा प्रत्यक्ष सम्पर्कमा उपलब्ध गराउने व्यवस्था गर्न खोजिरहेका छौँ, ताकि मानसिक समस्यामा परेका व्यक्तिले आवश्यक परेको समयमा तत्काल सहयोग लिन सकून्।
मानसिक स्वास्थ्यमा जनचेतना नै सबैभन्दा महत्वपूर्ण पक्ष हो। मानिसहरू आफैँ स्वास्थ्य संस्थासम्म आउन नसक्ने अवस्था छ भने स्वास्थ्यकर्मी र सम्बन्धित कर्मचारीलाई घरदैलो तथा समुदायमै परिचालन गर्नुपर्छ। समयमै ध्यान नदिए मानसिक स्वास्थ्य आगामी दिनमा समाजका लागि ठूलो चुनौती बन्न सक्छ।
२०– अहिले तपाईं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कार्यरत छु भन्नुभयो, जनस्वास्थ्य अधिकृतका रूपमा तपाईंका मुख्य जिम्मेवारी के–के हुन् ?
स्थानीय तहमा जनस्वास्थ्य अधिकृतका रूपमा काम गर्दा विभिन्न जिम्मेवारी सम्हाल्नुपर्छ। विपद् व्यवस्थापन, रोगको रोकथाम तथा नियन्त्रण, स्वास्थ्यसम्बन्धी कार्यक्रमको योजना निर्माण र प्रभावकारी कार्यान्वयन, नागरिकलाई आवश्यक स्वास्थ्य परामर्श तथा सहजीकरणजस्ता काम प्रमुख जिम्मेवारीभित्र पर्छन्।
त्यसैगरी स्वास्थ्यकर्मीका लागि तालिम सञ्चालन गर्ने, स्वास्थ्य शाखाका कार्यक्रमलाई प्रभावकारी बनाउने र समग्र जनस्वास्थ्यको अवस्था सुधार गर्न आवश्यक काममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न हुनुपर्छ।
२१– बाढी, पहिरोजस्ता विपद् व्यवस्थापनमा जनस्वास्थ्य अधिकृतको भूमिका कस्तो हुन्छ ?
बाढी, पहिरोजस्ता प्राकृतिक विपद् प्रत्यक्ष रूपमा जनस्वास्थ्यसँग जोडिएका हुन्छन्। स्थानीय तहमा स्वास्थ्य शाखाको नेतृत्वमा विपद् व्यवस्थापनका लागि विशेष टोली हुन्छ र म त्यसमा सदस्य–सचिवको भूमिकामा काम गर्छु।
विपद्को सूचना प्राप्त भएपछि द्रुत प्रतिक्रिया टोलीलाई तत्काल परिचालन गरिन्छ। आवश्यक परे हटलाइन वा सम्पर्क नम्बरमार्फत नागरिकसँग समन्वय गरिन्छ भने खोज तथा उद्धार टोलीलाई पनि घटनास्थलमा पठाइन्छ। विपद्का बेला घाइतेको उपचार, रोगको जोखिम न्यूनीकरण, सुरक्षित पानी तथा सरसफाइलगायत जनस्वास्थ्यसँग सम्बन्धित विषयमा तत्काल काम गर्नुपर्छ।
२२– काठमाडौँ घर भएर खोटाङमा कार्यरत हुँदा काम र व्यक्तिगत जीवनबीच कसरी सन्तुलन मिलाइरहनुभएको छ ?
सरकारले दिएको जिम्मेवारी पूरा गर्नु हाम्रो कर्तव्य हो। सुरुमा काठमाडौँबाहिर गएर काम गर्दा केही असहज महसुस भए पनि बिस्तारै नयाँ वातावरणमा अभ्यस्त हुँदै गइन्छ।
काममा व्यस्त भएपछि घरको सम्झना पनि कम हुन्छ। मानसिक रूपमा ताजा हुन समय–समयमा केही दिनका लागि घर आउने गर्छु। यसरी काम र व्यक्तिगत जीवनलाई सन्तुलनमा राखेर अघि बढिरहेको छु।
२३– अध्ययन र रोजगारीका लागि विदेशिने युवाको संख्या बढिरहेको छ। नेपालमै बसेर केही गर्न चाहने युवालाई तपाईंको सुझाव के छ ?
विदेश जाने वा नेपालमै बस्ने भन्ने कुरा व्यक्तिगत रोजाइ पनि हो। कसैलाई विदेश जान मन छ भने त्यसलाई जबर्जस्ती रोक्न सकिँदैन। तर ब्रेन ड्रेनको समस्या समाधान गर्न सरकारको नीतिगत तहबाटै देशमा अवसर र काम गर्ने वातावरण सुधार गर्न आवश्यक छ।
व्यक्तिगत रूपमा हेर्दा नेपालमै बसेर केही गर्छु भन्ने दृढ अठोट र मेहनत छ भने यहाँ अवसरको कमी छैन। नेपालमा धेरै सम्भावना छन्। निरन्तर मेहनत, धैर्य र आफ्नो क्षमतामाथिको विश्वास राखेर अघि बढ्ने हो भने सफलता हासिल गर्न सकिन्छ।
२४– अन्त्यमा लामो समय लोकसेवा तयारी गर्दा पनि सफलता नपाएर निराश भएका युवालाई के सुझाव दिनुहुन्छ ?
दिनेशराज न्यौपानेस् लोकसेवामा सफल हुन कडा मेहनतसँगै केही हदसम्म परिस्थितिको पनि भूमिका हुन्छ। कतिपय अवस्थामा पर्याप्त तयारी हुँदाहुँदै पनि सानो कमजोरीका कारण सफलता हात नलाग्न सक्छ। तर त्यसलाई भाग्यको दोष दिएर प्रयास छोड्नु हुँदैन।
आफ्ना कमजोरी पहिचान गरेर निरन्तर सुधार गर्दै अघि बढ्नुपर्छ। सफल भएका साथी, सिनियर तथा अग्रजहरूको अनुभवबाट सिक्नुपर्छ। सकारात्मक सोच र निरन्तर प्रयासलाई कायम राख्ने हो भने एक न एक दिन सफलता अवश्य प्राप्त हुन्छ। असफलता अन्तिम परिणाम होइन, त्यसबाट सिकेर अघि बढ्ने अवसर पनि हो।