काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबारे प्रतिनिधि सभालाई जानकारी गराउँदै आफू विशेष जिम्मेवारीका साथ सार्वभौम संसद्को रोष्ट्रममा उपस्थित भएको बताएका छन्।
आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा बाढीबाट उत्पन्न मानवीय संकट, प्रभावित क्षेत्रको अवस्था तथा खोज, उद्धार र राहतका सम्बन्धमा जानकारी दिने क्रममा प्रधानमन्त्री शाहले आफ्नो उपस्थितिलाई विशेष जिम्मेवारीसँग जोडेर धारणा राखेका हुन्।
भदौ १० गते भोटेकोशी(त्रिशूली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी र बेत्रावतीसहित नुवाकोटको त्रिशूली बजार तथा देवीघाट क्षेत्र प्रभावित भएको छ। धादिङ, चितवन र गोरखाका त्रिशूली नदी आसपासका क्षेत्रसमेत बाढीबाट प्रभावित भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणअनुसार बाढीबाट बेपत्ता भएकामध्ये हालसम्म १ हजार ११४ जनाको शव फेला परेको छ। रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ।
बाढीका कारण ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् भने २९२ जना घाइते भएका छन्। प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको तथ्यांक छ।
प्रधानमन्त्री शाहले संसद्मा आफ्नो सम्बोधनमार्फत विपद्को गम्भीर अवस्थाबारे जानकारी गराउँदै राज्यका तर्फबाट भइरहेको खोज तथा उद्धार, राहत र व्यवस्थापनका प्रयासबारे प्रतिनिधिसभालाई अवगत गराएका छन्।