संसदमा प्रधानमन्त्री शाहको ब्रिफिङ: ‘खोज, उद्धार र राहत वितरणमा राज्य संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्’ - Chaitanya News
  • 2026-09-02
  • 14:29:31
  • बुधबार,भाद्र १७, २०८३
  • संसदमा प्रधानमन्त्री शाहको ब्रिफिङ: ‘खोज, उद्धार र राहत वितरणमा राज्य संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्’

    संसदमा प्रधानमन्त्री शाहको ब्रिफिङ: ‘खोज, उद्धार र राहत वितरणमा राज्य संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्’

    काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत वितरणका लागि राज्य संयन्त्र पूर्ण क्षमतामा परिचालित रहेको बताएका छन्।

    प्रतिनिधि सभाको बुधवारको बैठकमा बाढीपछिको अवस्थाबारे जानकारी गराउँदै प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा उद्धारसँगै स्वास्थ्य उपचार, मनोपरामर्श र सम्भावित महामारी नियन्त्रणका कामलाई समेत प्राथमिकताका साथ अघि बढाइएको बताए।

    उनका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको छ भने ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन छन्। उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका २ सय ९२ घाइतेमध्ये १ सय ८२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।

    बाँकी घाइतेको स्वास्थ्य सुधारका लागि स्वास्थ्यकर्मीको टोली परिचालित रहेको प्रधानमन्त्री शाहले बताए। प्रभावित नागरिकको उपचारका लागि काठमाडौँबाट विशेषज्ञ चिकित्सकसहितको टोलीसमेत प्रभावित क्षेत्रमा पठाइएको उनले जानकारी दिए।

    प्रधानमन्त्री शाहले बाढी प्रभावित नागरिकलाई उपचारसँगै मनोपरामर्श सेवा पनि उपलब्ध गराइएको बताए। बाढीपछि प्रभावित क्षेत्रमा सम्भावित महामारी फैलिन नदिन रोकथाम तथा सचेतनामूलक अभियान सञ्चालन भइरहेको उनको भनाइ छ।

    रोगको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न माध्यमबाट प्रभावित नागरिकलाई आवश्यक सूचना प्रवाह भइरहेको पनि उनले बताए।

    प्रधानमन्त्री शाहले बाढीमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विपद्बाट प्रभावित नागरिकको साथमा सरकार रहेको बताए।