काठमाडौँ– भोटेकोशी नदीमा आएको बाढीपछि नदी थुनिएर बनेको तालको आकार बढ्दै गएपछि जोखिम अझै कायम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले बिहीबार जारी गरेको विशेष सूचनाअनुसार भदौ १० गते बाढी सिर्जना भएको क्षेत्रमा नदी थुनिएर ताल बनेको हो। चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो सूचना, भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा यस्तो अवस्था देखिएको महाशाखाले जनाएको छ।
नदी थुनिएर बनेको ताल निरन्तर बढिरहेको र जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेको महाशाखाको सूचनामा उल्लेख छ। ताल फुटेमा भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा थप बाढीको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई नदी किनार र अन्य जोखिमयुक्त क्षेत्रबाट टाढा रही सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।
पछिल्लो अवस्थालाई निरन्तर निगरानीमा राख्दै सम्भावित जोखिमबाट जोगिन उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।