काठमाडौँ– रसुवालगायत विभिन्न जिल्लामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार अभियानलाई तीव्र बनाइएको छ। बाढीबाट ठूलो मानवीय क्षति भएको छ भने सयौँ व्यक्ति अझै सम्पर्कविहीन रहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बिहीबार दिउँसो २ बजेसम्म देशभर बाढीबाट २ सय ५८ जनाको शव फेला परेको छ। सबैभन्दा बढी चितवनमा १ सय ८ जनाको शव भेटिएको छ।
त्यस्तै नवलपरासी पूर्वमा ६२, धादिङमा २७, गोरखामा २०, नवलपरासी पश्चिममा १५, नुवाकोट र तनहुँमा १२–१२ तथा रसुवामा २ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।
बाढी तथा त्यसपछिको विपद्का कारण ९ सय १० जना अझै सम्पर्कविहीन रहेको तथ्यांक छ। सम्पर्कविहीन हुनेमा सुरक्षाकर्मी तथा सरकारी कर्मचारीसमेत छन्। नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
त्यसैगरी रसुवाका १६१ जना र नुवाकोटका एक जना नागरिक पनि सम्पर्कविहीन छन्। नेपाल भ्रमणमा आएका ३५ देशका ५ सय १७ जना विदेशी नागरिक समेत सम्पर्कविहीन रहेको तथ्यांकमा उल्लेख छ। विदेशमा बसोबास गर्ने तर नेपाल घुम्न आएका १ सय २७ नेपाली नागरिक पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
विपद् प्रभावितको खोज तथा उद्धारका लागि नेपालका तीनवटै सुरक्षा निकायबाट ९ हजार २ सय ६० जना सुरक्षाकर्मी फिल्डमा परिचालन गरिएको छ। नेपाल प्रहरीका ३ हजार ३१८, नेपाली सेनाका ४ हजार २ सय र सशस्त्र प्रहरी बलका १ हजार ७४२ जना सुरक्षाकर्मी उद्धार तथा खोजीमा खटिएका छन्।
प्रवक्ता महतका अनुसार बिहीबार दिउँसो २ बजेसम्म हेलिकोप्टरमार्फत ३ सय ५१ जना प्रभावितको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ४६ जना विदेशी नागरिक रहेका छन्।
उद्धार अभियानका क्रममा बिहीबार मात्रै ६९ वटा हवाई उडान सञ्चालन गरिएको प्राधिकरणले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्यलाई थप तीव्र बनाइएको छ।