काठमाडौँ– विपद्का समयमा प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, जनशक्ति परिचालन तथा उपचार व्यवस्थापनलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न तह र विषयगत क्षेत्रका लागि फोकल पर्सन तोकेको छ।
मन्त्रालयले स्वास्थ्य आपतकालीन अवस्थाको समग्र समन्वयको जिम्मेवारी स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) प्रमुख डा. हेमन्त चन्द्र ओझालाई दिएको छ। आपतकालीन मेडिकल टोली तथा आवश्यक स्वास्थ्य जनशक्ति परिचालनका लागि एचईओसीसँग समन्वय गर्ने जिम्मेवारी डा. रोशन न्यौपानेलाई तोकिएको छ।
प्रदेशस्तरमा स्वास्थ्य सेवाको समन्वयका लागि स्वास्थ्य सेवा विभागबाट डा. फणीन्द्र प्रसाद बराल र मन्त्रालयको तर्फबाट डा. समीर कुमार अधिकारीलाई सम्पर्क व्यक्ति तोकिएको मन्त्रालयले जनाएको छ।
घटनास्थलमा संघीय स्वास्थ्य टोली परिचालन गर्न रसुवाका लागि डा. प्रकाश ज्ञवाली र शंकर कँडेल तथा नुवाकोटका लागि डा. प्रशान्त नापित र प्रवीण कार्कीलाई जिम्मेवारी दिइएको छ।
विपद्पछि हुन सक्ने महामारीको जोखिम न्यूनीकरण, रोग निगरानी तथा आवश्यक स्वास्थ्य प्रतिकार्यका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का डा. अमृत पोखरेललाई फोकल पर्सन तोकिएको छ।
विपद् स्वास्थ्य सहयोगका लागि अनलाइन प्रणाली
मन्त्रालयले विपद्का समयमा प्रभावित नागरिक, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबीच आवश्यक सहयोग तथा समन्वयलाई सहज बनाउन ‘विपद् स्वास्थ्य सहयोग समन्वय’ प्रणाली सञ्चालनमा ल्याएको छ।
उक्त प्रणालीमार्फत उपचार, औषधि तथा अन्य स्वास्थ्य सेवा आवश्यक भएका व्यक्तिले सहयोगका लागि अनुरोध गर्न सक्नेछन्। त्यस्तै, स्वास्थ्यकर्मीले स्वयंसेवाका लागि आफ्नो विवरण उपलब्ध गराउन र स्वास्थ्य संस्थाले मेडिकल टोली, औषधि तथा स्वास्थ्य उपकरण सहयोग गर्न सक्ने विवरण दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।
मन्त्रालयले अनलाइन प्रणालीमार्फत सेवा उपलब्ध गराइएको जनाउँदै विपद् प्रभावित क्षेत्रमा औषधि तथा स्वास्थ्य सामग्री सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई आवश्यक सामग्री उपलब्ध गराउन आग्रह गरेको छ। तत्काल आवश्यक पर्ने औषधिहरूको सूचीसमेत सार्वजनिक गर्ने मन्त्रालयले जनाएको छ।