विनाशकारी बाढीको कहरः विभिन्न नदी किनारमा भेटिएका शवको सङ्ख्या १७७, चितवनमा मात्रै ५२ - Chaitanya News
  • 2026-08-27
  • 14:05:11
  • बिहिबार,भाद्र ११, २०८३
  • विनाशकारी बाढीको कहरः विभिन्न नदी किनारमा भेटिएका शवको सङ्ख्या १७७, चितवनमा मात्रै ५२

    विनाशकारी बाढीको कहरः विभिन्न नदी किनारमा भेटिएका शवको सङ्ख्या १७७, चितवनमा मात्रै ५२

    काठमाडौँ– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय क्षति पुर्‍याएको छ। बाढीमा परी हालसम्म मृत्यु हुनेको संख्या १७७ पुगेको छ। प्रहरीका अनुसार विभिन्न जिल्लाका नदी तथा नदी तटीय क्षेत्रमा १७७ जनाको शव फेला परेको हो।

    प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार अहिलेसम्म १७७ जनाको शव फेला परिसकेको छ। बाढीको बहावसँगै शवहरू विभिन्न नदी तटीय क्षेत्रमा पुगेका कारण खोजी तथा पहिचानको काम विभिन्न जिल्लामा भइरहेको छ।

    सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाका अनुसार चितवनका नदी तटीय क्षेत्रमा मात्रै ५२ जनाको शव भेटिएको छ। बागमती प्रदेशका विभिन्न जिल्लामा हालसम्म १०६ जनाको शव फेला परेको उनले जानकारी दिए।

    बाढीको मुख्य प्रभाव परेको रसुवामा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ। त्यस्तै नुवाकोटमा १७ र धादिङमा २१ जनाको शव फेला परेको छ।

    गण्डकी प्रदेशअन्तर्गत पर्ने गोरखा र पूर्वी नवलपरासीमा पनि नदी किनारमा भेटिएका शव निकालेर प्रहरीले पहिचानको प्रयास गरिरहेको छ। बाढीले बगाएका व्यक्तिको शव विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा भेटिन थालेपछि मृतकको वास्तविक विवरण संकलन तथा पहिचानमा प्रहरीलाई चुनौती थपिएको छ।

    बाढीको केन्द्र रसुवादेखि टाढाका नदी किनारसम्म शव भेटिनुले विपद्को भयावहता अझ स्पष्ट पारेको छ। उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ।