सुवा विपद्को प्रारम्भिक कारण भूकम्प र हिमपहिरो, नेपाल–चीन दुवैतर्फ ठूलो क्षति : चिनियाँ राजदूत - Chaitanya News
  • 2026-08-27
  • 13:13:56
  • बिहिबार,भाद्र ११, २०८३
  • सुवा विपद्को प्रारम्भिक कारण भूकम्प र हिमपहिरो, नेपाल–चीन दुवैतर्फ ठूलो क्षति : चिनियाँ राजदूत

    सुवा विपद्को प्रारम्भिक कारण भूकम्प र हिमपहिरो, नेपाल–चीन दुवैतर्फ ठूलो क्षति : चिनियाँ राजदूत

    काठमाडौं– रसुवामा भएको भीषण बाढी र पहिरोबारे प्रारम्भिक जानकारी सार्वजनिक गर्दै नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नेपालतर्फ गएको भूकम्पपछि हिमपहिरो र लेदोसहितको बाढी आएको बताएका छन्। उनका अनुसार यस प्राकृतिक घटनाले नेपाल–चीन सीमा क्षेत्रका दुवै देशतर्फ ठूलो मानवीय क्षति पुर्‍याएको छ भने धेरै मानिस बेपत्ता छन्।

    नेपालको सरकारी टेलिभिजन ‘एनटिभी वर्ल्ड’सँगको अन्तर्वार्तामा राजदूत चाङले विपद्को दिन बिहान नेपालतर्फ भूकम्प गएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए। त्यसपछि हिमपहिरो र लेदोसहितको बाढी आएको उनको भनाइ छ।

    विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै चिनियाँ दूतावासले नेपाल सरकार र नेपाली जनताप्रति समवेदना प्रकट गरेको छ।

    उद्धारमा चीनको उच्चस्तरीय सक्रियता

    विपद्लगत्तै चिनियाँ दूतावासले आफ्नो आपत्कालीन संयन्त्र सक्रिय पारेको राजदूत चाङले बताएका छन्। प्रभावित क्षेत्रमा स्थलगत उद्धार र समन्वयका लागि दूतावासले कार्यदलसमेत पठाएको छ।

    चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि विपद्लाई उच्च प्राथमिकतामा राख्दै बेपत्ताको खोजी, जोखिममा रहेकाको सुरक्षित स्थानान्तरण र घाइतेको तत्काल उपचारमा जोड दिएका छन्। मानवीय क्षति कम गर्न सबै सम्भव प्रयास गर्न उनले निर्देशन दिएको राजदूतले जानकारी दिए।

    चीनतर्फ पनि ठूलो क्षति भए पनि नेपाललाई आपत्कालीन राहत सामग्री र नगद सहयोग उपलब्ध गराउन तत्काल समन्वय सुरु गरिएको उनले बताए।

    यता चीनको राज्य परिषद्का उपप्रधानमन्त्री चाङ गोछिङले सम्बन्धित अधिकारीको नेतृत्व गर्दै उद्धार कार्यको मार्गदर्शनका लागि तिब्बत भ्रमण गरेका छन्। चिनियाँ परराष्ट्र, जलस्रोत, मौसम विज्ञान र आपत्कालीन व्यवस्थापन निकायसहित तिब्बतका अधिकारीहरूले नेपाली समकक्षीसँग समन्वय संयन्त्र बनाएर उद्धार तथा विपद् मूल्याङ्कन अघि बढाइरहेका छन्।

    अबको प्राथमिकता पूर्वचेतावनी र सीमापार समन्वय

    राजदूत चाङले रसुवा घटनाबाट पाठ सिक्दै भविष्यमा यस्ता विपद्को क्षति कम गर्न नेपाल र चीनबीच तीन क्षेत्रमा सहकार्य आवश्यक रहेको बताएका छन्।

    उनका अनुसार मौसम, जलविज्ञान तथा भौगर्भिक जोखिमको अनुगमन र पूर्वचेतावनी प्रणाली बलियो बनाउने, सीमापार विपद् सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने तथा आपत्कालीन उद्धारमा संयुक्त समन्वय र क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता छ।

    त्यसैगरी उद्धारमा खटिने कर्मचारीलाई तालिम, प्राविधिक ज्ञानको आदानप्रदान र आपत्कालीन सामग्रीको सहयोग बढाएर स्थानीय तहको विपद् प्रतिकार्य क्षमता बलियो बनाउनुपर्नेमा उनले जोड दिएका छन्।

    संकटको घडीमा नेपाल सरकार र नेपाली जनताले देखाएको दृढता तथा उद्धार प्रयासको प्रशंसा गर्दै राजदूत चाङले हिमाल र नदीले जोडिएका छिमेकीका रूपमा चीनले नेपाली नागरिकको ज्यान र सम्पत्तिको सुरक्षाका लागि हरसम्भव सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।