विपद् उद्धारमा ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित, ८५ जना सम्पर्कविहीन - Chaitanya News
  • 2026-08-27
  • 12:16:01
  • बिहिबार,भाद्र ११, २०८३
  • विपद् उद्धारमा ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित, ८५ जना सम्पर्कविहीन

    विपद् उद्धारमा ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित, ८५ जना सम्पर्कविहीन

    काठमाडौँ– रसुवामा आएको बाढीपछि खोज, उद्धार तथा राहत वितरणका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। तर उद्धार तथा राहत कार्यमा खटिएका ८५ जना सुरक्षाकर्मी नै सम्पर्कविहीन भएपछि विपद् व्यवस्थापनमा थप चुनौती सिर्जना भएको छ।

    गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार रसुवालगायत प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भइसकेका छन्। तीमध्ये नेपाली सेनाका मात्रै २ हजार ३ सय ५५ जना छन्।

    केन्द्रका प्रमुख फणीन्द्रप्रसाद पौडेलका अनुसार बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तथा थप जनशक्ति पठाउने कामलाई तीव्रता दिइएको छ। बुधवार राति २ बजे नै आठ वटा ट्रकमार्फत राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाइएको थियो। आवश्यक स्वास्थ्य सामग्री तथा ‘डिग्निटरी किट’ हेलिकोप्टरमार्फत पठाउने क्रमसमेत जारी छ।

    रसुवामा सञ्चार सम्पर्क विच्छेद भएकाले उद्धार तथा राहत व्यवस्थापनलाई सहज बनाउन सञ्चार उपकरणसमेत हेलिकोप्टरबाट प्रभावित क्षेत्रमा पठाइँदै छ। एमआई हेलिकोप्टर पनि धुन्चेतर्फ पठाउने तयारी गरिएको केन्द्रले जनाएको छ।

    बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएका जनशक्तिमध्ये नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरीका १३ गरी ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन छन्। उद्धार तथा राहत वितरणमा प्रत्यक्ष खटिएको जनशक्ति नै सम्पर्कविहीन भएपछि घटनास्थलमा उद्धार र राहत व्यवस्थापन थप कठिन बनेको पौडेलले बताए।

    यसैबीच, सरकारले चौबीसै घण्टा उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ। बुधवार राति ३ बजेसम्म बसेको बैठकले प्रभावित क्षेत्रमा आवश्यक सामग्री र थप जनशक्ति पठाउने निर्णय गरेको थियो। अहिले त्रिशूली मार्ग हुँदै राहत सामग्री तथा उद्धार जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाउने काम भइरहेको गृह मन्त्रालयले जनाएको छ।