काठमाडौँ– सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै सञ्चारको स्वरूप र माध्यम परिवर्तन भइरहे पनि पत्रकारिताको मूल आधार नागरिकको विश्वास, तथ्यपरक सूचना र सार्वजनिक उत्तरदायित्व हुनुपर्ने बताएका छन्।
काठमाडौँमा मंगलबारदेखि सुरु भएको एसिया प्यासिफिक इन्सिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआईबीडी) को २४औँ सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले एआई, डिजिटल प्लेटफर्म, मोबाइल कनेक्टिभिटी तथा स्ट्रिमिङ सेवाले सञ्चार क्षेत्रको कार्यशैली परिवर्तन गरे पनि पत्रकारिताको विश्वसनीयता प्रविधिले विस्थापित गर्न नसक्ने बताए।
उनले एआईबाट सामग्री उत्पादन गर्न सहज भए पनि त्यसको सत्यता परीक्षण, सन्दर्भको मूल्याङ्कन, सामाजिक प्रभाव र सार्वजनिक हितको अन्तिम जिम्मेवारी मानिसमै रहने स्पष्ट गरे। कृत्रिम रूपमा तयार गरिएका सामग्री र डीपफेकका कारण वास्तविक र झुटो सूचना छुट्याउन कठिन हुँदै गएकाले सञ्चारमाध्यमका लागि नागरिकको विश्वास सबैभन्दा महत्वपूर्ण सम्पत्ति बनेको उनको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले गलत सूचना तथा दुष्प्रचार रोक्ने नाममा प्रतिबन्ध र नियन्त्रणलाई मात्र समाधानका रूपमा लिन नहुने बताए। त्यसका लागि तथ्य जाँच, बलियो पत्रकारिता, मिडिया साक्षरता, पारदर्शिता र व्यावसायिक आचारसंहितालाई प्रभावकारी बनाउनुपर्ने उनले उल्लेख गरे।
उनले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता तथा नागरिकको सूचनाको अधिकार सञ्चार प्रविधि परिवर्तनसँगै बदलिन नहुने बताए। सञ्चारमाध्यमले स्वतन्त्रताको प्रयोगसँगै नागरिकप्रतिको जिम्मेवारी पनि निर्वाह गर्नुपर्ने भन्दै उनले सही, निष्पक्ष, सन्तुलित र जवाफदेही सूचना प्रवाहलाई प्राथमिकतामा राख्न आग्रह गरे।
संकट, प्राकृतिक विपद् तथा सार्वजनिक स्वास्थ्य आपत्कालका समयमा सञ्चारमाध्यमको भूमिका अझ महत्वपूर्ण हुने मन्त्री तिमिल्सिनाले बताए। यस्तो अवस्थामा सही र तत्काल सूचना प्रवाह गर्नुका साथै नागरिकमा विश्वास र सामाजिक स्थिरता कायम गर्न सञ्चारमाध्यमले महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो।
उनले सञ्चार क्षेत्रमा देखिएका चुनौती कुनै एक देशमा सीमित नरहेको बताए। एआई, गलत सूचना तथा दुष्प्रचार सीमापार फैलिन सक्ने र जलवायु परिवर्तन तथा प्राकृतिक विपद्का प्रभावसमेत बहुदेशीय हुने भएकाले मुलुकहरूबीच ज्ञान, प्रविधि र अनुभव आदानप्रदान आवश्यक रहेको उनले बताए।
विश्वभर सञ्चार संस्थाहरूले वित्तीय दिगोपना, दर्शक तथा पाठकको बदलिँदो व्यवहार र मिडियाप्रतिको घट्दो विश्वासको चुनौती सामना गरिरहेको उल्लेख गर्दै उनले सार्वजनिक सेवा प्रसारणका लागि चुनौती अझ गम्भीर रहेको बताए। व्यावसायिक प्रतिस्पर्धासँगै सार्वजनिक हितको दायित्वसमेत पूरा गर्नुपर्ने भएकाले सार्वजनिक सेवा प्रसारणको भूमिका विशिष्ट रहेको उनको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले डिजिटल माध्यमलाई चुनौतीका रूपमा मात्र नहेरी नयाँ पुस्तासँग जोडिने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए। युवाले प्रयोग गर्ने डिजिटल प्लेटफर्ममा समाचार, शिक्षा, जनचेतना तथा सार्वजनिक हितका सामग्री प्रभावकारी रूपमा पुर्याउनुपर्ने उनले उल्लेख गरे।
नेपालमा सामुदायिक रेडियोले स्थानीय समुदायका आवाजलाई सार्वजनिक बहसमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनले विपद् र संकटका बेला स्थानीय भाषामा विश्वसनीय सूचना पुर्याउन सामुदायिक रेडियो अझ प्रभावकारी माध्यम बन्न सक्ने बताए।
उनले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, सीमान्तकृत समुदाय र विभिन्न भाषाभाषीलाई सञ्चारको मूलधारमा समान रूपमा समेट्नुपर्ने बताए। सार्वजनिक सेवा प्रसारणलाई नयाँ पुस्तासँग जोड्दै उनीहरूको विचार, आवाज र सिर्जनशीलतालाई समेत स्थान दिनुपर्ने उनको धारणा थियो।
प्रविधिको प्रयोग मात्र डिजिटल रूपान्तरण नभएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले विश्वसनीयता, तथ्य जाँच, पत्रकारिताको व्यावसायिकता, सार्वजनिक उत्तरदायित्व र नागरिकको विश्वासलाई सुदृढ बनाउनु नै सञ्चार क्षेत्रको वास्तविक रूपान्तरण भएको बताए।