२३ पटकको असफलतापछि २४ औँ प्रयासमा सफलता : कारखानाको मजदुरदेखि लोकसेवाको सिफारिससम्म अंकित राज कर्णको संघर्ष - Chaitanya News
  • 2026-08-25
  • 14:02:08
  • मंगलबार,भाद्र ०९, २०८३
  • २३ पटकको असफलतापछि २४ औँ प्रयासमा सफलता : कारखानाको मजदुरदेखि लोकसेवाको सिफारिससम्म अंकित राज कर्णको संघर्ष

    २३ पटकको असफलतापछि २४ औँ प्रयासमा सफलता : कारखानाको मजदुरदेखि लोकसेवाको सिफारिससम्म अंकित राज कर्णको संघर्ष

    काठमाडौँ– लोकसेवा आयोगको परीक्षा पास गर्नु धेरैका लागि एउटा सपना हुन्छ। कसैका लागि त्यो सपनासँग प्रतिष्ठा जोडिएको हुन्छ, कसैका लागि स्थायी रोजगारीको आशा। तर सप्तरीका अंकित राज कर्णका लागि लोकसेवा केवल जागिर पाउने परीक्षा थिएन, त्यो आफ्नो जीवन बदल्ने एउटा लामो संघर्ष थियो।

    त्यही संघर्षको बाटोमा उनले एकपटक होइन, पटक–पटक हार बेहोरे। लिखित परीक्षामा असफल भए। प्रथम पत्रमै रोकिए। कतिपय परीक्षामा पास भएर पनि अर्को चरणमा पुग्न सकेनन्। कतै केही अंकले सिफारिसबाट बाहिरिए। कतै वैकल्पिक सूचीमा परेर मुख्य सिफारिसको ढोका बन्द भयो। कतै परीक्षा नै दिएनन्। तर उनले प्रयास गर्न छाडेनन्।

    करिब चार वर्षको अवधिमा लोकसेवा आयोगसहित विभिन्न प्रतिस्पर्धात्मक परीक्षाका करिब २७ वटा अवसरमा सहभागी भएका अंकित धेरै परीक्षामा असफल भए। उनको यात्रामा २३ पटकसम्मको असफलताको पीडा जोडिएको छ। तर त्यही असफलताको थुप्रोमाथि उभिएर उनले अन्ततः सफलता हात पारेका छन्।

    गण्डकी प्रदेश लोकसेवा आयोगबाट वरिष्ठ सहायक पाँचौँ तहमा म्याग्दीका लागि सिफारिस भएपछि उनको लामो संघर्षले एउटा महत्वपूर्ण मोड लिएको छ। कोशी प्रदेशको परीक्षामा प्राप्ताङ्कका आधारमा तेस्रो स्थान हासिल गरेका छन्। मधेश प्रदेशमा वैकल्पिक नम्बर १ मा छन्। त्रिभुवन विश्वविद्यालय सेवा आयोगको मुख्य कार्यालय सहायक पदको लिखित परीक्षासमेत उत्तीर्ण गरेका छन्, जहाँ अब अन्तर्वार्ता बाँकी छ।

    यो सफलता अंकितका लागि केवल एउटा नाम सिफारिस सूचीमा आउनु होइन। यो १७ वर्षको उमेरदेखि बोकेको जिम्मेवारी, कारखानामा बिताएका १२–१२ घण्टाका दिन, अभावसँगको संघर्ष, पटक–पटकको असफलता र हार नमान्ने अठोटको परिणाम हो।

    १७ वर्षमै कारखानाको काम, मनमा भने लोकसेवाको सपना:

    अंकितको संघर्ष लोकसेवा तयारीबाट मात्रै सुरु भएको होइन। जीवनको सुरुवाती चरणमै उनले अभावसँग सम्झौता गर्नुपरेको थियो। परिवारको आर्थिक अवस्था सहज थिएन। उमेर १७ वर्ष पुग्दै गर्दा उनी कारखानामा काम गर्न पुगे। दिनमा १२ घण्टासम्म काम गर्नुपर्थ्यो। शरीर थाक्थ्यो, समय सकिन्थ्यो, तर मनभित्र एउटा सपना भने जीवित थियो, कुनै दिन सरकारी सेवामा प्रवेश गर्ने।

    कारखानाको मेसिनको आवाजबीच उनको सपना दबिएन।
    कामले शरीर थकाउँथ्यो, तर सपनाले उनलाई फेरि उठाउँथ्यो। परिवारको जिम्मेवारी पनि थियो। आफ्नो भविष्य पनि बनाउनुपर्ने थियो। त्यसैले उनले काम र पढाइलाई एकैसाथ अघि बढाउने प्रयास गरिरहे।
    जिन्दगीको त्यो चरण सम्झिदै अंकित भन्छन्, “सपना देखेपछि कहिल्यै हार मान्न नहुने रहेछ।”

    उनका लागि यो केवल भावनात्मक भनाइ होइन, जीवनले सिकाएको पाठ हो।

    पहिलो असफलताले रोकेन, दोस्रोले झुकाएन:

    लोकसेवा आयोगमा उनको औपचारिक संघर्ष २०७९/८० बाट बाट सुरु भएको हो। नायब सुब्बाको परीक्षामा प्रथम पत्रमै असफल भए। अर्को वर्ष फेरि नायब सुब्बाको परीक्षा दिए, लिखितमा असफल भए। २०८१/८२ मा फेरि नायब सुब्बा प्रयास गरे, प्रथम पत्रमै रोकिए। त्यही वर्ष खरिदारको लिखित परीक्षामा पनि सफल हुन सकेनन्।

    असफलताको क्रम यत्तिमै रोकिएन।
    कोशी प्रदेश लोकसेवा आयोगका परीक्षामा पनि उनले पटक–पटक प्रयास गरे। २०७९/८० मा सहायक पाँचौँ तहको लिखित परीक्षामा असफल भए। त्यही वर्ष सहायक चौँथो तहको प्रथम पत्रमै रोकिए। २०८०/८१ मा सहायक पाँचौँको लिखितमा असफल भए। २०८१/८२ मा नायब सुब्बा र खरिदार दुवैको लिखित परीक्षामा सफल हुन सकेनन्।

    तर २०८२/८३ मा नायब सुब्बाको परीक्षामा उनले नयाँ संकेत देखाए। प्राप्ताङ्कका आधारमा उनी अगाडि रहे। तीन अंक बढी प्राप्त गरे पनि अन्तिम सिफारिसमा पर्न सकेनन्।
    कहिलेकाहीँ सफलता हातमा आएको जस्तो लागेर पनि अन्तिम क्षणमा फुत्किन्छ। अंकितले त्यही अवस्था भोगे।
    तर त्यसले उनलाई फेरि परीक्षा हलमा जानबाट रोकेन।

    “असफलता अन्त्य होइन”
    अंकित भन्छन्, जीवन दर्शन एउटा वाक्यमा अट्छ– “असफलता अन्त्य होइन, न त यो हाम्रो भाग्यको सूचक हो।”

    उनका लागि असफलता आफू असक्षम भएको प्रमाण होइन। बरु आफूले खोजेको गन्तव्यसम्म पुग्ने बाटोमा परेको एउटा ढुंगा हो।

    असफलताले मानिसलाई तोड्न सक्छ, तर त्यसलाई कसरी हेर्ने भन्ने कुरा स्वयं मानिसको हातमा हुन्छ। अंकितले असफलतालाई आफ्नो कमजोरीको परिचय बनाएनन्। उनले त्यसलाई अनुभव बनाए। हरेक असफलताबाट कमजोरी पहिचान गरे, तयारी सुधारे र फेरि परीक्षा दिए।
    भाँचिएका अनुभवहरूले मानिसलाई लचिलोपन, बल र करुणा सिकाउँछन्। तिनै अनुभवले मानिसलाई आफू बन्न चाहेको व्यक्तित्वतर्फ लैजान्छन् अंकित भन्छन्।

    सायद यही कारण हो– २३ पटकसम्म असफल भएर पनि उनी २४ औँ प्रयासमा फेरि उठ्न सके।

    कारखानाबाट ट्युसन सेन्टरसम्म:

    कारखानामा काम गरेको अनुभवपछि अंकितको संघर्षको अर्को अध्याय विराटनगरमा सुरु भयो। विराटनगरमा उनले ट्युसन पढाउन थाले। दिनको एउटा हिस्सा अरूलाई पढाउन खर्चिन्थे, अर्को हिस्सा आफ्नै भविष्यका लागि पढाइमा लगाउँथे। अरूलाई पढाउने जिम्मेवारी, आफ्नो तयारी, पारिवारिक दायित्व र आर्थिक व्यवस्थापन– सबै कुरा सँगसँगै चलाउनुपर्थ्यो। तर कठिनाइले उनको लक्ष्य परिवर्तन गरेन।

    लोकसेवा तयारीमा लामो समय लाग्यो। एकपटक असफल भएपछि फेरि फाराम भर्ने, फेरि पाठ्यक्रम हेर्ने, फेरि किताब खोल्ने र फेरि परीक्षा हलमा पुग्ने क्रम चलिरह्यो।

    कतिपय मानिस केही प्रयासपछि निराश भएर लक्ष्य बदल्छन्। अंकितले भने लक्ष्य बदल्नेभन्दा तयारी बदल्ने बाटो रोजे।

    २७ परीक्षाको यात्रामा सफलता र असफलताको हिसाब:

    अंकितको चार वर्षे यात्रालाई हेर्दा यो एउटा परीक्षाको कथा मात्र होइन, निरन्तर प्रयासको दस्तावेज हो।

    संघीय लोकसेवा आयोगतर्फ उनले २०७९/८० मा नायब सुब्बाको प्रथम पत्रमा असफलता बेहोरे। २०८०/८१ मा लिखितमै रोकिए। २०८१/८२ मा पुनः नायब सुब्बाको प्रथम पत्रमा असफल भए। त्यही वर्ष खरिदारको लिखितमा पनि सफल हुन सकेनन्। २०८२/८३ मा भने प्रि–टेस्ट सफल गरे। नायब सुब्बाको प्रथम पत्रसमेत पार गरे, यद्यपि लिखित पत्र दिएनन्।

    कोशी प्रदेश लोकसेवा आयोगमा पनि उनको असफलताको लामो सूची छ। सहायक पाँचौँ, सहायक चौँथो, पुनः सहायक पाँचौँ, नायब सुब्बा र खरिदारका परीक्षामा विभिन्न चरणमा असफल भए। तर २०८२/८३ को नायब सुब्बा परीक्षामा भने प्राप्ताङ्कका आधारमा तेस्रो स्थानसम्म पुग्न सफल भए। तीन अंक बढी प्राप्त गरे पनि सिफारिसमा पर्न सकेनन्।

    मधेश प्रदेशमा २०८१/८२ को सहायक पाँचौँमा लिखित असफल भए। तर २०८२/८३ मा त्यही पदमा वैकल्पिक नम्बर १ बन्न सफल भए।

    बागमती प्रदेशमा वरिष्ठ सहायक पाँचौँको प्रथम पत्र सफल गरे। लिखित पत्र भने दिएनन्।

    गण्डकी प्रदेशमा २०८०/८१ र २०८१/८२ मा वरिष्ठ सहायक पाँचौँको प्रथम पत्रमै असफल भए। तर २०८२/८३ मा त्यही पदमा सफलता हात पार्दै म्याग्दीका लागि सिफारिस भए।

    यही एउटा परिणामले उनका विगतका सबै असफलतालाई नयाँ अर्थ दिएको छ।

    लुम्बिनी प्रदेशमा सहायक चौँथोको प्रथम पत्र सफल गरे पनि लिखित पत्र दिएनन्। पछि सहायक पाँचौँको लिखितमा असफल भए।

    नेपाल विद्युत् प्राधिकरणमा मिटर रिडिङ सुपरभाइजरका लागि २०७९/८० र २०८१/८२ मा प्रयास गरे, दुवैपटक सफल हुन सकेनन्।

    राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान सहायकको प्रथम पत्र सफल गरे पनि लिखित पत्र दिएनन्। सहायक सूचकमा भने लिखित परीक्षामा असफल भए।
    राष्ट्रिय परीक्षा बोर्ड र सीटीईभीटीका सहायक प्रथमका परीक्षामा पनि सफलता हात परेन।
    तर यही असफलताबीच त्रिभुवन विश्वविद्यालय सेवा आयोगको मुख्य कार्यालय सहायक पदमा लिखित परीक्षा उत्तीर्ण गरेका छन्। अन्तर्वार्ता भने बाँकी छ।

    यो तथ्यांकले अंकितको यात्राको एउटा कठोर सत्य देखाउँछ– सफलता अचानक आएको होइन। असफलताको प्रत्येक चरण पार गर्दै उनी सफलताको नजिक पुगेका हुन्।

    तीन अंकले रोकिएको सफलता:

    अंकितको यात्रामा सबैभन्दा पीडादायी क्षणमध्ये एक कोशी प्रदेशको नायब सुब्बा परीक्षा xf[] । उनी प्राप्ताङ्कमा तेस्रो स्थानमा आए। तीन अंक बढी पनि ल्याए। तर अन्तिम सिफारिसमा उनको नाम आएन।

    सामान्यतया यस्तो परिणामपछि मानिसको आत्मविश्वास कमजोर हुन्छ। “यति पढेर पनि भएन” भन्ने निराशा आउन सक्छ। कतिपयले तयारी छाड्न सक्छन्। अंकितले भने त्यसलाई पनि अर्को पाठका रूपमा लिए। उनका लागि सिफारिस नहुनु अन्तिम परिणाम थिएन।
    सायद यही सोचले उनलाई गण्डकी प्रदेशको परीक्षामा पुर्‍यायो। त्यहाँ उनले वरिष्ठ सहायक पाँचौँ तहमा सफलता हात पारे र म्याग्दीका लागि सिफारिस भए।

    अंकित आफ्नो सफलताको श्रेय आफूलाई मात्र दिँदैनन्।जीवनको कठिन यात्रामा छायाँ बनेर साथ दिने आमा–बुबा र दाइप्रति उनी विशेष आभार व्यक्त गर्छन्। ज्ञान र संस्कार दिने गुरुहरूप्रति कृतज्ञ छन्। हरेक मोडमा हौसला र प्रेरणा दिने दाजुभाइ, दिदीबहिनी तथा साथीभाइलाई पनि आफ्नो सफलताको यात्राका सहयात्री मान्छन्।
    उनी भन्छन् मेरो सफलतालाई आफ्नै सफलता सम्झेर माया, साथ र आत्मीय बधाई दिने सबैप्रति उनी हृदयदेखि आभारी छ’।

    सपना देख्नेहरूका लागि अंकितको सन्देश:

    अंकितको कथा केवल उनको व्यक्तिगत सफलता होइन। यो आर्थिक अभाव, पटक–पटकको असफलता र परिस्थितिले थिचिएका हजारौँ युवाका लागि एउटा सन्देश पनि हो। सफल हुने मानिससँग असफलताको अनुभव हुँदैन भन्ने होइन। फरक यति हो– असफलतापछि कसैले यात्रा रोक्छ, कसैले फेरि सुरु गर्छ।

    अंकितले फेरि सुरु गरिरहे।
    कारखानाको १२ घण्टे कामबाट सुरु भएको यात्रा ट्युसन पढाउने कक्षासम्म पुग्यो। त्यहाँबाट लोकसेवा तयारीको लामो बाटो हुँदै अनेकौँ परीक्षा हलमा पुग्यो। दर्जनौँ असफलताको सूची बन्यो। केही परीक्षा पास भए, केही चरणमा रोकिए। कतै वैकल्पिक भए, कतै केही अंकले सिफारिस छुट्यो।

    तर अन्ततः एउटा सिफारिसले उनको संघर्षलाई प्रमाणित गरिदियो।

    गण्डकी प्रदेश लोकसेवा आयोगबाट वरिष्ठ सहायक पाँचौँ तहमा सिफारिस।

    यो एउटा पदको नाम मात्र होइन। यो १७ वर्षको उमेरमा कारखानामा पस्दा मनमा बोकेको सपनाको उत्तर हो।

    “हरेस खानु हुँदैन”:

    अंकितको कथा सरल सूत्रमा टुंग्याउन सकिन्छ– प्रयास गरिरहनुपर्छ। हरेस खानु हुँदैन।

    तर यो वाक्य बोल्न जति सजिलो छ, जीवनमा लागू गर्न त्यति नै कठिन।
    २३ पटक असफल भएर २४ औँ पटक परीक्षा दिनुका पछाडि केवल उत्साह हुँदैन। त्यसका पछाडि आत्मबल चाहिन्छ। आर्थिक कठिनाइ सहने क्षमता चाहिन्छ। परिवारप्रतिको जिम्मेवारीसँगै आफ्नो सपना जोगाउने शक्ति चाहिन्छ। अरूको सफलता देखेर आफूलाई कमजोर नठान्ने धैर्य चाहिन्छ।
    अंकितले यही धैर्य देखाए।

    उनको कथा भन्छ– असफलता आएपछि सपना गलत भएको हुँदैन। कहिलेकाहीँ तयारी अपुग हुन सक्छ, समय सही नहुन सक्छ, प्रतिस्पर्धा कठोर हुन सक्छ वा केही अंकले भाग्यको ढोका बन्द हुन सक्छ। तर एउटा असफल परिणामले मानिसको क्षमता निर्धारण गर्दैन।

    त्यसैले अंकितका शब्दमा, “असफलता अन्त्य होइन।”

    बरु कहिलेकाहीँ असफलता त्यही बाटोको एउटा ढुंगा हुन्छ, जसलाई पन्छाउँदै अघि बढेपछि मात्रै गन्तव्य देखिन्छ।

    अंकित राज कर्णले त्यो ढुंगा पटक–पटक पन्छाए।

    अन्ततः बाटो खुलेको छ।

    अब उनको नाम केवल असफल परीक्षाहरूको सूचीमा छैन। त्यो सूचीको अन्त्यमा एउटा महत्वपूर्ण शब्द थपिएको छ– सिफारिस।

    र त्यस सिफारिसले एउटा ठूलो सन्देश दिएको छ–

    सपना देख्ने अधिकार सबैलाई छ। तर सपनालाई वास्तविकतामा बदल्नेहरू ती हुन्, जो असफलतापछि पनि फेरि उठ्छन्।

    अंकित उठिरहे।

    त्यसैले आज उनी सफल भएका छन्।