अध्यादेशले खाली गराएका १,५९४ पदमा सुस्त नियुक्ति, चार महिनामा १९८ मात्रै - Chaitanya News
  • 2026-08-25
  • 11:07:24
  • मंगलबार,भाद्र ०९, २०८३
  • अध्यादेशले खाली गराएका १,५९४ पदमा सुस्त नियुक्ति, चार महिनामा १९८ मात्रै

    अध्यादेशले खाली गराएका १,५९४ पदमा सुस्त नियुक्ति, चार महिनामा १९८ मात्रै

    काठमाडौँ– सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ मार्फत विभिन्न बोर्ड, समिति तथा संस्थानबाट एकैपटक १ हजार ५९४ पदाधिकारी हटाए पनि चार महिनाको अवधिमा त्यसको करिब १२ प्रतिशत पदमा मात्रै नयाँ नियुक्ति गरेको छ।

    अध्यादेश जारी गरेर पदाधिकारी हटाइएपछि लामो समयसम्म पदपूर्ति हुन नसक्दा विभिन्न सरकारी निकायको काम प्रभावित भएको छ। कतिपय आयोगका गतिविधि प्रभावित भएका छन् भने रजिस्ट्रारलगायत महत्वपूर्ण पद रिक्त हुँदा बजेट, नीति तथा कार्यक्रम निर्माणमा समेत समस्या देखिएको छ।

    सरकारले राजनीतिक हस्तक्षेप अन्त्य गर्ने उद्देश्यले पदाधिकारी हटाउने व्यवस्था ल्याएको दाबी गरे पनि नयाँ नियुक्तिमा भने सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तालाई प्राथमिकता दिइएको आरोप लाग्दै आएको छ। कतिपय नियुक्ति संविधान तथा प्रचलित कानुनले निर्धारण गरेको समावेशी मापदण्डअनुसार हुन नसकेको प्रश्नसमेत उठेको छ।

    यसबीच नियुक्ति प्रक्रिया र उम्मेदवारको योग्यतामाथि प्रश्न उठाउँदै अदालतमा पुगेका केही मुद्दामा सर्वोच्च अदालतले सरकारका निर्णय नै बदर गरिदिएको छ।

    सर्वोच्च अदालतले ४ भदौमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर गरेको थियो। कार्यकारी अध्यक्षका लागि अन्य योग्यतासँगै ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने कानुनी व्यवस्था रहे पनि उमेर हद नाघिसकेका श्रेष्ठलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय कानुनसम्मत नभएको अदालतको ठहर थियो।

    न्यायाधीशद्वय सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई निगमको महाप्रबन्धकको कामसमेत गर्ने गरी कार्यकारी अध्यक्षमा नियुक्त गर्ने २०८३ असार ३० गतेको निर्णय उत्प्रेषणको आदेशमार्फत बदर गरेको हो।

    सरकारका नियुक्ति अदालतबाट बदर भएको यो पछिल्लो घटना मात्रै होइन। यसअघि नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा नियुक्त डा. दीपकप्रसाद बाँस्तोलाको नियुक्ति पनि सर्वोच्च अदालतले खारेज गरिसकेको छ।

    गत जेठ २९ गते सर्वोच्चले बाँस्तोलाको नियुक्ति बदर गर्दै छनोट समितिको योग्यताक्रममा पहिलो नम्बरमा सिफारिस भएका उम्मेदवारलाई पन्छाएर सरकारले अर्को व्यक्तिलाई नियुक्त गरेको विषयमा प्रश्न उठाएको थियो। संस्कृति तथा पर्यटन मन्त्रीले गत ३१ वैशाखमा बाँस्तोलासहित पाँच जनालाई निगम सञ्चालक समितिमा नियुक्त गरेका थिए।

    छनोट प्रक्रियामा योग्यताक्रमलाई बेवास्ता गर्दै ‘पिक एन्ड चुज’ गरिएको भन्दै उपेन्द्रबहादुर कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले नियुक्तिको आधार स्पष्ट नभएको ठहर गरेको थियो।

    अध्यादेशमार्फत रिक्त गरिएका १ हजार ५९४ पदमध्ये हालसम्म १९८ पदमा मात्र सरकारले नियुक्ति गरेको छ। बाँकी पदमा नियुक्ति हुन नसक्दा सरकारको निर्णयपछि रिक्त बनेका निकायमा नियमित कामकारबाही सञ्चालनमा चुनौती कायमै रहेको छ।

    कहाँ, को नियुक्त भए ?

    निकाय / संस्था नियुक्त पदाधिकारी तथा सदस्यहरू
    भूमि समस्या समाधान समिति (तत्कालीन आयोग) अध्यक्ष: बलभद्र बास्तोला
    सदस्य: अमिरप्रसाद न्यौपाने, पद्मनिधि सोती र रेहना श्रेष्ठ
    समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अध्यक्ष: डिल्लीराज आचार्य
    सदस्य: नवराज सिंखडा, रोशनबहादुर शाक्य र खेटराज दाहाल
    राष्ट्रिय योजना आयोग उपाध्यक्ष: गुणाकर भट्ट
    सदस्य: अर्जुनजंग थापा, सञ्जय आचार्य, देवेन्द्र गौचन, रेशु अर्याल, सुदन झा, पुकार मल्ल
    बागमती सभ्यता एकीकृत विकास समिति अध्यक्ष: आनन्दसिंह भाट
    नेपाल नागरिक उड्डयन प्राधिकरण महानिर्देशक: मुकेश डंगोल
    सुरक्षण मुद्रण कोष / केन्द्र कार्यकारी निर्देशक: देवराज ढुंगाना
    सार्वजनिक सेवा प्रसारण संस्था सदस्य: उर्वशी बस्न्यात, शोभिता रिसाल
    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTVT) सदस्य: डा. अमृता शर्मा, विरेन्द्रराज पाण्डे, डा. दिपेश्वरमान श्रेष्ठ, प्रमिला राना
    नेपाल रेडक्रस सोसाइटी तदर्थ समिति अध्यक्ष: विशालकुमार भण्डारी
    लेखामान बोर्ड अध्यक्ष: रमेशकुमार धिताल
    नेपाल धितोपत्र बोर्ड अध्यक्ष: गोपालप्रसाद भट्ट
    सार्वजनिक खरिद पुनरवलोकन समिति अध्यक्ष: सुशीलचन्द्र तिवारी
    सदस्य: महेश अर्याल, थानेश्वर गौतम
    विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति कार्यकारी निर्देशक: धर्मराज खड्का
    गोरखापत्र संस्थान महाप्रबन्धक: हिक्मतबहादुर रावल
    काठमाडौं उपत्यका विकास प्राधिकरण आयुक्त: सुरज शाक्य
    नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष: अर्जुन घिमिरे
    सदस्य: गोपाल प्रधान, अनन्त मल्लिक, निलमकुमार ओझा, सुजिता श्रेष्ठ
    प्रेस काउन्सिल नेपाल अध्यक्ष: उमेश श्रेष्ठ
    सदस्य: प्रकाश माथेमा, नम्रता शर्मा, रविराज बराल, उपासना घिमिरे
    नेपाल वायुसेवा निगम अध्यक्ष तथा महाप्रबन्धक: महेश्वरभक्त श्रेष्ठ (अदालतबाट खारेज)
    विद्युत् नियमन आयोग अध्यक्ष: रामप्रसाद धिताल
    सदस्य: जयराज भण्डारी, लोकराज पाठक र बलराम सिलवाल
    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी प्रमुख: धर्मराज उप्रेती
    गुठी संस्थान प्रशासक: शैलेशराज कुँवर
    विश्वविद्यालय अनुदान आयोग अध्यक्ष: खड्गबहादुर केसी
    सचिव: रोजी श्रेष्ठ
    सदस्य: रेशु अर्याल ढुंगाना
    लगानी बोर्ड कार्यकारी अधिकृत: यांकी उक्याब
    नेपाल आयल निगम कार्यकारी निर्देशक: नागेन्द्र साह
    वैदेशिक रोजगार बोर्ड कार्यकारी निर्देशक: निर्मलकुमार उप्रेती
    त्रिभुवन विश्वविद्यालय उपकुलपति: भोला थापा
    त्रिवि सेवा आयोग अध्यक्ष: किशोर थापा
    सदस्य: रेजिना मास्के
    नागरिक लगानी कोष कार्यकारी निर्देशक: पर्वतकुमार कार्की
    राष्ट्रिय चिया तथा कफी विकास बोर्ड उपाध्यक्ष: आदित्य पराजुली
    पशुपति क्षेत्र विकास कोष सदस्य सचिव: तीर्थ श्रेष्ठ
    कोषाध्यक्ष: गंगासागर बानियाँ
    सदस्य: केदारमान भण्डारी, रूपा शाही बाँस्तोला, राम सोभित नायक, संगिताकुमारी राम
    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) उपकुलपति: प्रा. डा. जनार्दन लामिछाने
    नेपाल स्काउट प्रमुख आयुक्त: सन्तोषकुमार थापा
    नेपाल इन्जिनियरिङ परिषद् रजिस्ट्रार: ध्रुवराज भट्टराई
    शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय उपकुलपति: प्रा. डा. सुनिलकुमार जोशी
    रजिस्ट्रार: डा. भीमबहादुर चन्द
    नेपाल संस्कृत विश्वविद्यालय उपकुलपति: भीमप्रसाद खतिवडा
    मध्यपश्चिम विश्वविद्यालय उपकुलपति: राजन सुवाल
    पूर्वाञ्चल विश्वविद्यालय उपकुलपति: सुजनबाबु मरहट्ठा
    सुदूरपश्चिम विश्वविद्यालय उपकुलपति: किसनदत्त भट्ट
    पोखरा विश्वविद्यालय उपकुलपति: देवेन्द्र अधिकारी
    राजर्षि जनक विश्वविद्यालय उपकुलपति: श्यामनारायण लाभ
    कृषि तथा वन विश्वविद्यालय उपकुलपति: ऋषिराम कट्टेल
    काठमाडौं विश्वविद्यालय उपकुलपति: विवेक बराल
    चिकित्सा शिक्षा आयोग उपाध्यक्ष: डा. देवेन्द्र खत्री
    नेपाल स्वास्थ्य अनुसन्धान परिषद् अध्यक्ष: डा. सुधा बस्नेत
    उपाध्यक्ष: डा. नारायणबहादुर महोत्रा
    सदस्य: गणेश दंगाल, सन्तोषकुमार ठाकुर, सतिशकुमार देव, धर्मागत भट्टराई, रबा थापा
    नेपाल नर्सिङ परिषद् अध्यक्ष: सकुन्तला प्रजापति
    उपाध्यक्ष: बिमलाकुमारी साह
    रजिस्ट्रार: पार्वती विष्ट
    नेपाल स्वास्थ्य व्यवसायी परिषद् अध्यक्ष: सगुन पौडेल
    रजिस्ट्रार: रमेश श्रेष्ठ
    शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र निर्देशक: आशिष गोविन्द अमात्य
    नेपाल फार्मेसी परिषद् अध्यक्ष: कादिर आलम
    रजिस्ट्रार: डा. हरिश सिंह थापा
    स्वास्थ्य बीमा बोर्ड अध्यक्ष: सुवास प्याकुरेल
    नेपाल मेडिकल काउन्सिल अध्यक्ष: डा. ढुन्डिराज पौडेल
    रजिस्ट्रार: डा. सुप्रभात श्रेष्ठ
    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर) उपकुलपति: डा. विवेक आचार्य
    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति: डा. नवीसमान सिंह प्रधान
    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति: डा. स्मृति कार्की
    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति: डा. नारायणसिंह गुरुङ
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति: डा. सूर्यमान म्याहाङम्बो
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति: डा. अजयकुमार मिश्र
    नेपाल प्रज्ञा प्रतिष्ठान कुलपति: कुमार नगरकोटी
    उपकुलपति: अविनाश श्रेष्ठ
    सदस्य सचिव: रोशन शेरचन
    सदस्यहरू: प्रतिसरा मानन्धर, डा. कृष्णराज चौधरी, सीता सुब्बा, तिर्थबहादुर गुरुङ, रुपा कुमारी, नविन नेपाली, दिपक सापकोटा, दुर्गाबहादुर घर्ती
    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान कुलपति: एरिना ताम्राकार
    उपकुलपति: चन्द्रश्याम डंगोल
    सदस्य सचिव: कैलाशकुमार श्रेष्ठ
    सदस्यहरू: जुपिटर प्रधान, कुबिर देवान, संगी श्रेष्ठ, ध्रुवराज शर्मा, ओमप्रकाश यादव
    नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान कुलपति: ब्रजेश खनाल
    उपकुलपति: झुमा बनेम
    सदस्य सचिव: भूपेन्द्र सिंह रायमाझी
    सदस्यहरू: छेन्दोक हाङ्ग राई, जीतबहादुर देउजा, सुबिमा श्रेष्ठ, सरस्वती चौधरी, राजन मुकारुङ, रेखा शाह गुरुङ
    राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष: विशाल श्रेष्ठ
    सदस्यहरू: मोनालिसा खम्बु, सिक्का सुवाल श्रेष्ठ, शक्तिप्रसाद गौचन, पवन शाही