काठमाडौँ– एसिसी प्रिमियर कपको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले मलेसियाविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा टस हारेपछि फिल्डिङबाट खेल सुरु गरेको छ। मलेसियामा जारी खेलमा मलेसियाले पहिले ब्याटिङ गर्ने भएको हो।
प्रिमियर कपको तयारीलाई लक्षित गर्दै नेपालले मलेसियासँग अभ्यास खेल खेलिरहेको हो। यसअघि नेपाली टोलीले भारतमा १० दिन प्रशिक्षण गर्नुका साथै कर्नाटक राज्यस्तरीय टोलीसँग दुई अभ्यास खेल खेलेको थियो। दुवै खेलमा नेपाल विजयी भएको थियो।
भारतको प्रशिक्षण तथा अभ्यास खेल सम्पन्न गरेपछि नेपाली टोली त्यतैबाट मलेसिया पुगेको हो।
आसन्न एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ। नेपालले समूह चरणको पहिलो खेल भदौ १५ गते बहराइनसँग खेल्नेछ। त्यसपछि नेपालले आयोजक मलेसिया, साउदी अरेबिया र हङकङसँग प्रतिस्पर्धा गर्ने तालिका छ।
मलेसियाविरुद्धको अभ्यास खेललाई नेपालले प्रिमियर कपअघि खेलाडीको तयारी, संयोजन र प्रतिस्पर्धात्मक लय परीक्षण गर्ने अवसरका रूपमा उपयोग गरिरहेको छ।