काठमाडौँ– जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले शहीदको सम्झनामा आयोजना गर्न लागिएका कार्यक्रमको सम्पूर्ण व्यवस्थापन सरकारले गर्नुपर्ने माग गरेका छन्।
जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपाल संयुक्त संघर्ष समितिले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आगामी भदौ २३ गते बानेश्वरस्थित पुरानो संसद भवन परिसरमा शहीद स्मृति दिवस आयोजना गर्न लागेको जानकारी दिएको हो।
जेनजी शहीद श्रीयम चौलागाईंका पिता तथा जेनजी शहीद परिवार कल्याणकारी समाजका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंले आन्दोलनका क्रममा क्षति पुगेको सोही संसद भवन परिसरमा स्मृति दिवस आयोजना गरिने बताए। शहीद परिवार र घाइतेहरू आर्थिक रूपमा कमजोर रहेकाले कार्यक्रमको सम्पूर्ण खर्च तथा व्यवस्थापन सरकारले नै व्यहोर्नुपर्ने उनको माग छ।
समितिले असोज १५ गतेदेखि सोही संसद भवनभित्र सात दिने महायज्ञ आयोजना गर्ने तयारीसमेत गरेको छ। उक्त महायज्ञको व्यवस्थापनको जिम्मेवारी पनि सरकारले लिनुपर्ने चौलागाईंले बताए।
उनका अनुसार स्मृति दिवस र महायज्ञ आयोजना गर्ने विषयमा गृहमन्त्री सुधन गुरुङसँग छलफल भए पनि सरकारले अहिलेसम्म आफ्नो धारणा स्पष्ट गरेको छैन। गृहमन्त्रीले प्रधानमन्त्रीसँग छलफल गरेर जानकारी दिने बताएको भए पनि हालसम्म कुनै जानकारी नआएको उनले बताए।
सरकारले यसअघि नै प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी शहीद दिवसका रूपमा मनाउने निर्णय गरिसकेको छ। समितिले भने सरकारी निर्णयअनुसार हुने स्मृति कार्यक्रमको आयोजक शहीद परिवार र घाइतेहरू नै रहने, तर आवश्यक आर्थिक तथा व्यवस्थापकीय जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ।