तोमनाथ उप्रेती:
बिषय प्रवेश:
नेपालआज आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको तीव्र चरणमा छ। खुला सीमा, तीव्र शहरीकरण, वैदेशिक रोजगारी, डिजिटल प्रविधिको विस्तार, बेरोजगारी, सामाजिक असमानता तथा कमजोर सामाजिक निगरानीजस्ता कारणहरूले नयाँ अवसर मात्र होइन, नयाँ जोखिमहरू पनि सिर्जना गरेका छन्। ती जोखिममध्ये सबैभन्दा गम्भीर समस्या कुलत हो। लागूऔषध, मदिरा, धूम्रपान, इलेक्ट्रोनिक चुरोट , ब्राउन सुगर, ट्रामाडोल, कोडिनयुक्त सिरप, गाँजा तथा अन्य मादक पदार्थको प्रयोगले विशेषगरी किशोर र युवालाई गम्भीर मानसिक, शारीरिक, पारिवारिक र आर्थिक संकटतर्फ धकेलिरहेको छ।
कुनै पनि समाजको भविष्य त्यसका युवामा निर्भर हुन्छ। यदि युवा जनशक्ति नै कुलतको दलदलमा फस्न थाल्यो भने त्यसको असर व्यक्ति, परिवार, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र राष्ट्रिय विकासमा देखिन्छ। यसर्थ कुलतलाई सार्वजनिक स्वास्थ्य, सामाजिक न्याय र राष्ट्रिय सुरक्षासँग जोडिएको बहुआयामिक समस्याका रूपमा बुझ्न आवश्यक छ।
वास्तविकतासँग मेल खाने कथा
धनुषा जिल्लाको एक सीमावर्ती नगरपालिकामा बस्ने १७ वर्षीय सुमन (नाम परिवर्तन) विद्यालयका अनुशासित र प्रतिभाशाली विद्यार्थी थिए। विज्ञान विषयमा राम्रो नतिजा ल्याएका उनी चिकित्सक बन्ने सपना देख्थे। उच्च माध्यमिक तहमा अध्ययनका लागि दैनिक रूपमा बजारसम्म आवतजावत गर्न थालेपछि उनको साथीहरूको दायरा विस्तार भयो। सुरुमा उनले साथीहरूको आग्रहमा चुरोट सेवन गरे। त्यसपछि जन्मदिन, पिकनिक र विभिन्न जमघटमा मदिरा सेवन सामान्य बन्दै गयो। केही समयपछि “तनाव कम हुन्छ” भन्ने भ्रममा उनले ब्राउन सुगर प्रयोग गर्न थाले।
लत गहिरिँदै जाँदा उनको पढाइमा रुचि घट्यो, कक्षामा अनुपस्थित हुने क्रम बढ्यो र परीक्षाको नतिजा कमजोर हुन थाल्यो। परिवारले परिवर्तन महसुस गरे पनि सुरुआतमा त्यसलाई किशोरावस्थाको व्यवहारिक परिवर्तन ठाने। पछि घरबाट नगद हराउन थालेपछि परिवारलाई वास्तविक अवस्थाबारे जानकारी भयो। अभिभावकले मनोसामाजिक परामर्श, चिकित्सकीय उपचार र पुनःस्थापना केन्द्रको सहयोग लिएपछि उनी बिस्तारै सुधारको बाटोमा फर्किए। यस घटनाले परिवार, विद्यालय र समुदायबीच समयमै समन्वय हुनु कति आवश्यक छ भन्ने स्पष्ट देखाउँछ।
सप्तरी जिल्लाको एक गाउँमा बस्ने १९ वर्षीया रश्मि (नाम परिवर्तन) का दुवै अभिभावक वैदेशिक रोजगारीमा थिए। उनी हजुरआमासँग बस्दै कलेजमा अध्ययन गर्थिन्। आर्थिक अभाव नभए पनि भावनात्मक सहारा कमजोर थियो। साथीहरूको समूहसँग घुलमिल हुने क्रममा उनले सुरुमा पार्टी संस्कृतिसँग परिचय पाइन्। पछि निद्रा नलाग्ने र मानसिक तनाव कम गर्ने बहानामा चिकित्सकीय सल्लाहबिना प्रयोग गरिने केही औषधिको दुरुपयोग गर्न थालिन्।
केही महिनापछि उनी पढाइबाट टाढिँदै गइन्, सामाजिक रूपमा अलग हुन थालिन् र मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिन थाले। कलेजका एक शिक्षकले उनको व्यवहारमा आएको परिवर्तनलाई गम्भीर रूपमा लिएर अभिभावक र परामर्शदातासँग समन्वय गरे। समयमै गरिएको हस्तक्षेपका कारण उनी उपचारमा सहभागी भइन् र पुनः अध्ययनमा फर्कन सफल भइन्। यस घटनाले कुलतको जोखिम केवल आर्थिक अभावसँग मात्र होइन, भावनात्मक एक्लोपन र सामाजिक समर्थनको कमीँग पनि जोडिएको देखाउँछ।
बारा जिल्लाका २२ वर्षीय राजन (नाम परिवर्तन) प्राविधिक शिक्षा पूरा गरेपछि लामो समयसम्म रोजगारी खोज्दै थिए। पटक–पटक असफल भएपछि उनी निराश बन्दै गए। समय बिताउन उनी स्थानीय साथीहरूको समूहसँग बस्न थाले। सुरुमा मदिरा सेवन मात्र गर्ने उनी पछि लागूऔषध प्रयोग गर्ने समूहसँग नजिकिए। केही समयपछि उनको अधिकांश आम्दानी कुलतमै खर्च हुन थाल्यो। घरपरिवारसँगको सम्बन्ध बिग्रियो, सानो व्यवसाय सञ्चालन गर्ने प्रयास पनि असफल भयो।
स्थानीय युवाक्लब र पुनःस्थापना केन्द्रको संयुक्त पहलमा उनले उपचार र सीपमूलक तालिम पाए। उपचारपछि उनी साना उद्यममार्फत आत्मनिर्भर बन्न सफल भए। यो उदाहरणले पुनःस्थापनापछि जीविकोपार्जनका अवसर उपलब्ध गराउनु पनि कुलत नियन्त्रणको महत्वपूर्ण पक्ष भएको देखाउँछ।
कैलाली जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको एक विद्यालयमा केही विद्यार्थीहरू विद्यालय समयपछि कुलतमा संलग्न भएको सूचना समुदायमा फैलियो। अभिभावक, विद्यालय प्रशासन, स्थानीय प्रहरी, स्वास्थ्यकर्मी र स्थानीय सरकारले संयुक्त रूपमा सचेतना अभियान सञ्चालन गरे। विद्यालयमा जीवन–सीप शिक्षा, मनोसामाजिक परामर्श, खेलकुद तथा सांस्कृतिक गतिविधि विस्तार गरियो। जोखिममा रहेका विद्यार्थीहरूको गोपनीय रूपमा परामर्श र उपचारको व्यवस्था मिलाइयो।
दुई वर्षभित्र विद्यालय छोड्ने दर घट्यो, विद्यार्थीको नियमित उपस्थिति बढ्यो र कुलतसम्बन्धी घटनामा उल्लेखनीय कमी आयो। यस अनुभवले केवल कानुनी कारबाहीभन्दा पनि परिवार, विद्यालय, समुदाय र स्थानीय सरकारको समन्वित प्रयासले दीर्घकालीन सकारात्मक परिवर्तन सम्भव हुने तथ्यलाई पुष्टि गर्दछ।
तराईमा लागूऔषध समस्यालाई तीव्र बनाउने संरचनागत कारणहरू
नेपालको तराई क्षेत्रमा लागूऔषधको समस्या व्यक्तिगत व्यवहारको परिणाम मात्र होइन; यो सामाजिक, आर्थिक, भौगोलिक र संस्थागत कारकहरूको संयुक्त प्रभावबाट विकसित भएको जटिल सार्वजनिक चुनौती हो। विशेषगरी सीमावर्ती जिल्लाहरूमा केही संरचनागत कारणहरूले यस समस्यालाई अझ गम्भीर बनाइरहेका छन्।
सबैभन्दा प्रमुख कारण नेपाल–भारत खुला सीमा हो। खुला सीमाले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई सुदृढ बनाएको छ। तर यही सहज आवागमनको फाइदा उठाउँदै केही संगठित आपराधिक समूहहरूले अवैध लागूऔषधको ओसारपसार, भण्डारण र वितरणका लागि सीमावर्ती क्षेत्रलाई प्रयोग गर्ने गरेका छन्। पछिल्ला वर्षहरूमा नेपाल प्रहरीले सिरहा, सप्तरी, धनुषा, पर्सा, बाँके, कैलाली र कञ्चनपुरलगायतका जिल्लाबाट विभिन्न प्रकारका लागूऔषध बरामद गरेका घटनाले सीमापार अवैध सञ्जालको चुनौतीलाई उजागर गरेको छ।
तीव्र शहरीकरण र सीमावर्ती बजारहरूको विस्तारले जोखिम बढाएको छ। नयाँ व्यापारिक केन्द्र, यातायातको सहज पहुँच र बढ्दो जनघनत्वसँगै सामाजिक नियन्त्रणका परम्परागत संरचनाहरू कमजोर बन्दै गएका छन्। यसले जोखिमपूर्ण व्यवहार र अवैध कारोबारलाई केही क्षेत्रमा सहज वातावरण प्रदान गरेको देखिन्छ।
बेरोजगारी, अल्परोजगारी र भविष्यप्रतिको अनिश्चितताले विशेषगरी युवामा निराशा बढाइरहेको छ। अर्थपूर्ण रोजगारी, सीप विकास र सामाजिक अवसरको अभावमा केही युवा गलत संगत, कुलत तथा आपराधिक गतिविधितर्फ आकर्षित हुने जोखिममा पर्छन्। मनोवैज्ञानिक अध्ययनहरूले पनि निराशा, तनाव र सामाजिक बहिष्करण कुलतका प्रमुख जोखिम कारक भएको पुष्टि गरेका छन्।
पारिवारिक संरचनामा आएको परिवर्तन पनि महत्वपूर्ण पक्ष हो। वैदेशिक रोजगारीका कारण अभिभावक लामो समय घरबाहिर रहने, संयुक्त परिवारको विघटन तथा परिवारभित्रको संवाद घट्दै जानुले किशोर–किशोरीमा भावनात्मक एक्लोपन बढ्न सक्छ। यस्ता अवस्थाले साथीहरूको नकारात्मक प्रभावलाई बलियो बनाउने सम्भावना रहन्छ।
डिजिटल प्रविधि र सामाजिक सञ्जालको अनियन्त्रित प्रभावले पनि समस्या जटिल बनाएको छ। केही अनलाइन सामग्री, भिडियो र मनोरञ्जनात्मक प्रस्तुतीकरणले मदिरा, भेप वा अन्य नशाजन्य पदार्थलाई आधुनिक जीवनशैली, साहस वा सामाजिक प्रतिष्ठाको प्रतीकका रूपमा चित्रण गर्ने प्रवृत्ति देखिन्छ। यस्ता सन्देशले आलोचनात्मक सोच विकास नभइसकेका किशोरहरूलाई सजिलै प्रभावित गर्न सक्छन्। त्यसैले कुलत नियन्त्रणका लागि कानुनी कारबाही मात्र पर्याप्त हुँदैन; रोजगारी सिर्जना, पारिवारिक सुदृढीकरण, विद्यालयमा जीवन–सीप शिक्षा, मानसिक स्वास्थ्य सेवा, डिजिटल साक्षरता र प्रभावकारी सीमा व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउनु अपरिहार्य छ।
तथ्याङ्कले के भन्छ? : नेपालको लागूऔषध संकटको वास्तविक चित्र
नेपालमा लागूऔषधको समस्या पछिल्ला वर्षहरूमा सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा तथा कानुन कार्यान्वयनका दृष्टिले गम्भीर चुनौतीका रूपमा विकसित हुँदै गएको छ। गृह मन्त्रालयअन्तर्गतको लागूऔषध नियन्त्रण ब्यूरो तथा नेपाल प्रहरीका तथ्याङ्कले लागूऔषधसम्बन्धी अपराध, बरामद र पक्राउको क्रम निरन्तर बढिरहेको देखाउँछन्। आर्थिक वर्ष २०८१/८२ मा मात्रै नेपाल प्रहरीले ५,११० वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता गरेको र ७,९४३ जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरूमध्ये अधिकांश १६–४० वर्ष उमेर समूहका युवा रहेका छन्। सोही अवधिमा प्रहरीले ४८.५ किलोग्राम ब्राउन हेरोइन, १८५ किलोग्राम अफिम, २०.९ किलोग्राम कोकिन, ८२९ किलोग्राम चरेस, ५१.४ किलोग्राम गाँजा, २ लाख २० हजारभन्दा बढी विभिन्न प्रकारका इन्जेक्सन एम्पुल, ९३ हजारभन्दा बढी नाइट्राजेपाम ट्याब्लेट तथा करिब ८,९४० बोतल कोडिनयुक्त कफ सिरप बरामद गरेको विवरण सार्वजनिक गरेको छ।
लागूऔषध प्रयोगकर्ताको अवस्थाबारे उपलब्ध राष्ट्रिय सर्वेक्षण (२०७६) अनुसार नेपालमा अनुमानित १,३०,४२५ जना लागूऔषध प्रयोगकर्ता रहेका थिए। तीमध्ये १,२१,६९२ (९३.३%) पुरुष र ८,७३२ (६.७%) महिला थिए, जसले समस्या पुरुषमा बढी देखिए पनि महिलामा पनि क्रमशः विस्तार हुँदै गएको संकेत गर्दछ।
प्रदेशगत वितरणले पनि तराई र शहरी क्षेत्रको संवेदनशीलता देखाउँछ। बागमती प्रदेशमा सबैभन्दा धेरै ४६,४८०, त्यसपछि कोशी प्रदेशमा २७,६०५, लुम्बिनीमा २५,९३०, मधेश प्रदेशमा १५,८४३, गण्डकीमा ८,९५६, सुदूरपश्चिममा ३,८०८ र कर्णालीमा १,८११ अनुमानित लागूऔषध प्रयोगकर्ता रहेका थिए। मधेश प्रदेशको कुल संख्या राष्ट्रिय स्तरमा बागमती र लुम्बिनीपछि भए पनि सिरहा, सप्तरी, धनुषा, महोत्तरी, पर्सा, बारा र रौतहटजस्ता सीमावर्ती जिल्लाहरू लागूऔषध ओसारपसारका प्रमुख जोखिम क्षेत्रका रूपमा बारम्बार प्रहरी कारबाहीमा देखिने गरेका छन्।
उमेरगत विश्लेषणले समस्या मुख्यतः युवा पुस्तामा केन्द्रित रहेको देखाउँछ। राष्ट्रिय सर्वेक्षणअनुसार २०–२४ वर्ष उमेर समूहमा ३४.३ प्रतिशत र २५–२९ वर्ष उमेर समूहमा ३५.२ प्रतिशत लागूऔषध प्रयोगकर्ता रहेका छन्। अर्थात् करिब ७० प्रतिशतभन्दा बढी प्रयोगकर्ता २० देखि २९ वर्ष उमेर समूहभित्र पर्दछन्। महिलामा पनि २०–२४ वर्ष उमेर समूह सबैभन्दा बढी जोखिमयुक्त रहेको तथ्याङ्कले देखाएको छ।
जिल्लागत रूपमा नेपाल प्रहरीले पछिल्ला वर्षहरूमा सिरहा, सप्तरी, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, बाँके, कैलाली र कञ्चनपुर लगायतका सीमावर्ती जिल्लाबाट ब्राउन सुगर, ट्रामाडोल, कोडिनयुक्त सिरप तथा अन्य मनोप्रभावी पदार्थका उल्लेखनीय बरामद र पक्राउका घटनाहरू सार्वजनिक गर्दै आएको छ। यी जिल्लाहरू खुला सीमा, सीमावर्ती बजार, तीव्र आवागमन र अन्तरदेशीय आपराधिक सञ्जालका कारण उच्च जोखिममा रहेको प्रहरीको विश्लेषणले देखाउँछ।
विश्व स्वास्थ्य संगठनले लागूऔषधको लतलाई नैतिक कमजोरी नभई उपचारयोग्य दीर्घकालीन स्वास्थ्य समस्या मानेको छ भने संयुक्त राष्ट्रसंघीय लागूऔषध तथा अपराध कार्यालयले दक्षिण एशियामा विशेषगरी सिंथेटिक लागूऔषध, चिकित्सकीय औषधिको दुरुपयोग र सीमापार तस्करी तीव्र रूपमा बढ्दै गएको चेतावनी दिएको छ। त्यसैले नेपालको चुनौती केवल कानुनी नियन्त्रणमा सीमित छैन; रोकथाम, मानसिक स्वास्थ्य सेवा, पुनःस्थापना, युवा रोजगारी, परिवार–केन्द्रित हस्तक्षेप र प्रभावकारी सीमा व्यवस्थापनलाई समान प्राथमिकता दिनुपर्ने आवश्यकता तथ्याङ्कले स्पष्ट रूपमा औँल्याइरहेको छ।
कुलतका बहुआयामिक प्रभाव
लागूऔषधको लतले व्यक्तिको शरीरलाई मात्र होइन, मस्तिष्कको संरचना, कार्यप्रणाली र व्यवहारलाई समेत गम्भीर रूपमा प्रभावित गर्छ। आधुनिक स्नायुविज्ञानका अनुसार कोकिन, हेरोइन, ब्राउन सुगर, मेथाम्फेटामिन, ओपिओइड तथा अन्य मनोप्रभावी पदार्थले मस्तिष्कको रिवार्ड सिस्टममा प्रत्यक्ष असर पुर्याउँछन्। यी पदार्थहरूले डोपामिनको अस्वाभाविक स्राव गराउँछन्, जसका कारण व्यक्तिले क्षणिक आनन्दको अनुभूति त गर्छ, तर निरन्तर प्रयोगसँगै मस्तिष्कको स्वाभाविक सन्तुलन बिग्रँदै जान्छ। परिणामस्वरूप निर्णय गर्ने क्षमता, तर्कशक्ति, आत्मनियन्त्रण, स्मरणशक्ति तथा समस्या समाधान गर्ने बौद्धिक क्षमता कमजोर हुँदै जान्छ। विश्व स्वास्थ्य संगठनले लागूऔषधको लतलाई दीर्घकालीन, पुनः दोहोरिन सक्ने मस्तिष्कसम्बन्धी स्वास्थ्य समस्या मानेको छ।
यसको प्रत्यक्ष असर शिक्षामा पनि देखिन्छ। कुलतमा फसेका विद्यार्थीहरूमा विद्यालय वा कलेजप्रति रुचि घट्ने, नियमित उपस्थितिमा कमी आउने, परीक्षा नतिजा कमजोर हुने तथा अन्ततः पढाइ नै छोड्ने सम्भावना उल्लेखनीय रूपमा बढ्छ। मानसिक तनाव, चिन्ता, अवसाद, अनिद्रा, आत्मसम्मानमा गिरावट तथा आत्महत्याको जोखिमसमेत बढ्न सक्ने विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानहरूले देखाएका छन्। केही अवस्थामा लागूऔषधको अत्यधिक प्रयोगले मनोविकृति , भ्रम र हिंसात्मक व्यवहारसमेत उत्पन्न गर्न सक्छ।
लागूऔषधको दोस्रो ठूलो प्रभाव परिवारमा देखिन्छ। परिवार कुनै पनि व्यक्तिको पहिलो सामाजिक संस्था हो, तर कुलतले यही संस्थालाई सबैभन्दा बढी कमजोर बनाउँछ। लागूऔषधको नियमित प्रयोगसँगै घरको आम्दानी उपचार, नशाजन्य पदार्थ खरिद वा त्यससँग सम्बन्धित गतिविधिमा खर्चिन थालिन्छ। आर्थिक अभाव, पारिवारिक विवाद, घरेलु हिंसा, दाम्पत्य सम्बन्धमा तनाव तथा अभिभावक–सन्तानबीचको विश्वासमा गम्भीर क्षति पुग्न सक्छ। धेरै परिवार ऋणको भारमा पर्छन्, सम्पत्ति बेच्न बाध्य हुन्छन् वा सामाजिक रूपमा कलङ्कको सामना गर्नुपर्छ। कुलतले परिवारको भावनात्मक सुरक्षा, सामाजिक प्रतिष्ठा र आर्थिक स्थायित्वलाई एकैसाथ कमजोर बनाउने भएकाले यसलाई केवल व्यक्तिगत समस्या भन्न सकिँदैन।
तेस्रो तहमा यसको असर सम्पूर्ण समाज र राष्ट्रमा विस्तार हुन्छ। कुलतका कारण विद्यालय छाड्ने युवाको संख्या बढ्नु, बेरोजगारी, श्रम उत्पादकत्वमा कमी, चोरी, डकैती, घरेलु तथा सार्वजनिक हिंसा, सडक दुर्घटना, लैङ्गिक हिंसा र संगठित अपराधजस्ता समस्या बढ्न सक्छन्। लागूऔषधको अवैध कारोबारले आपराधिक सञ्जाललाई बलियो बनाउने, भ्रष्टाचारलाई प्रोत्साहन गर्ने तथा कानुन कार्यान्वयन प्रणालीमाथि थप दबाब सिर्जना गर्ने जोखिम पनि रहन्छ। सार्वजनिक स्वास्थ्य प्रणालीमा उपचारको खर्च बढ्नु, पुनःस्थापना केन्द्रको आवश्यकता विस्तार हुनु तथा कारागारमा लागूऔषधसम्बन्धी मुद्दाको चाप बढ्नुले राज्यको आर्थिक स्रोतमा समेत अतिरिक्त भार पर्छ। यसरी कुलतले मानव पुँजीलाई कमजोर बनाउँदै दीर्घकालीन आर्थिक विकास र सामाजिक स्थिरतामा प्रतिकूल प्रभाव पार्छ।
यही कारणले आज विश्वभर लागूऔषधको समस्यालाई केवल कानुनी अपराध वा नैतिक विचलनका रूपमा होइन, सार्वजनिक स्वास्थ्य , मानसिक स्वास्थ्य, सामाजिक सुरक्षा र मानव विकाससँग प्रत्यक्ष जोडिएको बहुआयामिक चुनौतीका रूपमा हेरिन्छ। प्रभावकारी नियन्त्रणका लागि कानुनी कारबाही मात्र पर्याप्त हुँदैन; रोकथाम, विद्यालय–आधारित जीवन–सीप शिक्षा, परिवार–केन्द्रित परामर्श, मानसिक स्वास्थ्य सेवा, पुनःस्थापना, रोजगारी सिर्जना तथा समुदायको सक्रिय सहभागिता समेटिएको समन्वित नीति अपरिहार्य हुन्छ। स्वस्थ युवा नै राष्ट्रको सबैभन्दा ठूलो सम्पत्ति भएकाले कुलतविरुद्धको अभियान वास्तवमा मानव विकास र समृद्ध भविष्यको अभियान हो।
समाज कति सुरक्षित? : कुलतको बढ्दो संकट र नेपालको सामाजिक सुरक्षा
यदि विद्यालयका कक्षाकोठाभित्र किशोरकिशोरीहरू लागूऔषधको प्रयोगमा संलग्न हुन थालेका छन्, यदि परिवारभित्र अभिभावक र सन्तानबीचको संवाद क्रमशः कमजोर बन्दै गएको छ, यदि सीमापार लागूऔषधको अवैध कारोबारले स्थानीय समुदायमा सहज पहुँच बनाइरहेको छ र यदि ठूलो संख्यामा युवाहरू बेरोजगारी, निराशा तथा भविष्यप्रतिको अनिश्चितताबाट ग्रसित छन् भने त्यस्तो समाजलाई पूर्ण रूपमा सुरक्षित भन्न सकिँदैन। समाजको सुरक्षा केवल अपराध नियन्त्रणको सूचक होइन; यो नागरिकको शारीरिक, मानसिक, सामाजिक र आर्थिक सुरक्षाको समग्र अवस्था हो। त्यसैले कुलतको समस्या सार्वजनिक स्वास्थ्य, मानव विकास र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सम्बन्धित विषय बनेको छ।
परम्परागत रूपमा सुरक्षा भन्नासाथ प्रहरी, सेना वा कानुनी संयन्त्रलाई बुझ्ने गरिन्छ। तर आधुनिक मानव सुरक्षाको अवधारणाअनुसार वास्तविक सुरक्षा त्यतिबेला सुनिश्चित हुन्छ, जब नागरिकले स्वस्थ जीवन, गुणस्तरीय शिक्षा, सम्मानजनक रोजगारी, मानसिक स्वास्थ्य सेवा, सामाजिक न्याय, सुरक्षित पारिवारिक वातावरण र समुदायबाट विश्वास तथा सहयोग प्राप्त गर्छन्। संयुक्त राष्ट्र विकास कार्यक्रमले मानव सुरक्षालाई व्यक्तिको भय र अभाव दुवैबाट मुक्त जीवनसँग जोडेको छ। यस दृष्टिकोणबाट हेर्दा कुलतको बढ्दो समस्या समाजभित्रका संरचनागत कमजोरीहरूको संकेत पनि हो।
लागूऔषधको लतमा फस्ने अधिकांश व्यक्ति उत्पादनशील उमेर समूहका युवा हुन्छन्। यही समूह राष्ट्रको श्रमशक्ति, नवप्रवर्तन, उद्यमशीलता र आर्थिक विकासको मुख्य आधार हो। जब यही जनशक्ति कुलतका कारण शारीरिक, मानसिक वा सामाजिक रूपमा निष्क्रिय बन्छ, त्यसको प्रत्यक्ष असर राष्ट्रिय उत्पादकत्वमा पर्छ। अध्ययन छोड्ने, सीप विकासमा अवरोध आउने, श्रम बजारबाट बाहिरिने तथा समयभन्दा अघि स्वास्थ्य समस्याबाट ग्रसित हुने क्रम बढ्दा राष्ट्रले दीर्घकालीन रूपमा ठूलो आर्थिक क्षति बेहोर्नुपर्छ। सार्वजनिक स्वास्थ्य सेवामा उपचारको खर्च, पुनःस्थापना केन्द्र सञ्चालन, कानुन कार्यान्वयन, कारागार व्यवस्थापन तथा सामाजिक संरक्षणका लागि राज्यले थप स्रोत परिचालन गर्नुपर्ने अवस्था सिर्जना हुन्छ।
यससँगै सामाजिक पूँजी पनि कमजोर बन्छ। परिवारभित्रको विश्वास, छिमेकीबीचको सहकार्य, विद्यालयको अनुशासन, समुदायको एकता र नागरिकबीचको पारस्परिक उत्तरदायित्व क्रमशः क्षीण हुन थाल्छ। लागूऔषधसँग सम्बन्धित चोरी, हिंसा, घरेलु कलह, सडक दुर्घटना तथा संगठित अपराध बढ्दा नागरिकमा असुरक्षाको भावना विस्तार हुन्छ। यसले लगानी, पर्यटन, सामाजिक स्थिरता र समग्र आर्थिक विकासमा समेत नकारात्मक प्रभाव पार्न सक्छ। त्यसैले कुलतको नियन्त्रण केवल स्वास्थ्य वा प्रहरी प्रशासनको जिम्मेवारी नभई परिवार, विद्यालय, स्थानीय सरकार, स्वास्थ्य संस्था, नागरिक समाज र समुदायको साझा उत्तरदायित्व हो। सुरक्षित समाज निर्माणका लागि लागूऔषधविरुद्धको अभियानलाई विकास, शिक्षा, मानसिक स्वास्थ्य र सामाजिक न्यायसँग एकीकृत गर्दै अघि बढाउनु आजको अपरिहार्य आवश्यकता हो।
निष्कर्ष
कुलत आज नेपालको सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा, मानव विकास र राष्ट्रिय समृद्धिसँग प्रत्यक्ष जोडिएको बहुआयामिक चुनौती हो। विशेषतः तराईका सीमावर्ती जिल्लाहरूमा देखिएको लागूऔषधको बढ्दो पहुँच, युवामाझ फैलँदै गएको दुर्व्यसन, सीमापार आपराधिक सञ्जाल तथा सामाजिक आर्थिक जोखिमहरूले समयमै प्रभावकारी हस्तक्षेपको आवश्यकता स्पष्ट पारेका छन्। त्यसैले समाधान पनि बहुआयामिक हुनुपर्छ। परिवारमा संवाद र विश्वासको वातावरण, विद्यालयमा जीवन–सीप तथा मानसिक स्वास्थ्य शिक्षा, समुदायमा सचेतना, स्थानीय तहको सक्रिय नेतृत्व, वैज्ञानिक प्रमाणमा आधारित नीति, प्रभावकारी सीमा व्यवस्थापन, गुणस्तरीय पुनःस्थापना सेवा तथा युवाका लागि शिक्षा, रोजगारी र सिर्जनात्मक अवसरको विस्तारलाई एकीकृत रूपमा अघि बढाउनु अपरिहार्य छ। नेल्सन मण्डेलाको भनाइ— “कुनै समाजको आत्माको वास्तविक परिचय त्यसले आफ्ना बालबालिका र युवाप्रति कस्तो व्यवहार गर्छ भन्नेबाट हुन्छ”— आज नेपालको सन्दर्भमा झन् सान्दर्भिक बनेको छ।
कुनै राष्ट्रको समृद्धि प्राकृतिक स्रोत, भौतिक पूर्वाधार वा आर्थिक सूचकाङ्कले मात्र निर्धारण गर्दैन; त्यसको वास्तविक शक्ति स्वस्थ, शिक्षित, नैतिक र सिर्जनशील युवा पुस्तामा निहित हुन्छ। यदि युवालाई कुलत, निराशा र अपराधको चक्रबाट मुक्त राख्न सकिएन भने दीर्घकालीन विकास, सामाजिक सद्भाव र लोकतान्त्रिक स्थायित्वसमेत जोखिममा पर्न सक्छ। त्यसैले आजको मूल प्रश्न कति युवा कुलतमा छन् भन्ने होइन, हामीले उनीहरूलाई कुलतबाट जोगाउन परिवार, विद्यालय, समुदाय र राज्यका रूपमा कति जिम्मेवारीपूर्वक काम गरिरहेका छौँ भन्ने हो। यही प्रश्नको उत्तरले नेपालको सामाजिक भविष्य, आर्थिक समृद्धि र सभ्यताको दिशालाई निर्धारण गर्नेछ।
सन्दर्भ सामग्री
१. नेपाल सरकार, गृह मन्त्रालय। (२०८१)। लागूऔषध नियन्त्रण ब्यूरोको वार्षिक प्रतिवेदन। काठमाडौंः गृह मन्त्रालय।
२. नेपाल प्रहरी। (२०८१)। वार्षिक अपराध तथ्याङ्क तथा लागूऔषध नियन्त्रणसम्बन्धी विवरण। काठमाडौंः नेपाल प्रहरी प्रधान कार्यालय।
३. नेपाल सरकार, गृह मन्त्रालय। (संशोधित संस्करण)। लागूऔषध (नियन्त्रण) ऐन, २०३३। काठमाडौंः नेपाल सरकार।
४. विश्व स्वास्थ्य संगठन। (२००४)। मनोप्रभावी पदार्थको प्रयोग र निर्भरताको स्नायुवैज्ञानिक आधार। जेनेभाः विश्व स्वास्थ्य संगठन।
५. विश्व स्वास्थ्य संगठन। (२०२४)। मानसिक स्वास्थ्य, लागूऔषध तथा सार्वजनिक स्वास्थ्यसम्बन्धी प्रतिवेदन। जेनेभाः विश्व स्वास्थ्य संगठन।
६. संयुक्त राष्ट्रसंघीय लागूऔषध तथा अपराध कार्यालय। (२०२५)। विश्व लागूऔषध प्रतिवेदन। भियनाः संयुक्त राष्ट्रसंघ।
७. संयुक्त राष्ट्र बालकोष (युनिसेफ) नेपाल। (२०२१)। नेपालका किशोर–किशोरीको मानसिक स्वास्थ्य तथा जोखिमपूर्ण व्यवहारसम्बन्धी अध्ययन प्रतिवेदन। काठमाडौंः युनिसेफ नेपाल।
८. संयुक्त राष्ट्र विकास कार्यक्रम। (१९९४)। मानव विकास प्रतिवेदन : मानव सुरक्षाको नयाँ आयाम। न्युयोर्कः संयुक्त राष्ट्र विकास कार्यक्रम।
९. नेपाल स्वास्थ्य अनुसन्धान परिषद्। (२०२२)। नेपालमा मानसिक स्वास्थ्य तथा लागूऔषध प्रयोगसम्बन्धी अनुसन्धान प्रतिवेदन। काठमाडौंः नेपाल स्वास्थ्य अनुसन्धान परिषद्।
१०. नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय। (२०२०)। नेपाल स्वास्थ्य क्षेत्र रणनीति तथा मानसिक स्वास्थ्यसम्बन्धी राष्ट्रिय नीति दस्तावेज। काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय।