काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजित नागरिक, नीति र नेतृत्व संवाद कार्यक्रममा सहभागीहरूले नोटबन्दीको सम्भावनाबारे जिज्ञासा राखेपछिअर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले हाल नोटबन्दी गर्ने विषयलाई नीतिगत विकल्पका रूपमा अघि नबढाएको स्पष्ट पारेका छन्।
कार्यक्रममा नागरिकबाट नोटबन्दी नगर्नुको कारणबारे प्रश्न उठेपछि उनले अहिलेको अवस्थामा यस्तो निर्णय उपयुक्त नहुने बताएका थिए। उनका अनुसार नोटबन्दीसम्बन्धी प्रश्नहरू छलफलका क्रममा उठे पनि सरकारले त्यसबारे कुनै तयारी वा निर्णय अघि बढाएको छैन।
अर्थमन्त्री वाग्लेले विभिन्न देशमा नोटबन्दीको अभ्यास गरिए पनि त्यसबाट प्राप्त परिणाम उत्साहजनक नरहेको उल्लेख गरे। यही अनुभवका आधारमा पनि तत्काल नोटबन्दीलाई उपयुक्त उपायका रूपमा नलिइएको उनको भनाइ थियो।
सरकारले अर्थतन्त्र तथा वित्तीय व्यवस्थापनसँग सम्बन्धित नीतिगत निर्णय गर्दा त्यसको प्रभाव र अन्तर्राष्ट्रिय अनुभवलाई समेत आधार बनाउने उनको अभिव्यक्तिबाट देखिन्छ। अहिलेका लागि भने प्रचलनमा रहेका नोट खारेज गर्ने वा नयाँ नोटमार्फत मौद्रिक प्रणालीमा ठूलो परिवर्तन गर्ने विषय सरकारको प्राथमिकतामा नरहेको उनले स्पष्ट पारेका छन्।