काठमाडौँ– सरकारले गाँजाको व्यावसायिक तथा औषधिजन्य उत्पादनलाई कानूनी दायरामा ल्याउने विषयमा सकारात्मक धारणा राखेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसका लागि आवश्यक कानूनी प्रक्रिया अघि बढाउन गृह मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शुक्रवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले गाँजा खेतीलाई व्यवस्थित र नियन्त्रित रूपमा सञ्चालन गर्न सकिने सम्भावनाबारे सरकारले गम्भीरतापूर्वक अध्ययन गरिरहेको बताए।
उनका अनुसार गाँजाको उत्पादन र बजारीकरणलाई केवल आम्दानी, रोजगारी तथा राजश्व वृद्धिसँग मात्र जोडेर हेर्न नहुने भएकाले यसको औषधीय उपयोग र नियन्त्रित उत्पादनको पक्षलाई समेत ध्यान दिन आवश्यक छ।
मन्त्री वाग्लेले विज्ञहरूको अध्ययन र निष्कर्षका आधारमा आवश्यक कानून निर्माण गरी गाँजा खेतीलाई व्यवस्थित गर्न सके अर्थ मन्त्रालयले पूर्ण सहयोग गर्ने स्पष्ट पारे।
उनले विगतमा विभिन्न कारणले गाँजामाथि प्रतिबन्ध लगाइए पनि अहिले विश्वका केही मुलुकहरू नियन्त्रित प्रयोग र उत्पादनतर्फ अघि बढिरहेको उल्लेख गर्दै नेपालले पनि उपलब्ध सम्भावनालाई अध्ययन गरेर अघि बढ्नुपर्ने बताए।
‘गाँजाको व्यावसायिक र औषधिजन्य उपयोगका बारेमा सार्वजनिक बहस भइरहेको छ र विगतका बजेटमा पनि यसको सम्भाव्यता अध्ययन गर्ने विषय उल्लेख भइसकेको छ,’ मन्त्री वाग्लेले भने, ‘गृह मन्त्री र गृह मन्त्रालयसँग समन्वय गरी यसलाई प्राथमिकताका साथ अगाडि बढाउने आश्वासन दिन चाहन्छु।’
गाँजा खेतीसम्बन्धी विषय मुख्यतः गृह मन्त्रालयको कार्यक्षेत्रमा पर्ने भएकाले आवश्यक कानूनी निक्र्यौल र थप अध्ययनका लागि गृह मन्त्रालयसँग समन्वय गरिने उनको भनाइ छ।
मन्त्री वाग्लेले औद्योगिक विकास, रोजगारी सिर्जना तथा सरकारी राजश्व वृद्धिको सम्भावनालाई समेत ध्यानमा राखेर गाँजा खेतीसम्बन्धी नीतिगत विषयलाई अघि बढाउन अर्थ मन्त्रालय सकारात्मक रहेको बताए। उनले यस विषयलाई लामो समय अल्झाएर नराखी आवश्यक अध्ययन र कानूनी प्रक्रियामार्फत निष्कर्षमा पुर्याउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।