काठमाडौँ– सरकारले रासायनिक मलको आपूर्ति व्यवस्थामा देखिएका समस्या पहिचान गरी त्यसको तत्कालीन तथा दीर्घकालीन समाधान खोज्न १२ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अर्यालले शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मल आपूर्तिसम्बन्धी समस्या समाधानका लागि कार्यदल गठन गरिएको जानकारी दिएका हुन्।
उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवको संयोजकत्वमा गठन गरिएको कार्यदलमा कृषि, वन तथा पर्यावरण मन्त्रालय तथा मातहतका निकाय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालयलगायत विभिन्न सरकारी निकायका प्रतिनिधि सदस्य छन्।
कार्यदलले नेपालमा रासायनिक मलको आपूर्ति व्यवस्थामा देखिएका समस्या, त्यसका कारण तथा समाधानका सम्भावित उपायबारे अध्ययन गर्नेछ। अध्ययनपछि तत्काल कार्यान्वयन गर्न सकिने उपायसँगै दीर्घकालीन रूपमा मल आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउने विकल्पसमेत सरकारलाई सिफारिस गर्नेछ।
सरकारले कार्यदललाई गठन भएको मितिले ६० दिनभित्र अध्ययन सम्पन्न गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिससहितको प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ।
प्रवक्ता अर्यालका अनुसार मल आपूर्तिमा देखिएका समस्या समाधानका लागि सम्बन्धित मन्त्रालय तथा निकायबीच समन्वय गरी अध्ययन अघि बढाइनेछ। कार्यदलको प्रतिवेदनका आधारमा सरकारले मल आपूर्तिलाई व्यवस्थित र प्रभावकारी बनाउने सम्बन्धमा आवश्यक निर्णय लिने अपेक्षा गरिएको छ।