सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन सबै कार्यालयलाई पुनः निर्देशन - Chaitanya News
  • 2026-08-21
  • 15:44:44
  • शुक्रबार,भाद्र ०५, २०८३
  • सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन सबै कार्यालयलाई पुनः निर्देशन

    सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन सबै कार्यालयलाई पुनः निर्देशन

    काठमाडौँ– सरकारले सरकारी कार्यालयमा हुने वस्तु तथा सेवाको खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी निकायलाई पुनः निर्देशन दिएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र आयात प्रतिस्थापनलाई जोड दिँदै सरकारले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन कार्यालयहरूलाई पत्राचार गरेको हो।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अर्यालले शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा नेपाली उत्पादनको प्रयोग बढाउन पुनः स्मरण गराइएको जानकारी दिए।

    उनका अनुसार सरकारी कार्यालयमा आयोजना हुने बैठक, समारोह तथा विभिन्न कार्यक्रमका लागि प्रयोग हुने कोसेली, उपहार र सजावटका सामग्रीमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तु प्रयोग गर्न निर्देशन दिइएको छ।

    त्यस्तै, कार्यालयमा आवश्यक पर्ने स्टेसनरी, छपाइ तथा फर्निचरका सामग्री, निर्माण सामग्री, मेसिनरी तथा उपकरण, कृषि तथा पशुजन्य उत्पादन, खाद्य तथा पेय पदार्थ खरिद गर्दा पनि प्रचलित कानून र सार्वजनिक खरिदसम्बन्धी व्यवस्थाको दायराभित्र रहेर स्वदेशी उत्पादनलाई प्राथमिकता दिन भनिएको छ।

    सरकारले स्वदेशी उत्पादनको प्रयोग बढाउँदा स्थानीय सीप, उद्यम र उद्योगको संरक्षण हुनुका साथै रोजगारी सिर्जना र आयात घटाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।

    प्रवक्ता अर्यालले स्वदेशी वस्तु तथा सेवाको उत्पादन र प्रयोग सरकारको प्राथमिकतामा रहेको बताए। उनका अनुसार सरकारी निकायबाट हुने खरिदमा नेपाली उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्बन्धित सबै कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन पुनः पत्राचार गरिएको हो।