विराटनगर– आज (सोमबार) नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ।
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच साउन पहिलो साता भएको तीनबुँदे सहमतिपछि आज नेकपा प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको हो।
९ मन्त्रालय रहेको प्रदेशमा नेकपाबाट ४ जना मन्त्री सहभागी हुनेछन्। मुख्यमन्त्रीसहित ५ मन्त्रालयको नेतृत्व एमालेले गर्नेछ।
नेकपाभित्र आकांक्षी धेरै भएका कारण मन्त्री छान्नका लागि नेकपाका नेताहरू छलफलमा छन्। नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार दलले आजै सरकारमा पठाउने मन्त्री छान्नेछ।
नेकपाले मन्त्री छानेपछि आज दिउँसो ३ बजेपछि शपथ कार्यक्रमको तयारी गरिएको छ।