सारांश
अभिभावकः साच्चिकै भगवान बन्न सक्नु पर्छ।
“मातृदेवो भव, पितृदेवो भव ।” अर्थात्, माता र पिता साक्षात् देवता हुन्। वैदिक वाङ्मयको यो दिव्य उद्घोषले अभिभावकत्वलाई केवल जैविक प्रक्रिया मात्र मानेको छैन, यसलाई एक परम पवित्र, आध्यात्मिक र दैविय जिम्मेवारीको रूपमा स्थापित गरेको छ।
हिजो एउटा समय थियो, जब बालबालिकाका आधारभूत आवश्यकताहरू: गाँस, वास, कपास र सामान्य साक्षरता पूरा गरिदिए पुग्थ्यो। संयुक्त परिवार हुन्थे, समाजमा सामूहिक उत्तरदायित्व हुन्थ्यो र खुला प्राकृतिक वातावरण हुन्थ्यो। तर आज समयको गतिशीलता र वैश्विक चेतना (Global Consciousness) को विकासले गर्दा अभिभावकीय जिम्मेवारी गुणात्मक रूपमा बढेर गएको छ। आजका बालबालिका सूचनाको महासागरमा पौडी खेलिरहेका छन् तर सही दिशा पत्ता लगाउन संघर्ष गरिरहेका छन्। यस्तो जटिल विश्व परिवेश र संक्रमणकालीन नेपाली समाजमा जतिबेला अभिभावक साँच्चिकै ‘भगवान’ र घर ‘मन्दिर’ बन्छ, तब मात्र हरेक बालबालिकाको सुनौलो भविष्यको बलियो जग निर्माण हुन्छ।
यस लेख मार्फत अभिभावकत्वको बृहत् आयामलाई वैदिक, वैज्ञानिक, व्यावहारिक, पारिवारिक, भावनात्मक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्ने प्रयाल गरिएको छ।
वैदिक दृष्टिकोण र दृष्टान्त: संस्कार र देवत्यको अनुभुति :
वैदिक दर्शनमा मातापितालाई सृष्टिका जीवन्त र प्रत्यक्ष देवता मानिएको छ। अदृश्य भगवानको अनुपस्थितिलाई पूर्ति गर्न र संसारमा प्रेम, करुणा एवं सृष्टिको निरन्तरता कायम राख्न प्रकृतिले अभिभावकको रूपमा ‘भगवान’ कै प्रतिनिधित्व पठाएको हो भन्ने वैदिक मान्यता छ।
विज्ञानले भन्छ:- बालबालिकाको मस्तिष्क जन्मँदा एउटा ‘खाली पाना’ (Tabula Rasa) जस्तै हुन्छ। आधुनिक न्यूरोसाइन्स (Neuroscience) र एपिजेनेटिक्स (Epigenetics) को अनुसन्धानले प्रमाणित गरिसकेको छ कि बालबालिकाको मस्तिष्कको ९० प्रतिशत विकास आमाको गर्भदेखि र सुरुवाती ५ देखि ८ वर्षभित्रै भइसक्छ। यस अवधिमा उनीहरूले जे देख्छन्, जे सुन्छन् र जस्तो वातावरण पाउँछन्, उनीहरूको मस्तिष्कका ‘न्यूरोनल कनेक्सन’ (Neuronal Connections) हरू त्यसरी नै बन्छन्।
वैज्ञानिक तथ्य र हर्मोनको खेल: वैज्ञानिकहरूका अनुसार, यदि घरमा सधैँ तनाव, झगडा र नकारात्मक वातावरण छ भने बालबालिकाको मस्तिष्कमा ‘कोर्टिसोल’ (Cortisol) नामक तनाव हर्मोन बढी मात्रामा उत्पादन हुन्छ। यसले उनीहरूको सिक्ने क्षमता र संवेगात्मक विकासलाई स्थायी रूपमा कमजोर बनाउँछ। यसको विपरीत, जुन घरमा अभिभावकहरूले प्रेम, सुरक्षा र सकारात्मक प्रोत्साहन दिन्छन्, त्यहाँ ‘अक्सिटोसिन’ (Oxytocin) र ‘डोपामाइन’ (Dopamine) जस्ता खुसीका हर्मोनहरू बढी सक्रिय हुन्छन्, जसले बौद्धिक क्षमता (IQ) र संवेगात्मक क्षमता (EQ) बढाउँछ।
विश्व परिवेशको दृष्टान्त : फिनल्याण्ड वा जापान जस्ता विकसित देशहरूमा प्रारम्भिक बाल्यकाल विकास (Early Childhood Development) मा अभिभावकको भूमिकालाई वैज्ञानिक रूपमा उच्च प्राथमिकता दिइन्छ। त्यहाँ अभिभावकहरूलाई बच्चाहरूसँग गुणस्तरीय समय (Quality Time) बिताउन सिकाउने विशेष कार्यक्रमहरू सरकारले नै सञ्चालन गर्छ। नेपालमा पनि अब अभिभावकहरूले वैज्ञानिक सत्यलाई स्वीकार गर्दै ‘बच्चा त हो, पछि आफैँ बुझ्छ’ भन्ने पुरातन सोच त्याग्नुपर्छ।
व्यावहारिक दृष्टिकोण: प्रविधिको चुनौती र डिजिटल अभिभावकत्व:
आजको युग ‘डिजिटल र एआई युग’ हो। विश्व आज एउटा सानो प्रविधि-गाउँ (Global Village) मा परिणत भएको छ। नेपालकै विकट गाउँका बालबालिकाको हातमा पनि आज स्मार्टफोन र इन्टरनेट पुगिसकेको छ। हिजोका अभिभावकका अगाडि बच्चालाई कुपोषण वा बाहिरी भौतिक असुरक्षाबाट बचाउने मात्र चुनौती थियो भने, आजका अभिभावकका अगाडि ‘डिजिटल कुपोषण’ (Digital Malnutrition), ग्याँजेट्सको लत र साइबर अपराधबाट बचाउने ठूलो व्यावहारिक चुनौती खडा भएको छ।
व्यावहारिक दृष्टान्त र गल्ती: आज धेरै घरहरूमा ‘स्क्रिन टाइम’ (Screen Time) को ठूलो समस्या छ। आमाबुबा आफैँ फेसबुक, टिकटक वा इन्स्टाग्राममा व्यस्त रहन्छन् र बच्चा रोयो वा झर्को गऱ्यो भने उसको हातमा युट्युब खोलेर मोबाइल थमाइदिन्छन्। यो व्यावहारिक रूपमा अत्यन्तै घातक सिद्ध भइरहेको छ, जसले बालबालिकामा ‘भर्चुअल अटिजम’ र सामाजिक अलगाव (Social Isolation) जस्ता गम्भीर समस्या निम्त्याइरहेको छ।
अभिभावक कसरी बन्ने भगवान?: व्यावहारिक दृष्टिकोणले अभिभावक भगवान बन्नु भनेको आफ्ना बानीहरूमा सुधार गर्नु हो। बच्चाले तपाईंको उपदेश सुन्दैन, उसले तपाईंको व्यवहारको पूर्ण नक्कल गर्छ (Children don’t do what you say, they do what you do)। यदि तपाईं घरलाई मन्दिर बनाउन चाहनुहुन्छ भने पहिले आफू डिजिटल लतबाट मुक्त हुनुपर्छ। हप्ताको एक दिन ‘डिजिटल डिटोक्स’ (Digital Detox) गर्ने, सँगै बसेर खाना खाने, दिव्य दन्त्यकथा सुनाउने र प्रकृतिको नजिक लैजाने जस्ता व्यावहारिक कदमहरू चाल्नै पर्छ।
पारिवारिक दृष्टिकोण: घरलाई ‘मन्दिर‘ बनाउने कला:
मन्दिर त्यो पवित्र स्थान हो जहाँ पुग्ने बित्तिकै मानिसले परम शान्ति, अभय (सुरक्षा) र पवित्रताको अनुभव गर्छ। जब घर मन्दिर बन्छ, तब बालबालिकाहरू बाहिरका विकृति, कुलत र दुर्व्यसन तर्फ कहिल्यै आकर्षित हुँदैनन्। पारिवारिक दृष्टिकोणले अभिभावकत्व एउटा साझा जिम्मेवारी हो, जहाँ आमा र बुबा दुवैको सन्तुलित भूमिका आवश्यक हुन्छ।
नेपाली परिवेशको तितो यथार्थ: वैदेशिक रोजगारीका कारण आज लाखौँ नेपाली परिवारहरू विखण्डित छन्। बुबा खाडी वा अन्य मुलुकमा श्रम गरिरहेका छन् भने आमा एक्लैले सन्तानको जिम्मेवारी उठाइरहेकी छिन्। कतिपय अवस्थामा दुवै अभिभावक व्यस्त हुँदा बालबालिकाहरू हजुरआमा-हजुरबुबाको भरमा वा होस्टेलको कृत्रिम वातावरणमा हुर्कन बाध्य छन्। यसले गर्दा पारिवारिक सामिप्यता (Family Bonding) कमजोर हुँदै गएको छ।
घरलाई मन्दिर बनाउने सूत्र: यस्तो चुनौतीपूर्ण परिवेशमा पनि उपलब्ध प्रविधिको सही प्रयोग गरेर (नियमित भिडियो कल, गुणस्तरीय संवाद) वा उपलब्ध समयलाई पूर्ण रूपमा बच्चामै केन्द्रित गरेर पारिवारिक रिक्ततालाई भर्न सकिन्छ। घरभित्र सधैँ सम्मान, सहयोग र सहकार्यको वातावरण हुनुपर्छ। बुबाले आमालाई र आमाले बुबालाई गर्ने सम्मान नै बच्चाले सिक्ने पहिलो पारिवारिक पाठ हो। जुन परिवारमा संवादको ढोका सधैँ खुला रहन्छ, त्यो परिवार साँच्चिकै मन्दिर बन्छ।
भावनात्मक दृष्टिकोण: विना-शर्त प्रेम र समानुभूति (Empathy):
भगवानको सबैभन्दा ठूलो गुण हो:- अगाध करुणा र विना-शर्त प्रेम (Unconditional Love)। भगवानले आफ्ना भक्तहरूलाई उनीहरूको गल्ती वा कमजोरीका बाबजुद पनि प्रेम र क्षमा प्रदान गर्छन्। अभिभावकहरू पनि आफ्ना सन्तानका लागि भावनात्मक रूपमा त्यस्तै ‘भगवान’ जस्तै उदार बन्न सक्नुपर्छ।
भावात्मक संकटको दृष्टान्त: वर्तमान विश्वमा र नेपालमा पनि किशोरकिशोरीहरूमाझ तनाव, नैराश्यता (Depression) र डिप्रेसनको दर बढ्दो छ। यसको मुख्य कारण भावनात्मक एक्लोपन हो। जब बालबालिकाहरूले परीक्षामा कम अंक ल्याउँछन्, वा कुनै गल्ती गर्छन्, तब उनीहरू अभिभावकको गाली वा समाजको डरले आफ्ना भावनाहरू लुकाउन थाल्छन्। उनीहरूलाई लाग्छ कि आमाबुबाले उनीहरूलाई तब मात्र माया गर्छन् जब उनीहरू उत्कृष्ट वा प्रथम हुन्छन्।
भावनात्मक अभिभावकत्व: भावनात्मक रूपमा सबल अभिभावकले बच्चालाई भन्न सक्नुपर्छ: “तिमी सफल होऊ वा असफल, तिम्रो अंक जतिसुकै आओस्, तिमी मेरो सन्तान हौ र म तिमीलाई सधैँ उत्तिकै प्रेम गर्नेछु।” बच्चालाई केवल सहानुभूति (Sympathy) मात्र होइन, समानुभूति (Empathy) को आवश्यकता हुन्छ। उसको उमेरमा झरेर, उसको ठाउँमा उभिएर उसको पीडा बुझ्नु नै भावनात्मक अभिभावकत्व हो। जब बच्चाले संसारभरि कतै ठाउँ नपाउँदा पनि आफ्ना आमाबुबाको काख सुरक्षित छ भन्ने अकाट्य विश्वास पाउँछ, तब उसको आत्मविश्वास कहिल्यै डगमगाउँदैन।
मनोवैज्ञानिक दृष्टिकोण: अनुशासन र पहिचानको खोजी:
मनोविज्ञानका अनुसार, बालबालिकाहरू विभिन्न उमेर समूहमा फरक-फरक मानसिक चरणहरू (Developmental Stages) बाट गुज्रिन्छन्। विशेष गरी किशोरावस्था (Adolescence) मा उनीहरूको शरीर र मस्तिष्कमा तीव्र हर्मोनल परिवर्तनहरू हुन्छन्। यो उमेर ‘आँधी र तुफान’ को उमेर हो, जहाँ उनीहरू आफ्नो पहिचान (Identity) खोजिरहेका हुन्छन्।
मनोवैज्ञानिक दृष्टान्त: प्रसिद्ध मनोवैज्ञानिक एरिक एरिक्सन (Erik Erikson) का अनुसार, किशोरावस्थामा बालबालिकाहरू “म को हुँ? मेरो अस्तित्व के हो?” भन्ने प्रश्नको उत्तर खोजिरहेका हुन्छन्। यस्तो बेला धेरैजसो अभिभावकहरू शासक (Authoritarian Parenting) बन्ने गल्ती गर्छन्, जसले गर्दा बच्चाहरू झन् बढी विद्रोही वा लुकिछिपी गल्ती गर्ने बन्छन्।
सकारात्मक अनुशासन (Positive Discipline): मनोवैज्ञानिक दृष्टिकोणले अभिभावक अब ‘कमाण्डर’ होइन, ‘गाइड’ वा साथी बन्नुपर्छ। बच्चालाई गल्ती गर्दा कडा शारीरिक वा मानसिक सजाय दिने होइन, गल्तीबाट सिक्ने र सच्चिने अवसर दिनुपर्छ। उसको मनोभावना बुझेर उसलाई सही र गलतको भिन्नता छुट्याउन सक्ने ‘विवेक’ को विकास गरिदिनु नै साँचो अर्थमा भगवान बन्नु हो।
निष्कर्ष: सुनौलो भविष्यको महामार्ग: विश्व परिवेश द्रुत गतिमा परिवर्तन भइरहेको छ र नेपाल पनि यसको प्रभावबाट अछुतो छैन। आज हाम्रा बालबालिकाहरू केवल नेपालका भौगोलिक नागरिक मात्र होइनन्, उनीहरू ‘विश्व नागरिक’ (Global Citizens) हुन्। उनीहरूले भोलि विश्व बजारमा प्रतिस्पर्धा गर्नुपर्नेछ। तर, विश्व बजारमा दह्रोसँग उभिनका लागि उनीहरूलाई केवल किताबी ज्ञान वा प्रविधि मात्र पुग्दैन; उनीहरूलाई बलियो पूर्वीय संस्कार, भावनात्मक स्थिरता र दृढ आत्मबल चाहिन्छ।
यो दृढ आत्मबल केवल त्यतिबेला मात्र निर्माण हुन सक्छ जब प्रत्येक घर रिस-राग र तनावमुक्त मन्दिर बन्छ र प्रत्येक अभिभावक आफ्ना सन्तानका लागि साँच्चिकै भगवान बन्न सक्छन्। भगवान बन्नु भनेको चामत्कारिक शक्ति देखाउनु होइन; भगवान बन्नु भनेको असीमित धैर्यता राख्नु, विना-शर्त प्रेम गर्नु, सही संस्कारको बीजारोपण गर्नु र बच्चाको सुनौलो भविष्यको लागि आफूलाई न्यायमूर्तिको रूपमा समर्पित गर्नु हो।
त्यसैले, आउनुहोस्, हामी आफ्ना बच्चाहरूका लागि समय निकालौँ, उनीहरूका साना-साना कुराहरू ध्यान दिएर सुनौँ, उनीहरूलाई न्याय र विवेकको बाटो देखाऔँ। जब हामी हाम्रा बालबालिकाका लागि साक्षात भगवान बन्न सक्छौँ, तब मात्र उनीहरूको भविष्य सुनौलो हुनेछ र समग्र राष्ट्र एवं विश्वकै कल्याण हुनेछ। घरलाई मन्दिर बनाउने र सन्तानको भविष्य उज्यालो पार्ने पवित्र महायज्ञको सुरुवात आजैबाट, आफ्नै घरबाट गरौँ।
सम्पूर्णमा भगवानरूपि अभिभावक वन्ने प्रेरणा जागोस्।
शुभकामना!
(लेखकः संस्कार सहितको शैक्षिक अभियन्ता हुनु हुन्छ।