नेपालमै बनेको विद्युतीय स्कुटर प्रवर्द्धनमा सरकारको साथ रहने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता - Chaitanya News
  • 2026-11-17
  • 12:54:19
  • मंगलबार,मंसिर ०२, २०८३
  • नेपालमै बनेको विद्युतीय स्कुटर प्रवर्द्धनमा सरकारको साथ रहने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता

    नेपालमै बनेको विद्युतीय स्कुटर प्रवर्द्धनमा सरकारको साथ रहने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता

    काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन तथा निर्माण भएको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताएका छन्।

    सिप्रदी यात्रीले काठमाडौँको बुढानीलकण्ठस्थित कारखानामा निर्माण गरिरहेको नेपालमै बनेको विद्युतीय स्कुटर ‘यात्री पीटू’ को निर्माण प्रक्रिया अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले नेपाली उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सरकार सहयोग गर्न तयार रहेको बताएका हुन्।

    “तपाईंहरूले गरेको मेहनत सराहनीय छ। ‘यात्री पीटू’ नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो,” उनले भने, “गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनुहोस्। अघि बढ्नुहोस्, सरकार तपाईंहरूको साथमा छ।”

    नेपालले आफ्नै डिजाइन र प्रविधिमा दुईपांग्रे विद्युतीय सवारीसाधन निर्माण गर्नु ऐतिहासिक कदम भएको उल्लेख गर्दै उनले नेपाली उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउने गरी काम गर्न सुझाव दिए।

    “एप्पलको डिजाइन क्यालिफोर्नियामा हुन्छ, उत्पादन चीनमा हुन्छ। सकेसम्म तपाईंहरू नेपालमै गर्नुहोस्। सरकारले के–के सहयोग गर्नुपर्ने हो भन्नुहोस्,” उनले भने, “विश्व बजारमा फैलिन अरू के–के गर्न सकिन्छ, त्यसमा पनि सोच्नुहोस्। नेपाली इन्जिनियर र डिजाइनरहरूले गरेको यो मेहनतको म सम्मान गर्छु।”

    अर्थमन्त्री वाग्लेले नेपाली उत्पादनले विश्व बजारमा स्थापित ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गर्दै नेपालमा बनेको स्कुटर अमेरिकी पहाडसम्म पुगेर चल्न सकोस् भन्ने शुभकामना दिए। उनले विदेशमा रहेका नेपालीहरूले समेत नेपाली ब्रान्ड खोजी–खोजी प्रयोग गर्ने वातावरण बनाउनुपर्ने बताए।

    अवलोकनका क्रममा यात्रीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत असिम पाण्डेले अर्थमन्त्री वाग्लेलाई ‘यात्री पीटू’ को डिजाइन, सुरक्षा परीक्षण, प्रयोग गरिएका पार्टपुर्जा तथा स्कुटरको परीक्षणसम्बन्धी जानकारी गराएका थिए।

    त्यस्तै, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमै विद्युतीय स्कुटरको डिजाइन र उत्पादन गरेर ऐतिहासिक सफलता हासिल गरेको बताए। दुईपांग्रे सवारीसाधनको डिजाइन तथा उत्पादन नेपालमै गर्नु र त्यसमा विश्वमै नयाँ तथा विशिष्ट विशेषता समावेश हुनु नेपाली अटोमोबाइल क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ।

    श्रेष्ठका अनुसार नेपालको कठिन तथा जटिल पहाडी र हिमाली भूभागमा स्कुटरको सफल परीक्षण गरिएको छ। अब केही दिनमै सर्वसाधारणका लागि सार्वजनिक गर्ने तयारी भइरहेको छ।

    कम्पनीका अधिकारीहरूले नेपालमै निर्माण भएको उक्त विद्युतीय स्कुटरमा डीसी चार्जरको सुविधा हुनु विश्वमै पहिलो भएको दाबी गरेका छन्।

    श्रेष्ठले नेपाली उत्पादनलाई बजारमा प्रतिस्पर्धी बनाउन सरकारले विद्युतीय ब्याट्री तथा स्कुटरका पार्टपुर्जा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थमा सहुलियतपूर्ण नीति लिनुपर्ने बताए।

    केही दिनमै सार्वजनिक गर्ने तयारी गरिएको स्कुटरको विस्तृत डिजाइन र अन्य प्राविधिक पक्ष भने हाल गोप्य राखिएको छ।

    नेदरल्याण्ड्सबाट इन्जिनियरिङ अध्ययन पूरा गरेर नेपाल फर्किएका असिम पाण्डेले सन् २०१७ मा विद्युतीय मोटरसाइकल निर्माण गर्ने उद्देश्यले यात्री मोटरसाइकल नामक स्टार्टअप कम्पनी स्थापना गरेका थिए। हाल उक्त कम्पनी नेपालको अग्रणी सवारीसाधन बिक्रेता सिप्रदी ट्रेडिङसँगको व्यावसायिक सहकार्यमा ‘सिप्रदी यात्री’ का रूपमा सञ्चालनमा छ।

    सिप्रदी यात्रीले आफ्नै डिजाइन तथा इन्जिनियरिङमा तयार पारेको ‘यात्री पीटू’ लाई भारतको दुईपांग्रे सवारीसाधनको गुणस्तर परीक्षण गर्ने निकायबाट समेत गुणस्तर परीक्षण गराएर निर्माण गरेको जनाएको छ।