‘चमत्कार होइन, जनताले अनुभूति गर्ने गरी काम गर्छु’ : मुख्यमन्त्री भट्ट - Chaitanya News
  • 2026-08-14
  • 13:30:27
  • शुक्रबार,साउन २९, २०८३
  • ‘चमत्कार होइन, जनताले अनुभूति गर्ने गरी काम गर्छु’ : मुख्यमन्त्री भट्ट

    ‘चमत्कार होइन, जनताले अनुभूति गर्ने गरी काम गर्छु’ : मुख्यमन्त्री भट्ट

    काठमाडौँ– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका खगराज भट्टले प्रदेशको नेतृत्वसँगै चुनौती र जिम्मेवारी पनि थपिएको बताएका छन्। उनले उपलब्ध स्रोत, साधन र विद्यमान परिस्थितिको अधिकतम उपयोग गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका भट्टलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका हुन्।

    नियुक्तिपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै भट्टले प्रदेशका करिब २७ लाख नागरिकको नेतृत्व गर्ने अवसर प्राप्त हुनु आफ्ना लागि महत्वपूर्ण भए पनि यससँगै ठूलो जिम्मेवारी आएको बताए।

    उनले मुख्यमन्त्रीको पद प्राप्तिप्रति सन्तुष्टि रहे पनि जिम्मेवारीको गम्भीरताले त्यसलाई ओझेलमा पारेको बताए। प्रदेशको विद्यमान अवस्था, नागरिकका अपेक्षा र चुनौतीलाई ध्यानमा राखेर अघि बढ्नुपर्ने भएकाले आफूले जिम्मेवारीको भार महसुस गरेको उनको भनाइ थियो।

    मुख्यमन्त्री भट्टले सुदूरपश्चिमका नागरिकलाई कार्यसम्पादनको केन्द्रमा राखेर प्रदेश सरकार सञ्चालन गर्ने बताए। जनताको आवश्यकता र अपेक्षालाई प्राथमिकतामा राख्दै परिणाममुखी काम गर्ने उनको प्रतिबद्धता छ।

    तत्कालै असाधारण परिवर्तन सम्भव नभए पनि आफ्नो कार्यकालमा उपलब्ध स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै सकारात्मक परिणाम दिने प्रयास गर्ने उनले बताए। आफूले गरेका कामबाट नागरिकले सरकारको प्रयास र उपलब्धि सकारात्मक रूपमा अनुभूति गर्ने वातावरण निर्माण गर्नु आफ्नो मुख्य प्राथमिकता रहेको उनको भनाइ छ।

    भट्टले लोकप्रियताभन्दा व्यावहारिक उपलब्धि, जनअपेक्षाको सम्बोधन र जिम्मेवारीपूर्ण कार्यसम्पादनलाई प्राथमिकता दिने स्पष्ट पारे। उनले प्रदेश सरकारलाई जनताको आवश्यकता र अपेक्षाअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    ‘चमत्कार गरेर देखाउने होइन, उपलब्ध स्रोत र साधनको सही उपयोग गर्दै जनताले अनुभूति गर्ने गरी काम गर्ने मेरो प्राथमिकता हो,’ उनले भनेका छन्।