कैलाली– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका छन्।
नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
दिउँसो ३ बजे प्रदेश प्रमुख मियाँ समक्ष मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम रहेको भट्टले जानकारी दिए।
यसअघि, संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख मियाँले बिहीबार बेलुकी आह्वान गरेका थिए।