कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा ५ प्रतिवेदन पेस हुने, शनिबारदेखि विषयगत छलफल - Chaitanya News
  • 2026-08-14
  • 11:30:27
  • शुक्रबार,साउन २९, २०८३
  • कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा ५ प्रतिवेदन पेस हुने, शनिबारदेखि विषयगत छलफल

    कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा ५ प्रतिवेदन पेस हुने, शनिबारदेखि विषयगत छलफल

    काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला शुक्रबारदेखि सुरु हुँदैछ। पूर्वसभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला पक्षधर नेताहरू सहभागी हुने भेलामा विभिन्न पाँचवटा प्रतिवेदन प्रस्तुत गरिने भएको छ।

    प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार शुक्रबार उद्घाटन सत्र मात्रै हुनेछ भने शनिबारदेखि बन्दसत्रका कार्यक्रम सुरु हुनेछन्। भेलामा राजनीतिक, सांगठनिक, आर्थिक, समसामयिक नीति तथा कानुन र विधानसँग सम्बन्धित विषयमा घनीभूत छलफल हुनेछ।

    शनिबार पूर्वउपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, पूर्वकोषाध्यक्ष उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव र नेता एनपी साउदले समसामयिक नीति तथा विषयसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

    त्यस्तै, डा. प्रकाशशरण महतले नेपालको आर्थिक नीतिसम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानुन तथा विधानसम्बन्धी प्रस्ताव पेस गर्नेछन्।

    पाँचवटै प्रस्ताव प्रस्तुत भएपछि शनिबार नै सहभागीहरूलाई विभिन्न विषय र प्रदेशका आधारमा समूहमा विभाजन गरिनेछ। समूहगत छलफलमार्फत प्रस्तुत प्रस्तावमाथि धारणा संकलन गरिनेछ।

    आइतबार समूहका संयोजकहरूले आ–आफ्नो समूहको धारणा भेलामा प्रस्तुत गर्नेछन्। त्यसपछि प्रस्ताव र समूहगत धारणामाथि छलफल गरी आवश्यक निष्कर्ष निकालिनेछ।

    भेलाको अन्तिम चरणमा कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको प्रचार–प्रसार समितिका संयोजक विश्वकर्माले जानकारी दिए।

    आइतबारसम्म चल्ने भेलाले कांग्रेसको आगामी राजनीतिक, सांगठनिक तथा नीतिगत दिशाका विषयमा साझा धारणा निर्माण गर्ने अपेक्षा गरिएको छ।