काठमाडौँ– सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट मुख्यमन्त्री बन्ने भएका छन्। वर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।
प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका छन्। तोकिएको समयभित्रै एमालेको समर्थनमा भट्टले मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने तयारी गरेका छन्।
भट्टले दाबी पेस गरेपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ। उनको शपथ शुक्रबार दिउँसो ३ बजे गराउने तयारी गरिएको छ।
नेकपा र एमालेबीच सुदूरपश्चिम प्रदेशमा यसअघि नै मन्त्रालय बाँडफाँटमा सहमति भइसकेको छ। सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउनेछन्।
यसअघि मुख्यमन्त्री शाहले बिहीबार प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिने घोषणा गरेका थिए। सम्बोधनपछि उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए। शाहको राजीनामासँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाएका हुन्।
भट्ट मुख्यमन्त्री बनेसँगै सुदूरपश्चिममा नेकपा–एमाले सहकार्यमा नयाँ सरकार गठन हुनेछ।