काठमाडौँ– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको सात दशकभन्दा बढी समयपछि दुई देशको सम्बन्ध परम्परागत मित्रता र सांस्कृतिक आदानप्रदानको दायराबाट आर्थिक, पूर्वाधार, पर्यटन, शिक्षा तथा बहुपक्षीय सहकार्यसम्म विस्तार भएको छ।
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा दुवै देशका अधिकारीहरूले बदलिँदो विश्व परिवेशबीच पनि आपसी सम्मान, विश्वास र सहकार्यले सम्बन्धलाई निरन्तर बलियो बनाउँदै लगेको धारणा व्यक्त गरे।
परराष्ट्र सचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्त’प्रति दृढ रहेको स्पष्ट पार्दै नेपाली भूमि चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याए। उनका अनुसार नेपाल–चीन सम्बन्ध पञ्चशीलका सिद्धान्त, असल छिमेकीपन, समानता, पारस्परिक लाभ तथा एकअर्काका संवेदनशीलताप्रतिको सम्मानमा आधारित छ।
सचिव राईले सात दशकको यात्रामा दुई देशबीचको सम्बन्ध परम्परागत मित्रता र सांस्कृतिक सम्पर्कबाट साझा समृद्धिका लागि बृहत् साझेदारीमा रूपान्तरण भएको बताए। उच्चस्तरीय भ्रमण तथा विभिन्न तहका आदानप्रदानले सम्बन्धमा थप गतिशीलता ल्याएको उनको भनाइ थियो।
विशेषगरी व्यापार, लगानी, पूर्वाधार, ऊर्जा, पर्यटन, शिक्षा, संस्कृति र जनस्तरीय सम्बन्धमा पछिल्ला वर्षहरूमा उल्लेख्य विस्तार भएको नेपालले जनाएको छ। ट्रान्स–हिमालयन बहुआयामिक सम्पर्क सञ्जाललाई अघि बढाउन नेपालले प्राथमिकता दिएको पनि सचिव राईले बताए।
चिनियाँ राजदूत चाङ माओमिङले पनि नेपाल–चीन सम्बन्धलाई समयको परिवर्तनसँगै थप गहिरिँदै गएको सम्बन्धका रूपमा चित्रण गरे। उनका अनुसार दुई देशले लामो समयदेखि एकअर्काको सम्मान, विश्वास र समर्थन गर्दै आएका छन्।
नेपालमा नयाँ सरकार गठनपछि दुई देशबीच राजनीतिक पारस्परिक विश्वास अझ गहिरिएको र उच्चस्तरीय ‘बेल्ट एन्ड रोड सहकार्य’ ठोस परिणामतर्फ अघि बढिरहेको राजदूत माओमिङले बताए। व्यापार तथा अर्थतन्त्रदेखि पूर्वाधार, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनसम्म सहकार्यका नयाँ क्षेत्र विस्तार भइरहेको उनको भनाइ थियो।
सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई ‘विकास र समृद्धिका लागि दीर्घकालीन रणनीतिक साझेदारी’को तहमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको पनि राजदूतले स्मरण गरे।
तर नेपाल–चीन सम्बन्धको अर्को महत्त्वपूर्ण पक्ष भनेको सरकारी तहको कूटनीतिभन्दा बाहिरको जनस्तरीय सम्बन्ध पनि हो। चिनियाँ पर्यटकको नेपाल आगमन, विद्यार्थी तथा सांस्कृतिक आदानप्रदान र दुई देशका नागरिकबीचको बढ्दो सम्पर्कले सम्बन्धलाई थप आत्मीय बनाएको चिनियाँ पक्षको भनाइ छ।
डिजिटल युगमा छोटा श्रव्यदृश्य सामग्रीले पनि दुई देशका नागरिकलाई जोड्न सक्ने उल्लेख गर्दै राजदूत माओमिङले नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगितालाई जनस्तरको सम्बन्ध विस्तार गर्ने माध्यमका रूपमा प्रस्तुत गरे।
प्रतियोगितामा प्राप्त भिडियोहरूले दुई देशबीचको मित्रता, संस्कृति, प्राकृतिक सौन्दर्य र जनस्तरीय सम्बन्धका विभिन्न पक्षलाई प्रस्तुत गरेका थिए। प्रतियोगिताका विजेता दिपेश स्याङ्दानलाई प्रथम पुरस्कारसहित रु ५० हजार प्रदान गरिएको थियो।
सात दशकभन्दा लामो कूटनीतिक यात्राले नेपाल र चीनलाई केवल छिमेकी राष्ट्रका रूपमा मात्र सीमित नराखी आर्थिक विकास, पूर्वाधार, संस्कृति र जनस्तरीय सहकार्यका साझेदारका रूपमा स्थापित गरेको छ। आगामी दिनमा विद्यमान समझदारीलाई व्यवहारमा उतार्दै सम्पर्क सञ्जाल, व्यापार र लगानी विस्तार गर्न सके दुई देशबीचको सम्बन्ध अझ परिणाममुखी बन्ने अपेक्षा गरिएको छ।