चितवन– चितवनमा यही साउनमा दुई जनामा डेंगु र छ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ।
जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका स्थानीय दुई जनामा डेंगु संक्रमण पुष्टि भएको छ। कालिका नगरपालिकामा एक महिला र इच्छाकामना गाउँपालिकामा एक पुरुषमा डेंगु संक्रमण देखिएको हो।
त्यसैगरी जिल्लाका स्थानीय छ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ। भरतपुर महानगरपालिकाका एक पुरुष र चार महिलासहित पाँच तथा रत्ननगर नगरपालिकाका एक पुरुषमा स्क्रब टाइफस संक्रमण देखिएको कार्यालयले जनाएको छ।
अन्य जिल्लाबाट उपचारका लागि चितवन आएका दुई जनामा डेङ्गु र २८ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। यससँगै यो महिनाभर चितवनमा अभिलेख भएका डेंगु संक्रमितको संख्या चार र स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ३४ पुगेको छ।
जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार हालसम्म डेंगुको १७८ र स्क्रब टाइफसको २११ जनाको परीक्षण गरिएको छ। दुवै रोगका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए। केसीले पर्षात्मा डेङ्गुको सङ्क्रमण बढ्न सक्ने भएकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको बताए । जिल्लाका स्थानीय तहसँगको समन्वयमा अभियान थालिएको हो।
इच्छाकामना गाउँपालिकाबाट अभियान सुरु गरिएको जानकारी दिँदै उनले अन्य पालिकामा पनि अभियानसँगै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको बताए। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जनप्रतिनिधिलगायतको टोली अभियानमा सहभागी भएका छन्। उनीहरूले डेंगुबारे सचेतना फैलाउने तथा लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने काममा जुटेको उनले बताए।
यो समय डेङ्गुको मुख्य सिजन भएकाले सङ्क्रमणबाट जोगिन लामखुट्टेले फुल पार्न सक्ने स्थानमा पानी जम्न नदिन केसीले आग्रह गरे। घरआँगन तथा वरपरका झाडी, टायर, गमलालगायत पानी जम्न सक्ने स्थानमा नियमित निगरानी गरी सफा राख्नुपर्ने उनको भनाइ छ।