अर्थमन्त्रीले भने: ‘जनताका चाहना असीमित, स्रोत सीमित छ’ - Chaitanya News
  • 2026-08-13
  • 14:47:57
  • बिहिबार,साउन २८, २०८३
  • अर्थमन्त्रीले भने: ‘जनताका चाहना असीमित, स्रोत सीमित छ’

    अर्थमन्त्रीले भने: ‘जनताका चाहना असीमित, स्रोत सीमित छ’

    काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

    आज (बिहिवार) तनहुँको व्यास नगरपालिका(१० दुम्सीमा आज मतदातासँगको भेटघाटमा उनले सीमित स्रोत साधनकाबीच जनताका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको जानकारी दिए।

    अर्थमन्त्री वाग्लेले भने, “बजेटका सीमाहरू छन्, रकम थोरै छ। जनताका अपेक्षा धेरै छन् । जुन बस्तीमा पुगे पनि जनताले खानेपानी, सडक, विद्यालय, स्वास्थ्य चौकी, तटबन्धन, खेलमैदानका माग गर्नुहुन्छ, सरकारले सक्दो त्यसलाई सम्बोधन गर्न प्रयास गरिरहेको छ।”

    उनले तनहुँको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउँदै यस पटकको बजेट वितरणमा न्यायोचित गर्न पहल गरिएको जानकारी दिए। तनहुँका जनताले आफूलाई दुई पटक प्रतिनिधिसभा सदस्यमा विजयी गराएको स्मरण गर्दै अर्थमन्त्री वाग्लेले त्यस कार्यमा जिल्लावासीले लगाएको गुन र ऋण कहिल्यै नबिर्सिने बताए।

    उनले दुम्सीमा खानेपानी र तटबन्धका विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल गरी काम अगाडी बढाइने बताए । त्यसअवसरमा स्थानीयवासीले दुम्सीका ५०० घरधुरीमा खानेपानीको समस्या रहेकोबारे उनलाई जानकारी गराएका थिए।