बडीमालिकाको ४ हजार २०० मिटर उचाइमा पुग्दै फोर–जी, हेलिकप्टरबाट उपकरण ढुवानी - Chaitanya News
  • 2026-08-12
  • 16:27:08
  • बुधबार,साउन २७, २०८३
  • बडीमालिकाको ४ हजार २०० मिटर उचाइमा पुग्दै फोर–जी, हेलिकप्टरबाट उपकरण ढुवानी

    बडीमालिकाको ४ हजार २०० मिटर उचाइमा पुग्दै फोर–जी, हेलिकप्टरबाट उपकरण ढुवानी

    काठमाडौँ– सडक पहुँच सहज नभएको बाजुराको उच्च हिमाली क्षेत्र बडीमालिकामा फोर–जी सेवा विस्तारको काम अघि बढाइएको छ। करिब ४ हजार २०० मिटर उचाइमा रहेको बडीमालिका क्षेत्रमा दूरसञ्चार पूर्वाधार निर्माणका लागि आवश्यक उपकरण तथा सामग्री नेपाली सेनाको हेलिकप्टरमार्फत जडानस्थलमा पुर्‍याइएको हो।

    धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्न सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गत साउन ८ गते नेपाल टेलिकमलाई निर्देशन दिएका थिए। सोही निर्देशनपछि नेपाल टेलिकमले आवश्यक पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाएको हो।

    भौगोलिक विकटता र सडकमार्गबाट उपकरण ढुवानी गर्न कठिन भएपछि हवाई माध्यमबाट सामग्री पुर्‍याउने विकल्प रोजिएको नेपाल टेलिकमले जनाएको छ। बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्कासँग समेत पूर्वाधार स्थापनाका लागि आवश्यक स्थान, सम्भावित साइट र पहुँचका विषयमा छलफल गरिएको थियो।

    नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक बृजेश शर्माका अनुसार प्रतिकूल मौसमका कारण उपकरण ढुवानीमा केही ढिलाइ भएको हो। अहिले जडानका लागि आवश्यक सामग्री र जनशक्ति व्यवस्थापनसँगै स्थानीय तहसँग आवश्यक समन्वय भइरहेको छ।

    टेलिकमका अनुसार उपकरण जडानस्थलमा पुगेपछि करिब पाँच दिनभित्र बडीमालिकामा सेवा सञ्चालन गर्न सकिनेछ। यसअघि साउनभित्रै सेवा सुरु गर्ने लक्ष्य राखिए पनि मौसम र कठिन भौगोलिक अवस्थाका कारण केही ढिलाइ हुने भएको छ।

    बडीमालिकामा फोर–जी विस्तारसँगै सरकारले उच्च हिमाली तथा पर्यटकीय क्षेत्रमा डिजिटल पहुँच विस्तारलाई प्राथमिकता दिएको छ। नेपाल टेलिकमले सगरमाथा आधार शिविरमा समेत फोर–जी विस्तारको सम्भावनाबारे अध्ययन गरिरहेको जनाएको छ।

    यसअघि डोल्पाको लहान र दुनै तथा ताप्लेजुङको ओलाङचुङगोलाजस्ता उच्च हिमाली क्षेत्रमा पनि मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भइसकेको छ।

    देशभर दूरसञ्चार पहुँच विस्तार तथा सेवा गुणस्तर सुधारका लागि करिब १ हजार ६०० नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ। ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा विस्तारका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्षमा रु. ६ अर्बभन्दा बढी लगानी गर्ने तयारी गरेको जनाएको छ।